दिल्ली सम्झौता

दिल्ली सम्झौता


SN Karki

– स्वयम्भूनाथ कार्की

परिच्छेद ३२ को अन्ततिर बीपी भन्छन्, ‘हामीहरूको मोहनशमशेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा । कुराहरू जवाहरलालजीमार्फत भए । जवाहरलाल नेहरूले पनि कुनै ठोस कुरा गरेका होइनन् र राजाले त्यसमा कुनै भाग लिएका होइनन् । अरूहरूसँग कुरा गरेको भए मलाई थाहा छैन । एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको ।’ जुन दिल्ली सम्झौताले एक सय चारवर्षे जहानियाँ राणाशासन समाप्त पारेर नेपाली काङ्ग्रेसको आन्दोलनलाई विजयमा अन्त गरेको मानिन्छ त्यो सम्झौतालाई नेपाली काङ्ग्रेसका सर्वेसर्वा नेता काल्पनिक भन्दछन् भने यसको गहन अर्थ लाग्छ । उनको यो भनाइको विश्लेषण गर्न केवल आत्मवृत्तान्त किताबका तथ्यहरू मात्र काफी हुँदैनन् । यदि यही किताबको सेरोफेरोमा मात्र हेरियो भने बीपी आत्मकेन्द्रित तथा केवल सहयोगीहरूको मिहिनेतमा मात्र ठूला भएका व्यक्ति देखिन जान्छन् । तर, विराटनगर जुटमिल काण्डमा नेतृत्व दिन आउनु, काठमाडौं सङ्गठन बलियो बनाउन आफू पक्राउ पर्ने खतरा मोलेर पनि आपैँm जानुले उनी आपैँm मिहिनेत गर्थे सहयोगीको मात्र काममा भर पर्दैन थिए भन्ने जनाउँछ । यसबाहेक पनि अनेक प्रसङ्ग छन् जुन उनले आत्मवृत्तान्तमा उल्लेख गरेको मात्र होइन इतिहासमा समेत आइसकेका छन् जसले खटाउने नेताभन्दा उनी खट्ने नेता थिए भन्ने सावित गर्छ । काङ्ग्रेस नेतृत्वसँग रुष्ट केआई सिंहलाई भेट्न ज्यान हत्केलामा राखेर गएका छन् ।

मूलत: त्रिपक्षीय भने पनि दिल्ली सम्झौतामा धेरै पक्ष देखापरेका छन् । राजा, राणा र नेपाली काङ्ग्रेस तीन पक्षबीच सम्झौता भएको भनेर इतिहासकारहरूले लेखे पनि त्यसैको एक पक्षका नेताले आफ्नो संलग्नता नभएको भनिसकेपछि घोषित तीन पक्षबाहेक अघोषित कुन–कुन पक्ष त्यसमा हाबी थिए भन्ने कुरा खोतल्न जरुरी छ । माथि उल्लेखित अनुच्छेद नै धेरै कुराको वर्णन गर्न पर्याप्त छ । यसमा हेर्दा के भान पर्दछ भने घोषित तीन पक्षमा नेपाली काङ्ग्रेसको भूमिकालाई नेहरूले ढाकेका थिए । भारत स्वतन्त्रता आन्दोलनका एक आन्दोलनकारीकै रूपमा नेहरूलाई हेरेर उनबाट असल व्यवहारको आशा गरेका बीपीलाई नेहरूबाट पटकपटक धोका भएको देखिन्छ । तैपनि बीपी किन चेतेनन् वा उनको के विवशता थियो भन्ने कुरा हेर्न राजा, राणा, नेहरू र नेपाली काङ्ग्रेसको तात्कालिक मूल्याङ्कन गर्न आवश्यक हुन्छ ।

अङ्ग्रेजसँग धेरै युद्ध भए पनि राणाकालमा अङ्ग्रेजसँग सम्बन्ध सुधार गर्ने नीति लिएको देखिन्छ । राजालाई प्रतीकको रूपमा राखेर सबै शासनको हालिमुहाली आफूले लिने क्रममा अङ्ग्ेरजसँग पनि लड्नुपरेको भए टिक्न गाह्रो हुने थियो । यही आँकलन गरेर राणाहरूले भारतीय बेलाइती फौजमा नेपालीलाई भर्ना खुला गरेर अङ्ग्रेज रिझाउने सफल प्रयत्न गरिएको थियो । भनिन्छ सिपाही विद्रोह र जलियाँवाला वाग काण्डमा अङ्ग्रेजहरूले गोरखा राइफल्स प्रयोग गरेका थिए । यसै क्रममा अङ्ग्रेजले भारत छोडिसकेपछि हैदरावादमा सैनिक कारबाही गर्दा राणाहरूले नेपाली फौजले मद्दत गर्ने प्रस्तावसमेत गरेका थिए । त्यसलाई सरदार पटेलले अस्वीकार गरेपछि स्वतन्त्र भारतले आफूप्रति नरम भाव नराखेको राणाहरूले बुझिसकेका थिए । त्यसैले भारतलाई रिझाएर आफ्नो शासन लम्ब्याउन सकिन्छ भन्ने उनीहरूलाई लागेकोले नेहरूको कुरा सुन्न र मान्न उनीहरू बाध्य थिए ।

सानैदेखि राणाहरूको नियन्त्रणमा भएकाले र राजाले टाउको उठाउन नपाउन् भन्ने ध्येयका साथ पालनपोषण गरिएकाले राजा त्रिभुवन राणाहरूको कामकुराको खुला विरोध गर्न सक्दैन थिए । आफू राजा भएर पनि आफ्नो आवश्यकता पूर्तिको निमित्त राणाहरूको अगाडि हात फैलाउनुपर्ने अवस्था र आफ्नो सानोभन्दा सानो कुरा पनि राणा प्रधानमन्त्रीहरूले काट्ने गरेकाले त्रिभुवन आफूलाई एकप्रकारको बन्धनमा भएको महसुस गर्दै थिए । यस्तो अवस्थामा आफूलाई स्वतन्त्र बनाउन गरिने हरेकजसो प्रयत्नमा उनको सकेसम्मको समर्थन र सहयोग हुने गरेको थियो । नेपाली काङ्ग्रेसको आफूलाई पाल्पा लैजाने र त्यहाँ नयाँ राज्य घोषणा गर्ने योजना असफल भएपछि भारतको सहयोगको प्रस्ताव उनले अस्वीकार गर्न नसकेकोजस्तो देखिन्छ । जसरी भए पनि राणाहरूद्वारा निसास्सिनुपर्ने व्यवहारवाट आफू र मुलुकलाई मुक्त गर्ने उनको लक्ष्य देखिन्छ । तर, महेन्द्रमा भने जसरी भए पनि भन्दा सम्मानजनक हुनुपर्ने सोचको छनक आत्मवृत्तान्तमा अनेक स्थानमा देखिन्छ ।

नेपाली काङ्ग्रेसले भारतभूमि र भारतीय सहानुभूति आफ्नो राणाविरोधी आन्दोलनमा पाएकाले नेहरूलाई आवश्यकताभन्दा ज्यादा भरोसा गरेको देखिन्छ । त्यसबाहेक राजा पनि नेहरूको पाहुना भएर रहेकाले र आफ्नो भेट राजासँग सीधै हुन नसक्ने परिस्थिति पारिएकाले क्रान्ति सफल गर्न नेहरूको भरोसा नगरी नहुनेजस्तो परिस्थिति पनि विद्यमान भएको देखिन्छ, वा जयप्रकाश नारायण, राममनोहर लोहिया आदिको सक्रिय समर्थन अनि आफ्नो सोसलिस्ट पार्टीमा गरेको लगानीले नेहरू विपरीत भइहाले पनि आफूले सम्हाल्न सक्छु भन्ने आत्मविश्वास बीपीमा भएको हुन सक्छ । यसैक्रममा आफू गान्धीजीसँग समर्थन माग्न गएको र गान्धीजीले आजभोलि मेरा मान्छेहरू नै मेरा कुरा मान्दैनन् भनेको प्रसङ्ग पनि बीपीले अत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

अङ्ग्रेजले भारत छोड्दा ‘भारत स्वतन्त्रता ऐन १९४७’ लाई आधार बनाएका थिए । त्यस ऐनले उपनिवेश भएका रियासतहरूबारे मात्र उल्लेख गरेको थियो । सिक्किम, भुटान तथा नेपाल अङ्ग्रेजका अधीन नभएकाले ती मुलुकमा त्यो ऐन प्रभावी हुने थिएन । त्यसैले यी छिमेकी मुलुकहरूमा आफ्नो प्रभाव जमाउन भारतलाई ती मुलुकका आन्तरिक विषयमा प्रवेश गर्न आवश्यक थियो । राणाविरोधी आन्दोलनमा मध्यस्थता गर्ने काममा उसले कम से कम नेपालको आन्तरिक प्रशासनमा पैठ पाउने थियो । राजा र राणाको विवशता नेहरूलाई ज्ञात थियो । केवल बीपीलाई कहिले नरम कहिले गरम भएर साथ राख्नु थियो । त्यो काम प्रधानमन्त्री नेहरूले कुशलतापूर्वक सम्पन्न गरे । राजा, राणा र भारतबीच भएको त्रिपक्षीय सम्झौतालाई राजा, राणा र नेपाली काङ्ग्रेसबीच भएको भान दिन सफल भए । त्यसैले यो दिल्ली सम्झौता भनेको नेपाली काङ्ग्रेसको निमित्त काल्पनिक कुरा थियो । त्यही कुरा बीपीले उल्लेख गरेका छन् । अझ त्यो सम्झौता कार्यान्वयन समयमा नेहरूको भूमिका सक्रिय देखिएको छ । जसको अलग विश्लेषण आवश्यक छ ।