रणसङ्ग्रामको सम्झनामा रुदाने

रणसङ्ग्रामको सम्झनामा रुदाने


Sangramsing Bista 2

रणसङ्ग्राम विष्ट

कुनैबेला मार्सल आर्टस्को खेलाडी रहेका रणसङ्ग्राम विष्ट ०५१/५२ तिर प्रशिक्षक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा कर्मचारीको रूपमा करिब दुई दशक सेवा गरेपछि जनताको करबाट तलब खाने कर्मचारी नै पार्टीको दलाली गर्ने, अस्वस्थ राजनीतिमा उत्रने, भ्रष्ट प्रवृत्ति प्रदर्शन गर्ने देखेपछि असन्तुष्ट भई ०७२ माघ १ मा राजीनामा दिई बाहिरिएका एक पात्र हुन् । जनमुखी राजनीतिका महान् दार्शनिक रूपचन्द्र विष्ट (रुदाने–रूपचन्दविष्ट दामन नेपाल)को जीवन–व्यवहारबाट अत्यन्त प्रभावित रणसङ्ग्रामले आफ्नो बाल्यकालदेखि ०५६ मा रुदानेको निधन हुँदासम्मै उहाँको साथ–सान्निध्य पाए । ०३८/३९ सालदेखि नै म रुदानेको जनमुखी राजनीति वा थाहा दर्शनसँग आबद्ध रहेको व्यक्ति हुनुको नाताले उनले मकवानपुरका कुना–कुना रुदानेसँगै हिँड्ने शौभाग्य पाए । यसरी रुदानेको जनमुखी दर्शन र पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिमा साथ लागेर हिँडेकाले ०४४ सालमा खेलकुदमा उनलाई ‘अघोषित’ कारबाही गरियो, तर ०४६ मा भएको राजनीतिक परिवर्तनपछि पुन: उनी खेलकुदमा सक्रिय भए । पारिवारिक सम्बन्धका आधारमा रुदाने र रणसङ्ग्राम काका–भतिज हुन् तर यी दुई पात्रको सम्बन्धलाई ‘नाता सम्बन्ध’बाट हेर्न मिल्दैन । किनकि, नाता ठूलो कि न्याय ठूलो भन्ने सवालमा न्याय ठूलो भन्नुुहुन्थ्यो रुदाने । न्यायको अघिल्तिर नाता गौण हुन्छ, नाताभन्दा ठूलो न्याय हुन्छ, जातभन्दा ठूलो जनहित हुन्छ, स्वार्थभन्दा सत्य ठूलो हुन्छ भन्नुहुन्थ्यो उहाँ । नाताबाट मुक्त भएको त्यस्ता दार्शनिक, थाहा दर्शन बोकी जनमुखी अभियानमा हिँडेको मान्छेलाई आफूले नाता जोडेर कुरा गर्न मिल्दैन, काका–भतिजको नाता लगाएँ भने उहाँलाई मैले होच्याएजस्तो ठहर्छ भन्छन् रणसङ्ग्राम ।

यतिबेला रुदाने र उहाँको सोच, विचार, दर्शनमाथि पुस्तक लेख्न लागेका रणसङ्ग्रामलाई एउटा खेलाडी भएर पनि रुदानेको गहिरो दर्शनसँग कसरी जोडिन पुग्नुभयो भनी प्रश्न गर्दा उनी भन्छन्, ‘खेलाडी भनेका राष्ट्रको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने एक सशक्त माध्यम वा दूत हुन् । तर, विगतमा खेलकुदजस्तो अहम् क्षेत्रलाई तत्कालीन परिस्थितिमा कुनै व्यक्ति वा व्यवस्थाको ताबेदारी गर्ने निकायका रूपमा परिणत गराउने प्रपञ्च यो मुलुकमा भयो । खेलाडीलाई भरिया बनाएर झन्डाको बिँड र भकुन्डोभित्र राखी अनेक अवैध सामानको तस्करी हुने गरेका खबरका कारण खेलकुदको मात्र नभई मुलुककै बदनाम भयो । तथापि, खेलकुद भनेको राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय जगत्मा फैलाउने मञ्च हो । नेपालको वर्तमान खेलकुद क्षेत्र पञ्चायतकालीन शैली या प्रवृत्तिभन्दा फरक छैन अहिले पनि । ०६२/६३ को आन्दोलनपछि मैले ताबेदारहरूको अखडालाई रूपान्तरण गर्न सकिन्छ कि भनी गणतान्त्रिक खेलकुद महासङ्घ नामक संस्थासमेत गठन गरी अघि बढ्न लागेको थिएँ, उक्त संस्थाको म संस्थापक उपाध्यक्ष थिएँ । तर, त्यसलाई पनि अनेक व्यवधान सिर्जना गरी अघि बढ्न दिइएन । यस कुराले मलाई दिक्क तुल्यायो र त्यो ‘ताबेदारी संस्था’बाटै बाहिरिने अवस्थासम्म पुर्‍यायो । जहाँसम्म रुदानेको दर्शनसँग जोडिएको सवाल छ, बच्चादेखि नै उहाँको नजिक रहेको र युवावस्थादेखि नै उहाँको जनमुखी राजनीतिसँग जोडिएर ०५६ सालमा उहाँको देहावसान हुँदासम्म नै हरदम निकट रहेको एक पात्र हुँ म ।’

रुदानेको जनमुखी राजनीति र थाहा दर्शनबारे केही प्रस्ट्याइदिन आग्रहका साथै रुदानेसँगको सम्बन्धका विशेष भोगाइ र सम्झना सुनाउन आग्रह गर्दा रणसङ्ग्राम यसरी खुले–

०६ सालमा पदमबहादुर बुढाथोकीले आयोजना गरेको एक ‘पञ्चभेला’मा १६ वर्षका रुदाने सहभागी हुनुभएको थियो । त्यसअघि नै ‘जी–हजुरी’ प्रथालाई मान्ने परिवारलाई त्यागेर १० वर्षको उमेरमा उहाँ घर छोडेर निस्कनुभएको थियो, जीवन र जगत्लाई बुझ्नका लागि । यस दौडानमा उहाँ कसैका भान्से, घरेलु नोकर हुँदै काठमाडौं आएर जीवनयापन र पढाइलाई अघि बढाउनुभयो । बुढाथोकीको ‘पञ्च भेला’मा सहभागी भएपछि ०७ सालको क्रान्तिमा संलग्न हुनुभयो, ०९ सालमा कम्युनिष्ट पार्टीमा संलग्न हुनुभयो । कम्युनिष्ट पार्टीमा संलग्न भई सङ्गठनको काममा हिँड्ने क्रममा दुई वर्षपछि उहाँ पक्राउ पर्नुभयो । जहाँबाट पक्राउ परिएको थियो त्यहाँको बारेमा एक–दुईजना सहकर्मीलाई मात्र थाहा थियो । जेल बसेर फर्केपछि पार्टीमा सरकारी जासुसको घुसपैठ भएकाले तिनको पहिचान हुनुपर्छ भन्ने अडान उहाँले लिनुभयो, तर पार्टीले यस कुरामा खासै वास्ता गरेन । अनि उहाँले सङ्गठन र नेतृत्वको आलोचना गर्दै कम्युनिष्ट पार्टी नै त्यागिदिनुभयो, ०११ सालमा । अनि उहाँले स्वतन्त्र ढङ्गले जनतामा चेतनाको बिउ छर्ने अभियान थाल्नुभयो । त्यस दौरानमा ‘धर्म भकारी’को अवधारणा ल्याउनुभयो । समाजमा जन्मिसकेपछि हरेकले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ, भाव, विचार र व्यवहारबाटै समाजको हित गर्नुपर्छ भनेर उहाँले ‘सक्दो सबैले पुग्दो सरीलाई’ भन्ने नाराका साथ धर्म भकारी स्थापना गर्नुभएको थियो । मानिसले धर्म भकारीमा ‘धर्म धन’ हाल्न थाले । ‘दिनु धर्म लिनु पाप, लेनदेन व्यापार’, अर्थात् दिने भगवान् र लिने राक्षस हुन् भन्नुहुन्थ्यो उहाँ । धर्म भकारीमा जम्मा भएको धनबाट उहाँले नैकापलगायतका स्थानमा स्कुल स्थापना गर्नुभयो । अध्यापनको काम पनि आफैँले गर्नुभयो उहाँले १२–१३ सालतिरै । कालिमाटीको जनप्रभात स्कुल पनि उहाँकै अगुवाइमा खुलेको हो । ०३८ देखि मूलत: रुदानेले जनमुखी राजनीति र थाहा दर्शन अघिसार्नुभएको हो । जनशक्ति जनहितका निम्ति भन्ने सोचका साथ उहाँ जनतामा जानुभएको थियो ।

०१५ सालको चुनावमा उम्मेदवारी दिएका उहाँ पराजित हुनुभयो । लगत्तै श्रमको गाथा या महत्त्व बुझ्नका लागि कुल्ली काम गर्न थाल्नुभयो । खलाँसी हुँदै ड्राइभरसम्म बन्नुभयो । अभ्यासबाट अनुभव तहको ज्ञान, साधनाबाट अनुभूति तहको ज्ञान, तपस्याबाट साक्षात्कार तहको ज्ञान भन्नुभएको छ उहाँले । त्यसैको प्रयोग त्यतिबेला सुरु गर्नुभएको थियो रुदानेले । राम्रो ड्राइभर बनी सात महिना गाडी चलाएर छोड्नुभएको थियो । अनि १६ सालमा २६ वर्षको उमेरमा एसएलसी पास गर्नुभयो उहाँले । त्रिचन्द्र कलेज पढ्दै गर्दा बलको साधना पनि गर्नुहुन्थ्यो रुदाने । अत्यन्त बलिष्ट पहलवान हुनुहुन्थ्यो उहाँ । कुनै प्रतियोगितामा त उहाँले भाग लिनुभएन, तर ‘निर्धो मान्छेको पहलवान – रूपचन्द्र विष्ट’ भन्ने कहावत चलेको थियो । अर्थात् समाजमा बल देखाएर निर्धालाई पेल्न खोज्नेहरूलाई उहाँ तह लगाउनुहुन्थ्यो । दिल्ली पढ्दा पाँचपटक पहलवानीमा ‘मिस्टर दिल्ली’ बनेर आएका पहलवान लालबहादुर खातीलाई पनि उहाँले कुस्तीमा हराउनुभएको थियो ।

यस्तो थियो रुदानेको स्वभाव :
rupchandra
जापानमा एउटा ट्रेनिङका लागि दुईजनाको कोटा आएको थियो । त्यसका लागि तेस्रोमा पर्ने भएँ । त्यतिबेला मेरो पनि लोभी मन जाग्यो र रूपचन्द्र विष्टको सिफारिस गराएर जापान जान खोजेँ । उहाँले सिफारिस पत्रमा लेख्नुभयो– ‘निज व्यक्ति योग्य भएमा निजलाई सिफारिस गर्दछु, निजभन्दा अर्को योग्य भएमा अर्कोलाई सिफारिस गर्दछु ।’ मैले त्यो सिफारिस उहाँकै अघिल्तिर च्यातिदिएँ । उहाँ नाता होइन न्याय हेर्ने व्यक्ति हुनुभएकाले त्यो सिफारिस अत्यन्त सही थियो भन्ने त मैले पछि मात्र बुझ्न सकेँ । उहाँ मानिसलाई ‘तँ’ भनी सम्बोधन गर्नुहुन्थ्यो । त्यसलाई सचेत व्यक्तिले त सहजै पचाउँथे, धेरैले किन तँ भनेको होला भन्ने सोच्दथे । यसमा उहाँको यस्तो तर्क के थियो भने यो जीवनमा तैँले समाजहितमा त्यस्तो के कर्म गरिस् र तँलाई तपाईं–हजुर भनी सम्बोधन गर्ने भाते ? भात नि:शुल्क खान्छस् भातको चिन्तन गर्दैनस्, हावा नि:शुल्क लिन्छस् त्यसको चिन्तन गर्दैनस्, सबै कुरा नि:शुल्क लिने, तर त्यसबारे चिन्तन नगर्नेलाई किन तँ नभन्ने ? कसैलाई बिगारिदिनु छ भने धुमधाम प्रशंसा गरिदिनुपर्छ भन्ने उहाँको तर्क थियो । जब मानिसले घृणा पचाउन सक्छ तब व्यक्ति मान्छे बन्छ र प्रशंसा खोज्ने मानिसहरू मान्छेको आकारका पशुको प्रकारका हुने हुनाले थाहा दर्शन अँगालेर हिँड्न सक्दैन भन्नुहुन्थ्यो उहाँ ।

०१८/१९ सालमा स्नातक पढ्दैताक गाउँ पञ्चायतको चुनावमा भाग लिई कालिमाटीमा उहाँ अत्यधिक मतले विजयी हुनुभयो । तर, पुलिस प्रशासनले पक्रिन लागेको जानकारी पाएपछि उहाँ शपथग्रहण नगरी भूमिगत हुनुभयो । यस दौडानमा भारतको आसाम पुग्नुभएछ । ब्रह्मपुत्र नदीमा पौडी खेल्ने दिनचर्या सुरु भएछ । घन्टौँ समुद्रमै पौडी खेल्न थाल्नुभएछ । यही क्रममा हिमाल आरोहणमा पनि पुग्नुभएछ । यसै क्रममा ०२१/२२ सालतिरको चुनावमा भाग लिन उहाँ जन्मथलो पालुङ पुग्नुभयो । त्यहाँ पनि अत्यधिक मतले जितेपछि फेरि प्रशासनले पक्रन खोज्दा व्यापक जनदबाबका कारण प्रहरी प्रशासन पछि हट्न बाध्य भयो । ‘जनशक्ति जनहितको निम्ति’ भन्ने अवधारणा त्यही बेला सुरु गर्नुभएको रहेछ । शिखराकोटमा विकास घर बनाउन प्रधानपञ्च भइसकेका रुदाने आफैँ ढुङ्गा फोर्न हिँड्नुहुन्थ्यो । १६ वर्ष पुगेका व्यक्तिले महिनाको एक दिन सार्वजनिक काम गर्नुपर्नेदेखि सामूहिक खेती लगाउने र सामुदायिक वनको अवधारणा उहाँले त्यही बेला ल्याउनुभएको हो । रुदानेको समाजमुखी क्रियाकलापका कारण दामन पालुङको जीवनशैलीमै कायापलट भयो । प्रशासन अत्तालियो । यही क्रमले त रुदानेले एक वर्षमा जिल्ला खाइदिन्छ र अर्को एक वर्षमा राज्य नै भ्याइदिन्छ भन्ने आरोप लगाउँदै उहाँमाथि शान्तिसुरक्षा ऐन लगाएर २०२४ सालमा पक्राउ गरियो । सुरुमा भीमफेदी जेल र पछि काठमाडौंस्थित केन्द्रीय जेलमा उहाँलाई राखियो । जेलको दौरानमा अनेक प्रलोभन पनि आएछ । तर, सानैमा कुलीनताको टालो च्यातेर हिँडेका व्यक्तिलाई मन्त्री पद र धनमानको प्रलोभनले गाल्न सक्ने कुरै भएन । स्वार्थ भनेको रछ्यान हो, रछ्यानमा कीरा–किटाणु मात्रै रमाउँछ भन्ने उहाँको अभिव्यक्ति रहन्थ्यो । उहाँलाई विचलित बनाउन गोलघरमा जाक्ने कामसमेत भएको थियो, तर उहाँ डग्नुभएन र ०२६ सालमा रिहा हुनुभयो । जेल छुटेर आउँदा धर्म भकारी बन्द भएका, सामूहिक खेती बाँझोमा परिणत भएको, विकास समितिहरू खारेज भइसकेका देखेर दुई वर्षमा त गाउँमा एनजीओ/आईएनजीओको जगजगी पो भइसकेछ भन्दै उहाँ आश्चर्यमा पर्नुभएछ ।

त्यसपछि जनतालाई शिक्षित तुल्याउने अभियानलाई उहाँले तीव्रता दिनुभयो । स्कुलमा हेडमास्टर भएर पढाउन थाल्नुभयो । विद्रोही स्वभावका रुदाने हरेक कुरामा नियाँपन खोज्नुहुन्थ्यो । कसैले चिया दिँदा त्यसमा पानी खन्याएर खाने, चौरासी व्यञ्जन पस्किए पनि सबै खानेकुरा एकैसाथ मुछेर खाने, उल्टो शैलीले सलाई कोर्नेजस्ता उहाँको प्रवृत्तिलाई पनि विद्रोहकै प्रतीक हो भनी मान्न सकिन्छ । ०२६ पुस १५ मा उहाँले विवाह गरेको पनि समाजप्रतिको विद्रोह नै थियो । उहाँ आफैँ राम्रो डकर्मी हुनुहुन्थ्यो । उहाँले सम्पन्न घरानाकी आफ्नी पत्नी उमा शाहलाई पनि श्रमदानको नाममा ढुङ्गा बोकाउनुभयो, गाउँमा स्कुल भवन निर्माणको बेला । छोराछोरी पढ्न नपठाउने अभिभावकहरूलाई उहाँ ‘तेरा सन्तान पढेर शिक्षित भए गाउँ, समाज र देशको सेवा गर्ला, नपढेर बिग्रिई भोलि चोरडाँका बनेर हाम्रा घर फोर्न हिँडे भने त्यसको जिम्मा कसले लिने ?’ भन्दै प्रश्न गर्नुहुन्थ्यो । यसरी पनि बालबालिकालाई विद्यालय जान उत्प्रेरित गर्नुभयो, शिक्षा आन्दोलन चलाउनुभयो उहाँले ।

यस दौरानमा ०२८ सालको स्नातक चुनावमा रुदाने हेडमास्टरी छोडेर मैदानमा उत्रिनुभयो । निर्णय लिनमा केही ढिलाइ गरेकाले उहाँ झिनो मतले पराजित हुनुभयो । सोही वर्ष एउटा गजबको घटना घट्यो । देउघाटमा आफ्ना एक नातेदारको चूडाकर्म चलिरहेको बेला अचानक त्यहाँ देखिनुभएका रुदाने सुरुमा स्वाभाविक कुरा गर्दागर्दै पछि अस्वाभाविक अभिव्यक्तिका साथ निर्वस्त्र भई नारायणी नदीमा फाल हान्नुभयो । भागदौड चल्यो । रुदाने डुबेकोडुब्यै भए भन्ने ठानियो, चूडाकर्म बिथोलियो । रुदाने अब बिते भन्ने ठानिएकै बेला वर्ष दिनपछि उहाँ ०२९ सालमा पूरै जोगीको भेषमा नारायणघाटमै प्रकट हुनुभयो । त्यहीबेला हो उहाँले मेरो साबिकको नाम नै फेरेर ‘रणसङ्ग्राम’ राखिदिएको ।

आफूले पालुङमा स्थापना गरेको जनकल्याण स्कुलको दयनीय हालत देखेर ०३० सालमा उहाँले ‘स्थानीय कर’ व्यवस्थाको अभ्यास गर्नुभयो । पुन: स्कुल सुचारु भयो, गाउँको विकास अभियान अघि बढ्यो । व्यावसायिक शिक्षा अभियान सुरु भयो । तर, स्थानीयदेखि राज्यका फटाहाहरूले उक्त सुधार अभियान देखिसहेनन् । रुदाने एकप्रकारले विरक्तिँदै सिमभञ्ज्याङ गएर बाख्रा पाल्न थाल्नुभयो । गोठालेजीवनका क्रममा बाख्रा पाल्ने विधिको अध्ययन गर्नुका साथै वनस्पति र पर्यावरणको समेत सूक्ष्म अध्ययन थाल्नुभयो उहाँले । यसपछि दामन टावरमा होटेल–रेस्टुरेन्ट सञ्चालन गर्नुभयो रूपचन्द्रले ०३२ सालतिर । उहाँले आफूलाई रुदाने (रूपचन्द्र दामन नेपाल) नामबाट चिनाएको पनि यसैताक हो । यसक्रममा विदेशी पर्यटकहरूसँग उहाँको सङ्गत भयो । टेलिस्कोपको माध्यमबाट खगोलको अध्ययन गर्नेदेखि अनेक प्रकारका साधनामा लिप्त रहने कर्म गर्नुभयो । ०३६ सालको बहुदल–निर्दल चुनावको बेला उहाँ नीलो वस्त्रमा हिँड्नुभयो तर मुखले केही बोल्नुभएन । उक्त चुनावपछि पञ्चायतले आफूलाई ‘सुधारिएको पञ्चायती व्यवस्था’ भन्ने नाम दियो र केही खुकुलिएको उक्त परिवेशको उपयोग गर्ने रणनीतिअन्तर्गत ०३८ सालमा जसरु (जनमुखी सहकर्मी रूपचन्द्र विष्ट) भनेर उहाँले राष्ट्रिय पञ्चायतमा उम्मेदवारी दिनुभयो । थाहा दर्शन, जनमुखी राजनीतिको घोषणा त्यही चुनावको बेला प्रमुखताका साथ अघिसार्नुभयो रुदानेले ।

जति जनअधिकार बढ्छ त्यति विकास हुन्छ भन्ने मान्यता राख्ने उहाँ शासनमा अन्याय, अत्याचार, भ्रष्टाचार र जनअधिकारमा इन्साफ, विकास, प्रगतिजस्ता कुरा जनताबीच राख्नुहुन्थ्यो । जनताले चुनेका प्रतिनिधि जनताकै अधीनमा हुनुपर्छ र हरेक जनसाधारणले भाव, विचार र व्यवहारबाटै जम्मै जनसाधारणको हित खोज्नुपर्छ भन्ने उहाँको अटल अभिव्यक्ति थियो । थाहा दर्शनको सूत्रका रूपमा उहाँ यसरी बुझाउन खोज्नुहुन्थ्यो– ‘ध्यान भाव विचार व्यवहार, निस्पक्ष सक्रियताको अभ्यास, जीवन जगत् अवस्था व्यवस्था आवश्यकता, सत्य इन्साफ अधिकार विकास प्रगति ।’ जनताले चुनेका प्रतिनिधिले जनतामाझ कबुल गर्नुपर्छ, तिनलाई फिर्ता ल्याउने कि त्यहाँ राख्ने अधिकार जनतालाई नै हुनुपर्छ । व्यवहारमै यस्तो हुनुपर्छ न कि कागजी सिद्धान्तमा, जनताको प्रतिनिधिमाथि, प्रतिनिधिको प्रहरीमाथि, प्रहरीको अपराधीमाथि र अपराधीको सुध्रिने स्वतन्त्रतामाथि अधिकार हुनुपर्छ, यस्तो व्यवस्था कायम गर्नुपर्छ भन्नेमा रुदानेको वकालत रह्यो जीवनको अन्तिम अवस्थासम्म । हामी यतिबेला जनतामा सार्वभौमसत्ता निहित रहेको ठूला कुरा त गर्छौं तर व्यवहारत: जनतालाई यस्ता कुनै अधिकार भने रहेको पाइन्न । जनमुखी राजनीतिमा त जनता नै सर्वोच्च हुन्छ, रुदानेले व्यवहारमै यो अवलम्बन गर्नुभएको थियो । अहिले स्वायत्त शासनका कुरा हामी गरिरहेछौँ, त्यो त चार दशकअघि नै उहाँले प्रयोग गरिसक्नुभएको थियो ।

जनमुखी सहकर्मी रूपचन्द्र (जसरु)का रूपमा उहाँले आफ्ना सोच, धारणा र अभिव्यक्ति जनतामाझ राख्नुभयो । जनताले अनुमोदन गरे, जनअनुमोदित कुरालाई उहाँले सदनमा लगेर प्रस्तुत गर्नुभयो, सदनले कसरी त्यसलाई लियो– त्योचाहिँ रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र)का रूपमा पुन: जनतासम्म लैजाने पुल बन्नुभयो उहाँ । प्रतिनिधि भनेको पुल मात्रै हो भन्दै उहाँ आफूलाई सहायक मात्र ठान्नुहुन्थ्यो, मुख्य पात्र त छाप्रामा छन्, तिनलाई जगाउनुपर्छ भन्ने उहाँको मान्यता र अठोट थियो । व्यवस्था निर्दलीय भए पनि राजनीति बहुदलीय थियो उहाँको ०३८–०४३ को दौडानमा । शासकको अधिकार कटौती हुनुपर्छ र त्यो जनतामा निहित रहनुपर्छ भन्ने उहाँको मान्यताविपरीत मुलुकमा यतिबेला नेताहरू सर्वशक्तिमान र मैमत्त बनेका छन् । जनताको हाल बेहाल छ । जनमुखी राजनीतिबाट दल र नेताहरू टाढिँदै छन् । रुदानेले त आफ्नो ०२८ सालको घोषणापत्रमै भनेका छन्– होइन कसैको टाउको कसैको दास † अर्थात् कसैको टाउको कसैको मालिक हुन सक्दैन । अहिले लोकतन्त्र भनिएको छ लुटतन्त्र चलेको छ । भीडतन्त्र छ गुणतन्त्र छैन । यस परिवेशमा रुदानेको जीवन–व्यवहारतिर एकपटक फर्केर हेर्नु अपरिहार्यजस्तै बनेको छ ।

०४६ पछि शासनसत्ताका हर्ताकर्ताहरूले रूपचन्द्रलाई बाइपास नगराएसम्म आफूहरूको लुटतन्त्र सफल हुन सक्दैन भन्ने सोचका साथ उनलाई बदनाम तुल्याउने, निष्क्रिय बनाउने चाल चले । उहाँको राजनीतिलाई नै सखाप पारिदिने षड्यन्त्र गरे । आमजनताले रुदानेको राजनीति बुझ्न पाएका छैनन्, यदि बुझ्न पाए भने फेरि यहाँ जनमुखी राजनीति सुरु हुन्छ भन्ने मलाई लाग्छ ।

० के रुदाने दर्शन नेपाली समाजमा स्थापित होला ?
Sangramsing Bista
बुद्ध दर्शन बुद्धको देहावसानको लगभग दुई सय वर्षपछि मात्रै प्रचारमा आयो, क्राइष्ट बितेको एक–डेढ सय वर्षपछि मात्रै क्रिश्चियन धर्मको प्रादुर्भाव भएको इतिहास छ । मुलुकमा जनमुखी राजनीतिको विकल्पै छैन, अन्तत: रूपचन्द्र विष्टको सोच व्यवहारमा आउँछ–आउँछ । किनकि, जनशक्ति जनहितका लागि हुनैपर्छ, मानिसमा जति चेतना जाग्दै गयो त्यति नै जनमुखी बन्दै जान्छ । यसका लागि कति वर्ष, दशक या शताब्दी लाग्छ भन्नेचाहिँ अहिले भन्न सकिँदैन ।

बुद्धको जन्मथलो लुम्बिनीमा बुद्ध धर्मावलम्बी भेटिँदैनन्, शाक्यवंशी क्षेत्री पनि पाइन्नन् । कालान्तरमा जनहितका शत्रुहरूले तिनका सिकार गरे । त्यस्तै नियति यतिबेला दामन पाख्रिन इलाकामा भएको छ । कालाधन ओइरिएका छन् । रुदानेको विचारलाई मार्न एनजीओ/आईएनजीओहरू सल्बलाएका छन् । रुदानेका चेला हौँ भन्दै केही व्यक्ति धन, मान, मोज खोसाखोसको होडमा छन् । रुदानेको कुनै गुरुचोलाको सम्बन्ध हुन्थेन, उहाँले न कुनै गुरु थाप्नुभयो न कसैलाई चेला नै बनाउनुभयो । तर, आफूलाई ‘चेला’ भन्दै कालाधन थुपार्ने फटाहाहरू ठग्नेहरू पनि देखिएका छन् ।

अन्त्यमा रणसङ्ग्राम भन्छन्, ‘मानिस संयोगले होइन आवश्यकताले जन्मेको हुन्छ भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो । मान्छे धर्तीमा किन आएको ? त्यो बुझ्न खोजौँ † त्यो बुझ्ने माध्यम भनेको ‘थाहा’ हो । त्यो ध्यान हो, भाव हो, त्यो विचार र व्यवहार हो, निस्पक्ष सक्रियताको अभ्यास हो । जीवन जगत् अवस्था व्यवस्था आवश्यकता हो, सत्य इन्साफ अधिकार विकास प्रगति हो । यसमा साधना गरौँ, साधना गरेपछि शक्ति जाग्दछ, शक्ति जागेपछि तपाईंभित्र प्रेम प्रकट हुन्छ । इमान विवेक नियतमा प्रेम जाग्छ । प्रेमको राजनीति नै जनमुखी राजनीति हो । हरेक जनसाधारणले सबैलाई प्रेम गर्ने, हित गर्ने भाव विचार र व्यवहार अँगाल्नुस्– जनमुखी राजनीति सुरु हुन्छ ।’