संसद् विकास कोष, लाग्छ कहाँ पोष ?

संसद् विकास कोष, लाग्छ कहाँ पोष ?


Puspa-Top

जनताले मतदान गरी संविधानसभामा पुर्‍याएका जनप्रतिनिधिले संसद् विकास कोषबाट कति रकम प्राप्त गरी कसरी खर्च गराएका छन् भन्ने विषयमा आमनागरिकले चासो दर्शाउनु आवश्यक ठानिएको सन्दर्भमा आर्थिक वर्ष ०६५/६६ देखि ०६८/६९ सम्म अर्घाखाँचीमा संसद् विकास कोषको रकम कहाँ, कति र कसरी खर्च गरियो भनी खोजीनिती गर्नु स्वाभाविक हुन आउँछ । जिल्लाको क्षेत्र नम्बर एकबाट सो समय संविधानसभामा पुगेका निवर्तमान उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफू जन्मिएको अर्घा गाविसमा रायमाझी कुलायन गौरो निर्माणका लागि रु. २ लाख, घोर्लासी सामुदायिक सहकारी संस्थाका लागि रु. १ लाख, रजस्थल माविको फिल्ड निर्माणका लागि रु. १ लाख र अर्घा गाविसकै सन्धिखर्क–धरमपानी–रशिचौर–भण्डार मोटरबाटोका लागि रु. ५ लाखसहित जम्मा नौ लाख अर्थात् उक्त शीर्षकको बजेटबाट २४ प्रतिशत खर्च गरेको देखियो ।

त्यसैगरी अर्घासँग जोडिएको बागी गाविसका लागि टारी–आरुखोर मोटरबाटोका लागि एक लाख ३५ हजार, शीतलधार्नी–पँधेरा–सिद्धकाथान–रानीवन मोटरबाटोका लागि चार लाख, अल्गाटारी–आरुखोर–अल्सामारी मोटरबाटोका लागि दुई लाख ३५ हजार, बागी–बजेरी–भेडी राख्ने मोटरबाटोका लागि एक लाख ८५ हजार, आरुखोर–नेटा–पातलकटेरी–बुढीचौर मोटरबाटोका लागि चार लाख ५० हजार र शान्ति माविमा फिल्ड निर्माणका लागि एक लाख गरी जम्मा रु. १५ लाख ५० हजार अर्थात् जम्मा बजेटको ४० प्रतिशत रकम खर्च गरेका रहेछन् । यसैप्रकार, गोखुङ्गा गाविसअन्तर्गत गोखुङ्गा–हल्दे खानेपानीका लागि तीन लाख २५ हजार अर्थात् जम्मा बजेटको नौ प्रतिशत अनि मरेङ गाविस वडा नम्बर १ को खानेपानीका लागि दुई लाख र देउराली–बुढीचौर मोटरबाटोका लागि ५० हजार अर्थात् जम्मा बजेटको करिब सात प्रतिशत र सार्वजनिक उमावि छत्रगन्जमा गेट निर्माणका लागि लुई लाख दिएर सो गाविसमा पनि पाँच प्रतिशतको योगदान पुर्‍याएको देखियो ।

जनता निमाविको फिल्ड निर्माणमा एक लाख ६० हजार र काफलखर्क–नेपालीटोला खानेपानीका लागि एक लाख ५० हजार खर्च गर्दा हंसपुर गाविसले जम्मा बजेटको करिब ८ प्रतिशत प्राप्त गरेको देखिन्छ । देउराली कुटीचौर खेलमैदानका लागि एक लाख ५० हजार प्राप्त गरेको भगवती गाविसले चार प्रतिशत र इमाम्बडा निर्माणका लागि रु. एक लाख प्राप्त गरेको चिदीका गाविसलाई करिब तीन प्रतिशत बजेट प्राप्त गर्न सफल गाविसका रूपमा लिनुपर्ने देखिन्छ । कन्टिजेन्सीमा ६० हजार र प्रशासनिकमा गरिएको दुई लाख खर्चलाई कुल बजेटमा घटाएर मात्र माथिको हिसाब निकालिएको हो । सूचनाको हकलाई प्रयोग गरी जिल्ला विकास समितिको कार्यालय अर्घाखाँचीबाट मिति २०७१ माघ १५ गते प्राप्त च.नं. ११२७ को सूचना अध्ययन गर्दा सभासद् रायमाझीको क्षेत्रमा रहेका साविक १९ वटा गाविसमध्ये ४ वर्षभित्र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ११ वटा गाविसले चारआना प्राप्त नगरेको देखियो । जसअन्तर्गत डिभर्ना, धारापानी, किमडाँडा, बल्कोट, बाङ्ला, ढाकावाङ, खन, केरुङ्गा, अर्घातोष, ठूलापोखरा र खनदह गाविस रहेका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ बाट सो अवधिमा संविधानसभामा पुगेकी काङ्ग्रेस नेतृ पुष्पा भुसालले प्राप्त गरेको संसद् विकास कोषको रकम आर्थिक वर्ष ०६५/६६ देखि ०६८/६९ सम्ममा बीपी स्मृति भवन मर्मतका लागि सात लाख र गणेशमान स्मृति प्रतिष्ठानका लागि रु. एक लाख पचास हजार खर्च गरेको देखियो । महिला सशक्तीकरण तालिमका लागि जिल्लाको ठाडा, सन्धिखर्क, मैदान, खिदिम र खिल्जी गाविसका लागि दुई चरणमा चार लाख ५५ हजार, विभिन्न गाविसमा अनुशिक्षण तालिम शीर्षकमा दुई लाख र महिला स्वास्थ्य प्रजनन तालिम पोखराथोक स्वास्थ्य केन्द्रका लागि ७० हजार खर्च भएको बुझियो ।
त्यसैगरी जिल्लाका ४० वटा विद्यालयमा फर्निचर दराज वितरणमा चार लाख ६५ हजार, विधा विकास निमावि नरपानी, प्रभाकर मावि सिमलपानी र जनप्रिय मावि खिल्जीमा फर्निचर खरिदका लागि रु तीन लाख अनि देवीप्रभा मावि पटौटी तथा कृष्ण मावि मैदानको मर्मत तथा हल निर्माणका लागि जम्मा दुई लाख र जनसेवा प्रावि अडगुडीको फिल्ड निर्माणका लागि ५० हजार उहाँमार्फत खर्च भएको बुझियो । ठाडा–पोखेडाँडा–मुस्लेघाट तथा पोखेडाँडा–पदमे–पखेरे र पणेना बतासे–खिदिम–आम्बोट मोटरबाटोका लागि रु. तीन लाख तथा विभिन्न खानेपानी मर्मत, पाइप खरिद शीर्षकमा ६ लाख, कोप्चेबास–पानीमाडेगौरा ठाडाको खानेपानीका लागि रु. एक लाख, सिउडेनी डाँडा खानेपानी नुवाकोट ३, १ का लागि गरिएको रु. ५० हजार र मनलाते खानेपानी मैदान ७ का लागि ८० हजार खर्च भएको रहेछ । साझा फूलबारी विकास प्रतीक्षालय जुकेना ५ का लागि रु. ५० हजार र प्रशासनिक तथा कन्टिजेन्सीमा रु. दुई लाख ३० हजार खर्चलाई आधार बनाउँदा जम्मा रकम रु. ४० लाख खर्च भएको जानकारी मिल्यो ।

तत्कालीन सभासद् पुष्पा भुसालद्वारा गरिएको खर्च शीर्षकमध्ये गणेशमान स्मृति प्रतिष्ठान पनि अर्घाखाँची जिल्लामा रहेछ भन्ने जानकारी प्राप्त भएको छ । यस विषयमा केन्द्रित भई नेपाली काङ्ग्रेसका जिल्ला नेता वासुदेव आचार्यसँग जिज्ञासा राख्दा नेपालका अधिकांश जिल्लामा गणेशमान स्मृति प्रतिष्ठान रहने क्रममा अर्घाखाँचीमा पनि कहीँकतै उक्त प्रतिष्ठान हुन सक्छ, तर समितिमा को छ र रकम के गरियो भन्ने विषयमा आफू अनभिज्ञ रहेको उनले बताए । नेपाली काङ्ग्रेसका पूर्व जिल्ला कमिटी सचिवसमेत रहेका आचार्यले बीपी स्मृति भवन भनेको नेका पार्टी कार्यालय नै भएको र सोका लागि आएको रकम पनि कसले केमा खर्च गर्‍यो भन्ने खोजीको विषय रहेको जानकारी दिए ।
– मुक्तिनाथ भुसाल