सत्र वर्षपछि एनआईएस तालिममा

सत्र वर्षपछि एनआईएस तालिममा


spor

राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेलका स्वयम्सेवक, प्रशिक्षक र खेलाडीलाई भारतको पञ्जावमा रहेको पटियालास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्टस् (एनआईसी) मा उच्च तालिमका लागि पठाएको छ । त्यसका लागि २५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ । राखेप सदस्यसचिव केशवकुमार विष्ट र सदस्य शैलेश कर्माचार्यले उनीहरूलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरेका थिए ।

तालिममा सहभागी हुनेमा एथलेटिक्सका सन्तोष श्रेष्ठ, ओलम्पियन प्रमिला रिजाल र मनराज शाही, कबड्डीका भगवती अधिकारी, तर्कराज भट्ट, मेणुका राजवंशी, नरेशराज अवस्थी र प्रकाश चन्द, हक्कीका कान्तुराम पनेरू र गोविन्द अधिकारी, भारोत्तोलनका विपेन्द्र महर्जन, टेबलटेनिसका आशिष अवाले र अनिता महर्जन, कुस्तीका लक्ष्मी खत्री र रामबाबु यादव, बक्सिङका दिनेश श्रेष्ठ, राजेन्द्र लिम्बू र सुमन बञ्जारा, उसुका खेमराज थापा, राजेन्द्रकुमार राई र डम्बर यादव, जिम्न्यास्टिकका भुवन गिरी, फुटबलकी अस्मिता खवास, पौडीका यासिब मानन्धर तथा जुडोकी गायत्री बस्नेत रहेका छन् ।

१७ वर्षपछि राखेपले एनआईएस तालिमका लागि प्रशिक्षक र खेलाडी पठाउन लागेको राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीले जनाएका छन् । निर्देशक उप्रेतीले विभिन्न खेलका प्रशिक्षकले अनिवार्य अवकाश पाइरहेको अवस्थामा आगामी दिन पर्याप्त मात्रामा दक्ष प्रशिक्षकको अभाव हुन भएकाले त्यसको परिपूर्ति गर्न पुन: तालिमका लागि टोली पठाइएको बताए । सदस्यसचिव विष्टले विधि र प्रक्रियाअनुसार टोली छनोट गरिएको बताउँदै सहभागीले हासिल गरेको ज्ञान र सीपलाई खेल र खेलाडीको विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा नेपाल ओलम्पियन सङ्घले प्रमिला रिजाललाई पाँच हजार नगद सहयोग प्रदान गरेको थियो ।