युरोप भ्रमणका रमाइला अनुभूति..(भाग ४)

युरोप भ्रमणका रमाइला अनुभूति..(भाग ४)


हामी राजा हेन्री द्वितीयले निर्माण गरेका पुल हेरिसकेपछि त्यहाँबाट नजिकै रहेको सेइन नदी किनाराको प्रसिद्ध नोटरडाम क्याथाड्रलतर्फ लाग्यौंं । कतिपय पाठकहरुले यदि भिक्टर हृयूगोका उपन्यास “हन्चब्याक अफ नोटरडाम” पढ्नुभएको छ भने यस क्याथाड्रलबारे थाहा भएको हुनुपर्छ । भनिन्छ यो क्याथड्रलमा पेरिसको आइफिल टावरमा भन्दा बढी वर्षेनी पर्यटकहरु आउँछन् । एघारौ शताब्दीमा निर्माण गरिएको क्याथाड्रलभित्र प्रवेश गरेर हेर्नका लागि कुनै शुल्क लाग्दैन । यो क्याथाड्रलको सुन्दरता र अलौकिकता क्याथाड्रलभित्र पसेपछि महशुस हुन्छ । यस क्याथाड्रलको निर्माण गोथिक शैलीमा गरिएकोछ । युरोपका धेरैजसो प्रसिद्ध भवनहरु गोथिक शैलीमा नै निर्माण गरिएका छन् । गोथिक शैलीमा निर्माण गरिएका भवन, गिरजाघरहरु र क्याथाड्रलहरुमा हावा र प्रकाशको तारतम्य मिलाएर निर्माण गरिएका हुन्छन् । यस क्याथाड्रल बढी चर्चामा आउने गरेको अर्को कारण फ्रान्सका राजा, महाराजा र सम्राटहरुले गद्दी आरोहणको समारोह यसै क्याथाड्रलमा सम्पन्न गरिन्थे । क्याथोलिक शाखाको खृष्टियन धर्मँसँग आबद्ध फ्रान्सेली परिवेशका छनकहरु, सयौंका संख्यमा बलिरहेका दीयोहरु, झ्यालका सीसाहरु र भित्ताहरुमा सिर्जना गरेका गोथिक कलाकृतिहरुका विशेषता यस क्याथाड्रलले झल्काउँछन् । क्याथाड्रलभित्र ठूलो प्रार्थनाहलको अगाडिपट्टि मरियम, यिशुखृष्ट र धर्मसँग आबद्ध कलाकृतिहरु यस क्याथाड्रलका सुन्दरतम् विशेषताहरु हुन् । यस क्याथाड्रलभित्र स्टिल फोटोग्राफी गर्न सख्त मनाही छ । भनिन्छ नेपोलियन बोनापर्टले यो क्याथाड्रल र यहाँको पादरीलाई पटक्कै मनपर्ने थिएन । नेपोलियनको पालामा क्याथाड्रलको पार्श्व भागलाई कुरुप बनाइएको थियो रे । यसलाई निर्माण गर्नेतर्फ पनि ध्यान दिएनन् रे । जब उनी फ्रान्सका सम्राट घोषित गरेर ताजपोशीका लागि क्याथाड्रलमा आएका थिए, क्याथाड्रलका पादरीले खृष्टियन परम्परा र मर्यादाअनुरुप नेपोलियनलाई सम्राटको ताज लगाउन आँटेको बेलामा नेपोलियनले ताज पादरीको हातबाट खोसेर आफै लगाएको घटनालाई कतिपय धार्मिक आस्था राख्ने फ्रान्सेलीहरुले भर्त्सना गर्छन् । यसकारण तोपले भत्काइएको क्याथाड्रलको पछाडिपट्टि कुप्रो परेको मान्छेको काँधजस्तै यस क्याथाड्रलको सौन्दर्यको कुरुपता देखेकाले भिक्टोर हृयुगोले “हन्चब्याक अफ नोटर्डम” नामक उपन्यास यसै क्याथाड्रलको परिधिभित्रको वातावरणलाई समेटेर सन् १८२९ देखि २ वर्ष लगाएर फरवरी १८३१मा सिध्याएका थिए । यो उपन्यास धेरै लोकप्रिय भएकेाले नोटरडाम क्याथाड्रलमाथि विश्वको नजर पुग्नगयो । त्यसपछि फ्रान्सेली प्रशासकहरुले कुप्रो परेको नोटरडामको पछिल्लो भाग मरम्मत गरेर पहिलेको जस्तै यस्को सौन्दर्यमा निखार ल्याएका थिए ।
भव्य नोटरडाम क्याथाड्रलभित्रका सौम्य वातारण अलौकिक लागिरहेको थियो । भित्रको परिसर परिक्रमा गरेपछि हामी बाहिर निस्क्यौं । हामीलाई भोक लागिरहेको थियो । बुरियाको ब्रत भएको कारणले गर्दा फलफुल र दुध हामीले बन्दोवस्त गरेर ल्याएका थियौं । मैले छेउको फ्रान्सेली रेस्टुरेन्टमा गएर चार यूरोको एउटा ठूलो चिकन पानेनी र जुस किनेर सेइन नदी किनारामा एउटा बेन्चमा बसेर दिनको लञ्च खायौंं । बुरिया दंग परेकी थिईन् । यहाँका हजारौवर्ष पहिले निर्माण गरेका भौतिक संरच्नाहरुको मजबुतिलाई देखेर साथै १२औं शताब्दीमा बनेको फ्रान्सेली गोथिक शैलीको नोटरडामको इन्जिनियरिंग कौशलतालाई हेर्दा यहाँको परिबेश तत्कालीन् अवस्थामा धेरै माथि रहेको बुझ्न सकिन्छ । दिनको खाना खाएपछि अब हाम्रो पालो लुभ्रे म्युजियम हेर्नु रहेको थियो । दिनको डेढ बजिरहेको थियो । हामी सरासर लुभ्रे म्युजियमतर्फ लाग्यौं । अहिले दिन निकै चिस्सिइँदै गइरहेको थियो । अतः बुरियाले मलाई ब्यागबाट उनीटोपी निकालेर ओढाइदिईन् र आफूले पनि रातो उनीटोपी ओढिन् । हामीले अरु साथीहरुलाई नपर्खी हामी दुबैजना मात्र दश दश यूरो तिरेर हतार-हतार लुभ्रे म्युजियम हेर्न गयौं । टिकटको लाइन देख्दा निराश लागेको थियो तर, आधाघण्टाभित्र हामीले टिकट पायौं, त्यसपछि प्रसिद्ध म्युजियमभित्र पस्यौं । म्युजियमभित्र पस्नुअघि एउटा क्रिस्टलको लघू पिरामिड देखिन्छ । त्यो पिरामिड नै म्युजियमको मुख्य द्वार रहेछ । यसलाई एकजना अमेरिकी चाइनिज आर्किटेक्टले डिजाइन गरेको रहेछ । मलाई त्यस म्युजियममा राखेको लियोनार्दो दा भिन्सीले कोरेका असली मोनालिसाको तस्वीर हेर्ने रहर थियो, यति मात्र नभई विश्व प्रसिद्ध चित्रकारहरु र माइकल एन्जलोका मूर्तिहरु हेर्ने रहर थियो । यस म्युजियमभित्र ग्रीक, रोमन तथा इस्लामिकलगायत विश्वभरिका अमूल्य कलाकृतिहरु छन् । हामी भुइं तल्लाबाट हेर्दै माथितिर लाग्दै थियौं । भनाई अनुसार त्यस म्युजियममा राखेका प्रत्येक वस्तुलाई ३० सेकेण्डको हिसाबले हेर्ने हो भने यो म्युजियम हेर्नका लागि पूरा २ महिना लाग्ने कुरा बिहान गाइडले भनेकी थिईन् । यो विशाल म्युजियमको मुख्य चित्रहरु, मूर्तिहरु र सामाग्रीहरु हेरेर २ घण्टापछि पेरिसको प्रसिद्ध ऐफिल टावर हेर्ने हाम्रो योजना थियो । हामीले सकुन्जेल भीडीयोमा रेकर्ड र फोटोहरु खिच्यौं, तर, प्रत्येक वस्तुको बारेमा लेखिएका विवरणहरु पढेनौ कारण सबै फ्रेन्चभाषामा थियो र हामीलाई ती सबै विवरण पढेर हेर्दै जाने फुर्सदसम्म थिएन । यो म्युजियमभित्र राखेका हजारौं कलाकृतिहरु यो संस्मरणमा लेखेर साध्य छैन । १८औं शताब्दीदेखि विकसित गर्दै २१औं शताब्दीसम्मको संकलन र व्यवस्थापन गरिएको यो लुभ्रे म्युजियम बराबर विश्वमा अरु म्युजियम नै नभएको स्तम्भकारलाई प्रत्तित भएको थियो । हामी सुन्दर मुर्तिहरु हेर्दै दोश्रो तल्ल्ाामा पुग्यौं जहाँ तैलचित्रका विशाल चित्रहरु थिए । प्रत्येक मोड र खुड्किलोहरुमा मोनालिसाको तस्वीर राखिएको कोठातर्फ जाने बाटो इँगित गर्दै तीर निशानको सूचना टाँस गरिएको देखें । हामी त्यही निशानको दिशा पहिल्याउँदै अघि बढ्दै गएँ । भित्री कोठामा सानो फ्रेमभित्र मोनालिसाको तैलचित्र अत्यन्त सुरक्षित तरिकाले राखिएको देखेँ । तस्वीरको अघितिर सानो बारले आगन्तुकहरुलाई तस्वीरसम्म पुग्न प्रतिबन्धित गरिएको देखेँ। धेरै मानिसहरु मोनालिसाको तस्वीर वरिपरि झुमिएका देखेँ । लियोनार्दो दा भिन्सीले यस चित्रलाई सन् १५०४ ताका बनाएका थिए र यो चित्र विश्वको उत्कृष्ट चित्रमा गनिन्छ । चित्रलाई हेर्दा सामान्य र सानो देखिन्छ । बुरियाले सानो आकारको चित्र देखेर प्रश्न गरिन्… यो तस्वीर खासै केही देखिन्न र मोनालिसा कुनै विख्यात महिला पनि होइनन् किन बुरा यति धेरै ख्याती ?… मैले के जवाफ दिने, मैले फ्याट्ट भने … हेर बुरिया, यस तस्वीरको सबैभन्दा महत्वपूर्ण पाटा चित्रको मुखको भाव र मुस्कान हो त्यसैले प्रसिद्धि पाएको…म मनमनै खुशी भएँ किनभने मैले धेरै फोटोहरुमा देखेका माइकल एन्जलोले बनाएका मूर्तिहरु र मोनालिसाको असली तस्वीर हेर्न पाएकोमा । बुरियाको केही तस्वीरहरु मोनालिसाको तस्वीर अघि खिचे । त्यसपछि नेपोलियनको पालामा संकलन गरेका कलाकृतिहरु, फ्रेन्चहरुले लर्डाईमा प्रयोग गर्ने विभिन्न अस्त्रहरु र विश्वका कुनाकुनाबाट ल्याएका कलाकृतिहरु ढाइघण्टासम्म हेर्यौं अनि ऐफिलटावरका लागि लुभ्रे म्युजियमबाट निस्क्यौं ।
म्युजियम हेरिसकेपछि ऐफिलटावरका लागि हामी सेइन नदी किनाराको मेट्रो रेल स्टेशनतर्फ जाँदा मेरो मस्तिष्कमा म्युजियमबारे धेरै विचारहरु कावा खेल्दै थियो । दिमागभरि जिज्ञासाका जमातहरु थिए, तर, समयको अभावले कैयौं यस्ता हेर्नु पर्ने कुराहरु थाँती राखेर छिटो-छिटो आइफिल टावर हेर्न रेल स्टेशनतर्फ लाग्यौं । बुरिया भन्दै थिईन्… अब अर्को पटक घुम्न आउँदा दिनभरि यहि म्युजियम हेरौला… मैले सोचे ३० सेकेण्डको हिसाबले राखेका कलाकृतिहरु र वस्तुहरु हेर्दा २ महिना लाग्ने म्युजियमलाई एकदिनमा कसरी हेर्न सकिएला ? हामी अहिले सेइन नदीको पुलबाट पल्लो किनारातर्फ गइरहेका थियौं । हामीले “सी” लाईनको पहेंलो रंगको रेल लाइन पक्डेर आइफिल टावरको नजिकको स्टेशनमा झर्‍यौं र त्यहाँबाट पैदल हिँडेर आइफिल टावरको पार्श्वभागबाट आइफिल टावरको क्षेत्रभित्र गयौं । जतिबेला आइफिल टावरतर्फ हामी लागिरहेका थियौं हामीले आइफिल टावरको सेम्पल जस्ता सजाउने विभिन्न अकारका आइफिल टावरहरु बेच्न बसेका मानिसहरु देखे । तिनीहरु सबैजसो भारतीय, पाकिस्तानी र बंगलादेशी मूलका मानिसहरु थिए । हामी टावरको सम्मुख पुगेर केही फोटोहरु खिच्यौं त्यसपछि टावर चढ्नका लागि टिकट किन्न बढ्यौं । मार्च महिनाको तेश्रो हप्तामा पनि यति बिघ्न मानिसहरु देखेर बुरिया दंग भईन् । पर्यटकहरुको घुँइचोले टिकटको लाइन निकै लामो थियो । हामी सोंच्दै थियौं, समय अबेर भए पनि एकपटक आइफिल टावर चढ्ने धोको पूरा हुने भयो । पेरिस भ्रमणका लागि आएका पर्यटकहरु देख्दा देशविकास त्यसै हुँदैन जबसम्म मानिसहरुमा चेतना बुलन्द हुँदैन भन्ने अनुभूति भयो । हामी एकघण्टा जति लाइनमा बसेपछि ३२४ मिटर (एकहजार त्रिसट्ठी फिट) अग्लो आइफिलटावरमाथि लिफ्टबाट चढेर जाने अवसर प्राप्त भयो । फलामले बनेको आइफिलटावर यथार्थमा एउटा नमूना नै छ । यसको अवस्थिति, सेइन नदीको किनारामा लगभग पेरिसको सबै मुख्य भाग देख्न सकिने ठाउँमा पर्दछ । लगभग ४०, ५० जना अट्ने ठूलो लिफ्टमा चढेर दोश्रो लेभेलमा पुग्यौं । आइफिलटावरको तीनवटा लेभेलहरु छन् । हामी सबैभन्दा माथिको लेभेलमा गएनौ । माथि पुगेपछि फेरि बुरियाले हतपत्त टोपी निकालेर मलाई ओढाइ दिईन्् । हामीलाई माथि पुग्दा तेज हावाको कारणले गर्दा जाडो लागिरहेको थियो । १८८९ सालमा जतिबेला संसारमा यति उँचाइका भवनहरु थिएनन् त्यतिबेला यो टावर निर्माण गरिएको थियो र त्यस सालको विश्व मेलाको आयेजना गर्दा यसको उद्घाटन गरिएको रहेछ । गुस्ताभ आइफिल नाम गरेको एकजना इन्जिनियरले यस टावरको डिजाइन गरेका थिए । सन् १९३० सालसम्म यो विश्वको सबैभन्दा अग्लो टावर रहेको थियो, तर, पछि न्यूयोर्क सिटीको क्रिस्लर बिल्डिङको निर्माणले यसको उँचाइलाई उछिनेको थियो । इन्जिनियर गुस्ताभ आइफिलको नाउँबाट यस टावरको नाम आइफिल टावर रहन गएको रहेछ । यसको निर्माण कालमा केवल एकजना कामदारको मृत्यु भएको रेकर्ड छ । त्यो पनि आफ्नो प्रेमिकालाई टावरबाट हाम फालेर देखाउँदा मृत्यु भएका थिए । विशाल, सुन्दर पेरिस शहरलाई आइफिल टावरमाथिबाट सेइन नदीको किनारादेखि क्षितिजसम्म आँखा नअघाउन्जेल हेर्‍यौं । त्यहाँबाट पनि धेरै फोटोहरु खिच्यौं । जीवनकालमा हेर्नु पर्ने एउटा गन्तव्य, पेरिसको आइफिल टावरको भ्रमण पुराभयो । प्रेमी प्रेमिकाहरु, यवा युवतीहरुको भ्रमण गर्ने शहरलाई २ दिनमा हेरेर सक्ने कुरा नै थिएन, तर, हामीले जति हेर्‍यौं त्यतिले सन्तोष गर्नुपर्‍यो र यो सम्झना जीवनकाल भरिका लागि अमूल्य निधि सम्झेको छु । अहिले गौधुलीको वातावरणलाई चेप्दै रातको अँध्यारोले पूरा पेरिस शहरलाई आफ्नो आगोशमा लिएको छ । आहा !!! कति सुन्दर पेरिस शहर ! । हामी टावरको माथिबाट रंगीचंगी बत्तीहरुले सिँगारिएकी पेरिस शहरलाई हेर्न पाउँदा कतै स्वर्गमाथि उभिएको भान् भइरहेको थियो । समय थिएन, माथि जाडो लागिरहेको थियो साथै लघू कर्मको लागि पनि अत्तिइरहेको थिएँ । छिटो-छिटो टावर लिफ्टबाट दुबैजना तल ओर्लेर रेल स्टेशनमा गयौं । त्यही “सी” लाइनको रेल पक्डेर स्तालिनग्राद हुँदै फोरेस्टहिल होटलमा राति नौ बजेतिर आइपुग्यौं । दिनभरिको घुमाइमा थाकेर दुबैजना लखतरान् भएका थियौं । होटलको रेस्टुरेन्टमा किचेन बन्द भइसकेको रहेछ । हामी बाहिर होटलछेउको रेस्टुरेन्टमा गयौं । बुरियाले तातो दूध एक गिलास किनेर र आपूसँगै बोकेकी फलफूल खाईन् । मैले यात्रामा ब्रत नलिनलाई भनेको थिएँ, तर, बुरियाको संकल्पलाई मैले रोक्न पनि सकिनँ । बुरिया भन्छिन् पूर्णीमाको ब्रत बसेर २३ वर्ष भइसक्यो, अब किन छाड्ने – मैले चिकन मिल खाएँ । हामी होटलमा दश बजे फर्क्यौं । नुँहाइ-धोइ गरी हामी मीठो निन्द्रामा सुत्यौं । भोलि सातबजे तयार भएर हामी फ्रान्सको दक्षिणपूर्व हुँदै बर्गन्दी क्षेत्र भएर मेकोन शहरकोतिर जानुथियो । हवस् त ….. अर्को एपिसोडमा ।