‘मैले छाती फुलाउन कहिले पाउने ?’

‘मैले छाती फुलाउन कहिले पाउने ?’


राम अवाले

नेपाल बक्सिङ सङ्घको निर्वाचन सम्पन्न भएको अहिले एक महिनाभन्दा बढी समय भइसकेको छ । नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष राजीव श्रेष्ठको अगुवाइ र नेतृत्वमा भएको उक्त निर्वाचन सङ्घको विधानअनुरूप भएको थियो । बिनाविवाद सम्पूर्ण जिल्लाका प्रतिनिधिको उपस्थितिमा बक्सिङ सङ्घको निर्वाचन सम्पन्न भएको थियो । तर, विडम्बना, अहिलेसम्म उक्त निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको छैन । मान्यता नदिनुको कारण पनि राखेपले बताएको छैन । सुनिनमा आएअनुसार राखेपको स्वीकृतिबेगर निर्वाचन गरेकाले मान्यता नदिएको बुझिएको छ । तर, पूर्वअध्यक्ष राजीव श्रेष्ठले बक्सिङ सङ्घको निर्वाचनका लागि राखेपले एक महिनाअघि नै स्वीकृति दिएको बताएका छन् । आफूसँग राखेपले दिएको स्वीकृतिपत्र पनि सुरक्षित रहेको बताएका छन् । श्रेष्ठले वैधानिक र लोकतान्त्रिक तरिकाले भएको बक्सिङको निर्वाचनलाई राखेपले किन मान्यता दिन आनाकानी गरेको हो त्यो आफूले बुझ्न नसकेको बताएका छन् । राम अवालेलाई बक्सिङ सङ्घको अध्यक्ष बनाउन राखेपले ठूलो रोल प्ले गरे पनि के कारण र कसको दबाबमा अहिलेसम्म मान्यता नदिएको त्यो चर्चाको विषय बनेको छ ।

प्राप्त जानकारीअनुसार अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका कारण अवालेलाई राखेपले मान्यता नदिएको बुझिएको छ । श्रेष्ठले आफूले चाहेको व्यक्ति सङ्घको अध्यक्ष नभएका कारण अवालेलाई मान्यता नदिन सदस्यसचिव विष्टलाई दबाब दिइरहेको बुझिएको छ । यो विषयमा सदस्यसचिव विष्टसँग सम्पर्क गर्दा उनले बक्सिङ सङ्घको निर्वाचनलाई चाँडै मान्यता दिने बताएका छन् । अहिले प्रक्रिया अगाडि बढिरहेको छ, केही समयपश्चात् नै राखेपले बक्सिङ सङ्घलाई मान्यता पाउने बताएका छन् । आफूलाई कसैले दबाब नदिएको प्रस्ट पार्दै विष्टले समयाभावले ढिलो भएको जानकारी दिएका छन् । निर्वाचन पूर्ण लोकतान्त्रिक तरिकाले भएकोले अब अवालेलाई मान्यता नदिए कसले दिने भन्दै विष्टले चाँडै मान्यता पाउने बताएका छन् । स्मरण रहोस्, बक्सिङ सङ्घको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल र सदस्य सैलेश कर्माचार्यलगायत सदस्यको उपस्थिति रहेको थियो । सो अवसरमा कोषाध्यक्ष हमालले बक्सिङ सङ्घको निर्वाचन वैधानिक भएकाले राखेपले मान्यता दिनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै, वर्तमान नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले आफ्नो निर्वाचित कमिटीलाई अहिलेसम्म राखेप र नेपाल ओलम्पिक कमिटीले मान्यता नदिएकाले आफूले बक्सिङको विकासका लागि खुलेर कार्य गर्न नपाएको बताएका छन् । सङ्घले बक्सिङ खेलको समग्र विकासका लागि वार्षिक क्यालेन्डरसमेत निकालिसकेको अवस्थामा अहिलेसम्म राखेपले मान्यता नदिनु विडम्बनाको विषय बनेको छ । आफू बक्सिङ सङ्घको निर्वाचित अध्यक्ष भए पनि अहिलेसम्म छाती फुलाएर त्यसो भन्न नपाएकोमा दु:खेसो प्रकट गर्दै अध्यक्ष अवालेले के कारणले आफूहरूलाई मान्यता नदिएको हो आफूले बुझ्न नसकेको बताए । निर्वाचनपश्चात् मान्यताका लागि सङ्घका पदाधिकारीले उहिल्यै राखेपमा निवेदन दिएको स्मरण गराउँदै किन ढिला गरेको हो त्यो आफ्नो समझभन्दा टाढा भएको अवालेले बताएका छन् ।

राखेपले औपचारिक रूपमा अवालेको बक्सिङ सङ्घलाई मान्यता नदिए पनि पत्राचार भने अवालेसँग गर्दै आएको छ । यसबाट के पुष्टि हुन्छ भने कहीँ–कतै जस्तो खिचडी पाके पनि राखेप अवालेप्रति सकारात्मक रहेको देखिन्छ । अन्यथा हालै राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा अवालेलाई बक्सिङ सङ्घको अध्यक्षको रूपमा कदापि निमन्त्रणा गरिने थिएन । राखेपले आयोजना गरेको उक्त कार्यक्रममा अवालेले राष्ट्रिय प्रतियोगिता र १३औँ सागको तयारीका लागि सुझाबसमेत दिएका थिए । सो अवसरमा अवालेले सदस्यसचिव विष्टसमक्ष बक्सिङ सङ्घको नवनिर्वाचित कार्यसमितिले मान्यता नपाएको बताउँदै आफूले छाती फुलाएर अध्यक्ष भन्न नपाएको कुरो राखेका थिए । सो अवसरमा विष्टले तपाईंलाई मान्यता नदिएर कसलाई दिने त भन्दै आफ्नो काममा ध्यान दिन अवालेलाई भनेका थिए ।