‘रुँदै जानेहरू नै जनताको मन–मस्तिष्कमा’

‘रुँदै जानेहरू नै जनताको मन–मस्तिष्कमा’


– कल्पना अधिकारी

kalpana adhikari 6

एकाउन्न वर्षअघि चितवनको रत्ननगरमा (२०२२ भदौ ३) जन्मनुभएकी कल्पना अधिकारी ज्ञान अनुभवले तपस्वी, अध्यात्म साधिका, पेसाले ज्योतिषी र रहरले गीतकार तथा प्रतिभाले कथाकार हुन् । कल्पनाका प्ेरमदीप, आमा र उत्ताउली नामक तीन कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । जीवन सहारा नामक भजनको एल्बम बजारमा ल्याएकी उनको महिला सिटैमा नामक चेतनामूलक लोकदोहोरी र तिम्रो कसमको कसम नाममा आधुनिक गीतसङ्ग्रह पनि बजारमा उपलब्ध छ । विभिन्न मान, पदवी र पुरस्कारबाट सम्मानित कल्पना समाजसेवासँग सम्बन्धित अनेकौँ सङ्घ–संस्थासँग पनि आबद्ध छिन् । जन्मेको एक वर्षमै आमा गुमाएकी कल्पना अधिकारीले औपचारिक रूपमा प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेकी छिन् । ०५८ बाट अध्यात्म साधनामा लीन उनी अविवाहित हुन् र उनले गोसाइँकुण्ड पुगेर तपस्या गर्ने गरेकी छिन् । तपस्याकै क्रममा जटा स्वरूप बनाउने उनी शिवभक्त हुन् । आफूले सिद्धि प्राप्त गरिसकेको बताउने कल्पनाको भनाइ छ, ‘केही प्राप्त गरेपछि बाँड्नुपर्छ, बुद्धले पनि ज्ञान प्राप्त गर्न दरबार छोडेर गए, प्राप्त ज्ञान बाँड्न समाजमै फर्किए । हामी सबैले आफूद्वारा आर्जित ज्ञान या वस्तु समाजलाई दिनुपर्छ ।’ कल्पनासँग भएका रोचक कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत छ ।

० तपाईं बाहिरबाट हेर्दा कुनै शक्तिप्राप्त माताजस्तो, काम गर्नुहुन्छ ज्योतिषीको, तपाईंद्वारा सिर्जित गीत, कथा, कविता हेर्दा साहित्यकर्मी प्रतीत हुन्छ, वास्तवमा तपाईं होचाहिँ के ?
– वास्तवमा म एउटा साधारण मानिस, आममानिस जस्तो हुन्छन् या हुनुपर्छ म त्यही कोटिकी व्यक्ति हुँ । प्रत्येक मानिसले जीवनमा धर्म र कर्मलाई सँगसँगै लैजानुपर्छ भन्ने मेरो मान्यता छ । धर्म गर्नु भनेको कर्मलाई छोड्नु होइन, धर्म धारण गरिसकेपछि त्यसबाट उत्पन्न हुने शान्तिलाई समाजमा छर्ने कोसिस गर्नुपर्छ । यसअनुरूपकै साधना गरेकी छु मैले जीवनमा । अब मलाई बुझ्नेले जसरी बुझ्दा पनि हुन्छ ।

० आममानिसजस्तै साधारण छु त भन्नुभयो, तर हेर्दैमा तपाईं असाधारणजस्तो देखिनुुहुन्छ, कर्म पनि पृथक या असाधारण छ, तपाईंका कुरा पनि साधारण त छैनन् नि ?
– यो त हेर्ने–बुझ्नेको बुझाइ हो, आमदृष्टिले देखेर जे विशेषण दिन्छन् त्यो त मैले स्वीकार गर्नैपर्छ । समाजबाट आएको प्रतिक्रिया स्वीकार नगरेर उद्दण्ड हुन पनि सकिन्न, मिल्दैन नि । मलाई असाधारण देखेकोमा साधुवाद छ, तर मैले त त्यस्तो केही पनि गर्न सकेको छैन, बामे सर्दै छु कर्मक्षेत्रमा ।

० तपाईं खास गर्नचाहिँ के चाहिरनुभएको छ त ?

– प्रत्येक मानिसको मन परिवर्तन होस् भन्ने चाहन्छु । मानिसले नबुझेर ‘शान्तिप्राप्ति’का लागि स्वधर्म परिवर्तन गरिरहेका छन् । धर्मको नाममा विभिन्न आडम्बर पनि देखिएको छ । यस्तो नहोस् भन्ने मलाई लाग्छ । यसैका लागि पनि म केही गर्न चाहन्छु ।

० मानिसको मन परिवर्तन गर्ने काम देवताले पनि नसकेको तपाईं सक्नुहोला त ?
– मैले मात्र चाहेर सक्छु, म मात्र गर्छु भन्ने कुरा होइन र मैले मात्र सक्दिनँ भन्ने पनि होइन । सक्छु कि सक्दिनँ भन्दै पहिले नै परिणाम विचार गर्नेतिर लाग्नेभन्दा पनि आफ्नो कर्म या कर्तव्यमा लागिरहने हो ।

० तपाईंलाई यो पृथ्वीको बढी माया लाग्छ कि देशको ?
– पृथ्वी नै नरहँदा त देश रहने कुरै भएन । हाम्रो वेदले समग्र पृथ्वीलाई एउटै या समान ठानेर माया गरेको छ । देव शान्ति, अन्तरिक्ष शान्तिजस्ता मन्त्रहरू त्यसबाट निस्किएका छन् । तथापि, मैले त प्रथमत: आफ्नो देशलाई नै मुटुमा राखेकी छु । त्यसो त देशलाई माया गर्नु पनि पृथ्वीकै माया हो, माटोकै माया हो । पृथ्वी रोज्छस् कि देश भनेर रोज्नुपर्दाचाहिँ पृथ्वी छोडेर देश रोज्छु भन्न पनि सकिन्न । किनकि, पृथ्वी नै नरहँदा देशको के अस्तित्व भयो र ? पहिले देशलाई माया गरुँ, ईश्वरको अनुकम्पा हुँदै गयो भने भोलि सिङ्गो पृथ्वीलाई नै माया गरुँ, यस्तो क्षमता पनि आओस् ।

० तपाईंले अघि साधना गरिरहेको कुरा गर्नुभयो, साधनाचाहिँ केको गर्नुभएको छ नि ?
– आफैँलाई बदल्ने कलाको साधना गरिरहेकी छु । विशेष म शिवभक्त हुँ र शिवजीलाई नै गुरु मानेर, आराध्यदेव मानेर साधना अघि बढाइरहेकी छु ।

० तपाईंको गन्तव्य के हो र कति प्राप्त गर्नुभयो ?

– समाजसेवा नै सर्वोपरि ठानेकीले त्यहाँभन्द माथि कतै जानु छैन मलाई ।

० यो देशमा समाजसेवीहरूको उपयुक्त सम्मान छैन भनिन्छ, तपाईंले कस्तो अनुभूति गरिरहनुभएको छ ?
– सम्मान होस् कि नहोस्, हामी लाग्नुपर्छ र लागिरहनुपर्छ । सम्मान छ पनि र नभएजस्तो लाग्ने अवस्था पनि छ । तर, यसतिर नघोत्लिई लागिरहने हो कर्ममा ।

० साहित्य साधनामा लाग्नचाहिँ के कुराले तपाईंलाई प्रेरित गर्‍यो ?
– मलाई जन्म दिने आमा म एक वर्षको हुँदा नै बित्नुभयो र जसले मलाई हुर्काउनुभयो उहाँको कुनै सन्तान भएन । जन्माउने आमाको अल्पायुमै निधन हुनुको दु:ख र हुर्काउने आमाले दिएको मायाले मेरो मन साहित्य सिर्जनाको हिसाबले मलिलो भयो जस्तो लाग्छ । सानैदेखि मैले बुबाबाट साहित्यकर्ममा अभिप्रेरित हुने शिक्षा पाएँ । पछि गएर मेरो भेट साहित्यकर्मी सङ्गीत–नाट्य क्षेत्रका प्राज्ञ उन्नति बोहरा ‘शिला’सँग भयो र उहाँले साहित्य आकाशमा उड्न प्रेरित गर्नुभयो ।

० यो देश आज जुन अवस्थामा छ, यस्तै अवस्था रहनुमा दोषी को होलान् ? भगवान् पशुपतिनाथ कि, राजनीतिकर्मी कि, कर्मचारी कि हामी जनता आफ्नै कारणले अरू देश निकै अघि बढिसक्दा पनि हामीचाहिँ पछि परिरहेको होला ?
– यो–ऊ भन्नुभन्दा पनि पहिले त आफैँलाई हेर्नुपर्ला हामीले । हामी संसार बदल्ने कुरा गर्छौं, तर आफूले आफूलाई कुन धरातलमा उभिएर कस्तो कर्म गरिरहेका छौँ भनी नियाल्नै सक्दैनौँ । आफ्नो आचार, विचार र कार्यशैलीमा के परिवर्तन गर्नुपर्छ, के गर्न सक्छु भन्ने विचार नै नगरी संसार फेर्न लागिपर्दा पनि दु:ख मात्र हात लाग्न सक्छ । त्यसैले प्रत्येक मान्छे पहिले आफँै फेरिनुपर्छ अनि मात्र अरू फेरिनुपर्ने कुरा फेरिँदै जान्छ ।

० के भयो भनेचाहिँ मान्छे फेरिएको ठान्ने नि ?
– सर्वप्रथम आफू जो जहाँ छ, जुन हैसियतमा छ, उसले त्यहीँबाट इमानदारीसाथ कर्तव्य पालन गर्नुपर्छ । यति मात्र हुँदा पनि सकारात्मक परिवर्तनको मार्ग अवलम्बन भएको ठान्न सकिन्छ ।

० चोरले आफ्नो कर्तव्य चोरी गर्नु नै हो भन्ने ठानिरहेको हुन्छ भने के उसले सधैँ चोरी मात्र गरिरहने त ? नबदलिने ऊ ?
– चोर त भगवान् श्रीकृष्ण पनि थिए, अर्काको मन चोरेर मन्त्रमुग्ध तुल्याइदिन्थे । के चोर्ने भन्ने कुरा यहाँनेर ख्याल गर्नुपर्छ । अर्काको भाँडा वा श्रीसम्पत्ति चोर्नु त कर्तव्य भएन, पथभ्रष्ट भएको भयो । पथभ्रष्ट हुनुबाट आफूलाई जोगाउनुपर्छ, सुमार्गमा हिँड्नुपर्छ ।

० अर्काको मन चोर्नचाहिँ मिल्छ ? त्यो चोरी गर्दा चोर भइन्न ?
– प्रेमले चोर्नु बेठीक होइन । त्यसमा कुनै छलछाम हुनुभएन ।

kalpana adhikari 5

० नेपालमा त धेरैजसो छलछाम नै हुन्छ भन्छन् ?
– भन्छन्, तर यस्तो नहोस् भन्छु म त । किनकि, यो देश हावापानीका कारणले मात्र नभई अन्य धेरै हिसाबले सुन्दर र शान्त छ । यस्तो सुन्दर देशलाई अझै सुन्दर पार्ने कुरा हो ।

० प्राकृतिक हिसाबले सुन्दर यो देशलाई अरू हिसाबले कुरूप तुल्याउन कसै न कसैले ‘योगदान’ दिएका होलान् नि ?
– कुरूप बनाउने पनि हामीमध्येबाटै छौँ र मुहार फेराएर अझै सुन्दर तुल्याउन लागिपर्नेहरू पनि हामी नै हौँ । देशको कुभलो चिताएर कुकर्म गर्नेको अन्तत: भलो हुँदैन, परास्त हुनैपर्छ । देशलाई माया गर्ने शक्ति अन्तत: टिक्छ, दिगो हुन्छ ।

० सधैँ मुलुकलाई अगाडि लैजाने तपस्यामा रहेका शान्तिकामी गणेशमान सिंहले रुँदै पार्टी छोडेर जानुपर्‍यो, किसुनजी जस्ता सन्तपुरुषले पनि रुँदै मर्नुपर्‍यो, अब १७–१८ हजार मानिस मार्नेहरूचाहिँ दनादन सत्तामा छन् । अब कसरी यो देशमा राम्रो गर्नेको भलो हुन्छ भन्ने ?
– क्षणिक सत्ताप्राप्ति भएर भएन, सत्तामा रहिरहन कति क्षमता छ, त्यो हेर्नुपर्ने हुन्छ । केही समयको राम्रोलाई अत्यधिक राम्रो ठान्ने र केही समयको नराम्रोलाई बर्बादै भएको ठान्नु उचित होइन भन्ने मेरो मान्यता छ । किसुनजीले अन्तिम अवस्थामा के गर्नुभयो, गणेशमानजीको के भयो, भीमसेन थापाको के गति भयो भनी दाँजेर बस्नेभन्दा पनि आज जन–जनको हृदय या मन–मस्तिष्कमा कसले कब्जा जमाएको छ, यो महत्त्वपूर्ण हुन्छ । आज ऐश, ऐश्वर्य र सत्ता–शक्ति नै सबैथोक भनी सुकिलामुकिला बनेर मोजमस्तीमा रमेकाहरूभन्दा ती रुँदै मनै विवश भनिएकाहरू नै हाम्रो मन–मस्तिष्कमा रहेका छन् । यसको तात्पर्य बुझ्नुपर्छ ।

० तपाईंको विचारमा यो देश बनाउन ठ्याक्कैचाहिँ के गर्नुपर्ला ?
– आध्यात्मिक भावबाट जवाफ दिनुपर्दा सबैले आ–आफ्नो कर्मधर्मको पालना इमानदार नागरिक बनेर गर्नुपर्छ, राजनीतिक तवरबाट जवाफ दिनुपर्दाचाहिँ आफ्नो खुट्टामा मुलुक उभिनका लागि के–के गर्नुपर्छ भन्ने गम्भीर चिन्तनमनन गरीकन राजनीतिकर्मी र आमनागरिकले पनि कर्तव्य चुकाउनुपर्छ । दुई ढुङ्गाको तरुल भनिएको यो देशका शासकले उत्तर र दक्षिण दुवै छिमेकीलाई सन्तुलित हिसाबले व्यवहार गरी सुमधुर सम्बध विकास गर्न सक्नुपर्छ । यसमा चलाखी दर्शाएर स्वदेशको हित गर्न सक्दा उन्नतिको फड्को मार्न सकिन्छ ।

० तपाईं त ज्योतिषी पनि, देशको अवस्था या भविष्य पनि हेर्नुभएको होला नि, कस्तो देख्नुहुन्छ ?
– देशको अवस्था अहिले सङ्घर्षशील रहनुपर्ने नै देखिन्छ । नेपालको राशि वृश्चिक हो, साढेसाति दशा चल्दै छ । लगभग २०७५ सम्म गञ्जागोलकै अवस्था रहन्छ । यसो भनेर आत्तिनुपर्ने कुरा त होइन, तर राम्रो हुँदै गए पनि सार्थक परिणाम आउन या सुखका दिन शुरु हुन त्यहाँसम्म कम्तीमा पनि कुर्नुपर्ने ग्रहगोचर छ ।

० ज्योतिषीय दृष्टिले कस्ता नेता या कस्तो व्यवस्था भए मुलुकको भलो हुने देखिन्छ ?
– ज्योतिषशास्त्र भनेको मानव–मनलाई तह लगाउने शास्त्र हो भन्ने बुझौँ । जहाँसम्म कस्ता नेता हुनु राम्रो भन्ने सवाल छ, सिङ्गो देश मेरो परिवार, सबै नागरिक मेरा आफन्त भन्ने सोच राख्ने नेताको दरकार छ यहाँ । नेपालरूपी परिवारका नेपालीरूपी सदस्य सबैलाई मैले खुसी तुल्याउनुपर्छ भनी जो लागिपर्छ त्यस्ता नेताको यहाँ खाँचो छ । आफ्नो घर, आफ्ना नातागोता या आसेपासेलाई मात्र देख्ने र फगत तिनैका लागि सत्ताशक्तिको दुरुपयोग गर्नेहरूबाट कहीँ र कहिल्यै देश र जनताको भलो हुन सक्दैन । तसर्थ, शासनमा रहने व्यक्ति इमानदार या असल भइदिए व्यवस्था जे–जस्तो भए पनि फरक पर्दैन ।

० दुई–अढाई दशकको हाम्रो अभ्यास र हेराइले त नेताले आफ्नो पार्टीलाई परिवार ठान्ने, अलिक कमजोर रहेछ भने गुटलाई आफ्नो ठान्ने र त्यसभन्दा पनि गएगुज्रेको नेताले फगत आफ्नो परिवारलाई सबैथोक ठान्ने प्रवृत्ति देखायो, होइन र ?
– हो । राष्ट्र हाँक्ने जिम्मेवार स्थानमा पुर्‍याउन पार्टी एउटा सशक्त माध्यम हुने हुनाले त्यसलाई परिवार ठानेर माया गर्नु अनुचित नठहरिएला । तर, पार्टीबाट गए पनि राष्ट्र सञ्चालन गर्ने भूमिकामा पुगेपछि सिङ्गै देशलाई नै आफ्नो परिवार ठानेर कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । यस्तो सोच राखेर काम गर्ने नेताको खडेरी देखिएकै हो । यो प्रवृत्तिबाट मुक्तिको लागि सम्बन्धित सबैले सोच–व्यवहार बदल्नु आवश्यक छ ।

० नेपालीजनलाई के सुझाव दिन चाहनुहुन्छ ?
– हामी नेताले गर्न नसकेको, नेताले बिगारेको भन्दै विरोध त गर्छौं, तर आफ्नो कर्तव्यचाहिँ बिर्सन्छौँ । ती नेता कुनै अर्को ग्रहबाट आएका होइनन्, हामीले नै छानेका हौँ । तिनलाई सही बाटोबाट हिँडाउने काम हाम्रै व्यवहारमा पनि भर पर्छ । तिनलाई सच्याउने, तिनका गल्ती औँल्याउने र आफू पनि कर्तव्यशील भई बाँच्न खोजे सबैको भलो हुन्छ । जनताले कर्तव्य नचिन्दा या नेतालाई छाडा छोड्दा धेरै कुरा बिग्रिएको छ, यो सबैले मनन गरौँ ।