भारत सरकारद्वारा नेपालगन्ज जोड्ने रेल सेवा बन्द

भारत सरकारद्वारा नेपालगन्ज जोड्ने रेल सेवा बन्द


नेपाल भारत रेल सेवा 2

भारतको गोण्डादेखि नेपालगन्जको रुपैडिया जोड्ने रेल सेवा भारत सरकारले बन्द गरेको छ । अङ्ग्रेजको पालादेखि सञ्चालित उक्त रेल सेवा पहिलोपल्ट बन्द गरिएको हो ।रेलको लिक निकै पुरानो भएकाले मर्मत र विस्तार गर्न सेवा बन्द गरिएको हो ।

नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई जोडेको छ । सेवा बन्द भएपछि रुपैडिहा–गोन्डासम्मको सोझो रेल सम्पर्क चार दिनदेखि टुटेको छ ।

रुपैडिहा–गोन्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको (बडिलाइन) सेवा सञ्चालन गर्न भारत सरकारले निर्णय गरिसकेको छ । उसले मर्मत र विस्तारको काम सुरु गरिसकेको छ ।

सीमाञ्चल पत्रकार एसोसिएसन इन्डो नेपाल उत्तर प्रदेशका प्रमुख एसके मदेसियाले नयाँ रेल विस्तारपछि नेपालगन्ज सोझै दिल्लीसँग जोडिने बताउनुभयो । तर, सीमावर्ती आफ्ना नागरिकका लागि भने रुपैडिहा–बहराइचसम्म दिनमा दुईपल्ट रेल सञ्चालनमा छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालगन्ज जोड्ने रेल सेवा भारतले बन्द गरेको बारे जानकारी नभएको बताउनुभयो ।

यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर गाविस–९ मा गएराति बसको ठक्करबाट एक भारतीय सुरक्षाकर्मी (एसएसबी)को मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर४९एम ६८०१ नंको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४३८१ नंको यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालक भारतको सीमा सुरक्षा बल भीमनगर चेकपोष्टमा कार्यरत एसएसबी जवान रोमियो बेनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका एसएसबी जवान बेनियालाई उपचारका लागि भारतको वीरपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सुनसरी हरिपुर गाविस–९ बस्ने राजाराम मण्डल र मनोज साह घाइते भएका छन् । घाइते भएकाहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।