नेहरूमा आएको परिवर्तन

नेहरूमा आएको परिवर्तन


Shoyembhu nath Karki

स्वयम्भूनाथ कार्की

वीरगन्जबाट लडाइँमा जितेर ल्याएको पचास लाख रुपैयाँले सङ्गठनमा फाटो ल्याउने छाँटकाँट भएपछि यो किचकिचले गर्दा रुपैयाँ हिन्दुस्थानले जफत गरिदेला भन्ने डर पैदा भयो । त्यसैले त्यो रुपैयाँ राजालाई सुम्पेर सुरक्षित गर्ने योजना बन्यो । राजा दिल्लीमा थिए हैदरावाद हाउसमा भारतीय सरकारको पाहुना बनेर बसेका, त्यहीँ पुर्‍याउन पटनाबाट प्लेनमा रुपैयाँ हालेर राति दिल्ली गए । त्यो रुपैयाँ जफत भयो, त्यसैको विरोध गर्न भेट्न गएका बीपीलाई नेहरूले हथकडी लगाउने थिए भनेर भनेका हुन् । वहाना भने ‘तपाईंहरूले हल्ला मच्चाएर रुपैयाँ ल्याउनुभयो । यो रुपैयाँ किन राजालाई पुर्‍याउन ल्याउनुभयो ?’ भन्ने भयो । जो कुराबाट बीपी सन्तुष्ट भए वा भएनन् त्यो त उनले उल्लेख गरेनन्, तर त्यो रुपैयाँ क्रान्तिमा प्रयोग हुन भने पाएन ।

भारतीय सङ्घका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू रहुन्जेल बीपीले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेको हिन्दुस्थान भनेको जवाहरलाल नेहरू र उनको प्रशासनलाई हो । कुरोलाई यस रूपमा हेर्ने हो भने ठाउँठाउँमा हिन्दुस्थानसँगको बीपीको असन्तुष्टि बुझ्न सजिलो हुन्छ । पद्मशमशेरलाई नेपाल फर्काउन बीपीको मद्दत माग्ने नेहरू जब मोहनशमशेरको कैदबाट लेखिएको बीपीको चिठ्ठी पढ्छन्, बीपीकै शब्दमा नेहरू रुन्छन्, तर बीपी अनशन बसेर मर्न लागेको कुरा बीपीपत्नीबाट जयप्रकाश नारायणले थाहा पएर आफू इलाज गराइरहेको पटना अस्पतालबाट नेहरूलाई फोन गर्दछन् तब मात्र राजदूतमार्फत मोहनशमशेरलाई दबाब दिन्छन् । यो फरक स्पष्ट देखिन्छ, पहिलेको नेहरू र प्रधानमन्त्री नेहरूमा । परिच्छेद २५ मा बीपी भन्छन्, ‘नेहरूको त्यो दबाबपछि रातारात २४ घन्टा लगाएर अर्को घर नै तयार गरेर बीपीलाई कालकोठरीसरहको थुनाबाट त्यसको ३–४ वटा झ्याल भएको कोठामा सारिन्छ ।’
यो मतभेद अझ राजालाई दरबारबाट भगाएर ल्याउने कुरामा अझ ठूलो हुन्छ । राजाको नाममा क्रान्ति गर्नुपर्ने आवश्यकता थियो त्यसैले राजालाई दरबारमा राणाहरूकै नियन्त्रणमा रहन दिनु ठकि थिएन । परिच्छेद २६ को अन्ततिर उनी भन्छन्, ‘हामीहरूले सशस्त्र क्रान्ति गर्दाखेरि राजाको स्थिति के हुने ? राजाको नाउँबाट हामीले क्रान्ति गर्दा राजालाई त उनीहरूले समातिहाल्लान् । त्यसो हुनाले राजालाई त्यहाँबाट भगाउनु पर्दछ ।’ त्यसैले राजालाई भगाएर पाल्पामा राख्ने र त्यहीँ नयाँ सरकार बनाउने र त्यसलाई हिन्दुस्थानमार्फत अन्तर्राष्ट्रिय मान्यता दिलाउने । दरबारबाट एयरपोर्टसम्म आउन सात–आठ मिनेट लाग्ने भएकाले हेलिकोप्टर भए सेना सक्रिय हुनुभन्दा पहिले नै हेलिकोप्टर उडिसक्ने आँकलन गरेर हिन्दुस्थानसँग हेलिकोप्टरको माग गरियो, तर उसले दिएन । त्यसपछि राजा बाहिर निस्केको बेला सम्पर्क गरेर भगाएर गढीमा ल्याउन गणेशमाजीको नेतृत्वमा टोली राजधानी गयो, तर त्यो टोली नै समातियो । यो योजना नेहरूलाई थाहा भएको अनुमान कठिन छैन ।

यो योजना असफल भएपछि राजा तर्से, बीपीले अर्को योजना बनाउनुभन्दा पहिल्यै नै राजा सपरिवार भारतीय दूतावासमा पसे । यहाँनेर नेपाली काङ्ग्रेसको योजनाअनुसार राजा दूतावासमार्फत भारत पुगेको भन्ने मान्यता झुटो हुन्छ । बीपीले पटनामा भारतीय दूतावासको प्रसारणसँग जोडिएको आकाशवाणीबाट यो खबर पाएका थिए । परिच्छेद २७ मा उनले यस घटना सुन्नेबित्तिकै आफूले ‘अब हाम्रो हातबाट गयो’ भन्ने प्रतिक्रिया व्यक्त गरेको कुरा उल्लेख गरेका छन् । राममनोहर लोहियाले बीपीलाई सल्लाह दिएका छन्, ‘तिमी एउटा वक्तव्य देऊ । तुरन्तै देऊ । किनभने अहिलेसम्म कसैलाई थाहा छैन, तिम्रो वक्तव्य र राजा भागेको एकैचोटि छापिन्छ । त्यो एउटा अन्तर्राष्ट्रिय खबर पनि हुन्छ र उताबाट प्रचार पनि हुन्छ ।’ राममनोहर लोहियाको यो सल्लाहअनुसार बीपीले वक्तव्य दिए । यसैको कारणले नेपाली काङ्ग्रेसको क्रान्ति र राजाको यो पलायनलाई जोड्यो यो भ्रम अहिलेसम्म पनि छँदै छ ।

नेपाली काङ्ग्रेसको क्रान्तिमा नेहरूको कहिले सहयोगी र कहिले बाधक भूमिका धेरैचोटि देखिएको छ । परिच्छेद २८ मा बीपी उल्लेख गर्दछन्, ‘मलाई जवाहरलालजीले भनेका के थिए भने अरू कसैलाई नपत्याउनु, तीनजनालाई पत्याए हुन्छ । एउटा बंगालको मुख्यमन्त्री विधानचन्द्र राय, एउटा बिहारको मुख्यमन्त्री श्रीकृष्ण सिन्हा र अर्को यूपीको मुख्यमन्त्री गोविन्दबल्लभ पन्त ।’ आफूसँग जति कुरा गर्न सकिन्छ त्यति नै यी तीनजनासँग गरे हुन्छ भनेकाले क्रान्तिको निमित्त हतियार सङ्कलन र त्यसलाई नेपाल सीमासम्म ल्याउन बीपीले श्रीकृष्ण सिन्हा र गोविन्दबल्लभ पन्तको सहारा लिएका छन् । त्यसबाहेक अन्य किसिमका मद्दत पनि नेहरूले क्रान्तिको बेलामा गरेका छन् । यस उदाहरणले त नेहरू–बीपी सम्बन्ध एकदमै आत्मीयजस्तो पनि लाग्छ । तर, यही आत्मीय सम्बन्ध कटु भएको उदाहरण त्यसबेला हुन्छ जब ‘तपाईंलाई त हथकडी लगाउने थिए’ भनेर नेहरू बीपीलाई भन्छन् । नेहरूले बीपीलाई हथकडी लगाउने कुरा दुईचोटि गरेको प्रसङ्ग आत्मवृत्तान्तमा छ ।

वीरगन्जबाट लडाइँमा जितेर ल्याएको पचास लाख रुपैयाँले सङ्गठनमा फाटो ल्याउने छाँटकाँट भएपछि यो किचकिचले गर्दा रुपैयाँ हिन्दुस्थानले जफत गरिदेला भन्ने डर पैदा भयो । त्यसैले त्यो रुपैयाँ राजालाई सुम्पेर सुरक्षित गर्ने योजना बन्यो । राजा दिल्लीमा थिए हैदरावाद हाउसमा भारतीय सरकारको पाहुना बनेर बसेका, त्यहीँ पुर्‍याउन पटनाबाट प्लेनमा रुपैयाँ हालेर राति दिल्ली गए । त्यो रुपैयाँ जफत भयो, त्यसैको विरोध गर्न भेट्न गएका बीपीलाई नेहरूले हथकडी लगाउने थिए भनेर भनेका हुन् । वहाना भने ‘तपाईंहरूले हल्ला मच्चाएर रुपैयाँ ल्याउनुभयो । यो रुपैयाँ किन राजालाई पुर्‍याउन ल्याउनुभयो ?’ भन्ने भयो । जो कुराबाट बीपी सन्तुष्ट भए वा भएनन् त्यो त उनले उल्लेख गरेनन्, तर त्यो रुपैयाँ क्रान्तिमा प्रयोग हुन भने पाएन ।

विराटनगरमा बडाहाकिमको घर कब्जा गर्न हतियार अपुग भएर नेहरूसँग हतियार माग्न बीपी दिल्ली गए । नेहरूलाई अफिसमा भेट्न खोजे । नेहरूको सचिव जोन मथईले नेहरूलाई भेट्न दिएन । विवश भएर उनले आफू आउनुको प्रयोजन बताउनुपर्‍यो । तैपनि त्यो दिन भेट हुन सकेन । बीपी क्रान्तिको नेतृत्व गर्दै छन् भन्ने नेहरूलाई थाहा थियो । थाहा मात्र के र त्यस क्रान्तिमा नेहरूको पनि सहयोग थियो । त्यस्तो मान्छे भेट्न आउँदा पक्कै केही महत्त्वपूर्ण तथा गोप्य कुरा हुन्छ भन्ने नेहरूले सोच्न सक्दैन थिए भन्ने कुरा भन्नु र औँसीको रातमा टन्टलापुर घाम हुन्छ भन्नु एकैजस्तो हुन्छ । यसरी जोन मथईलाई कुरा खोल्न बीपीलाई बाध्य बनाएर छाँस्ने मौका नेहरूले बनाए । उनले बेस्कन छाँसे, ‘हतकडी लगाइदिन्छु’ सम्म भन्न पुगे । हतियार त दिनु थिएन दिएनन् । तर, त्यसको निमित्त यो अपमानजनक तरिका अपनाए । बीपी र नेहरू सम्बन्धको कुरा यसमा मात्र सकिन्न त्यो त अझ दिल्ली सम्झौता गर्ने बेलामा टड्कारो तरिकाले देखिएको छ । नेपालमा क्रान्ति सफल भइसकेपछि त यो मतभेद झन् बढेर गएको छ ।