बजेट सिध्याउन असार मसान्तको शुभसाइत !

बजेट सिध्याउन असार मसान्तको शुभसाइत !


– श्रीविक्रम भण्डारी

दुईपटक मिति तोकिएर पनि स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले बजेट छुट्याएपछि सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुने प्राय: निश्चित भएको छ । सोही कुरालाई मध्यनजर गर्दै हालै राष्ट्रिय खेलकुद परिषद्ले आगामी सातौँ राष्ट्रिय प्रतियोगिता तथा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) गेमको सन्दर्भमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । आर्थिक वर्षको अन्तिम दिन असार मसान्तको साइत पारेर गरिएको उक्त कार्यक्रम बजेट सिध्याउनका लागि आयोजना गरिएको हो कि साँच्चिकै सातौँ राष्ट्रिय र १३औँ सागप्रति संवेदनशील भएर गरिएको हो त्यो आफैँमा प्रश्नवाचक बनेको छ । अन्यथा असार मसान्तको दाउ छोपेर हतारहतारमा यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुपर्ने जरुरी थिएन । ‘हतपतको काम लतपत’ हुन्छ भन्छन्, भविष्यमा यो कार्यक्रमको आयोजना पनि औचित्यहीन भयो भने त्यसलाई अन्यथा मान्नुपर्ने छैन । र पनि, राखेपका सदस्यसचिव केशवकुमार विष्टले तयारीको जटिलता र मुलुकको मान, सम्मान र प्रतिष्ठा दाउमा लागेको बेला अहिल्यैदेखि तयारी नगरे कहिलेदेखि गर्नेभन्दा राखेप सातौँ राष्ट्रिय र १३औँ सागप्रति गम्भीर रहेको आत्मसात् भने गर्न सकिन्थ्यो ।

तर, उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसको प्रतिनिधित्व गर्दै राखेपको पदाधिकारीका रूपमा आएका पाँचैजना सदस्यको अनुपस्थितिले गर्दा कार्यक्रमको औचित्यमाथि भने प्रश्न खडा गरेको थियो । स्मरण रहोस्, राष्ट्रिय मुद्दा बनेका दुवै प्रतियोगितामा काङ्ग्रेसका सदस्यको अनुपस्थिति आफँैमा सोचनीय बनेको छ । आफ्नो अनुपस्थितिबारे अहिलेसम्म ती सदस्यले कुनै जानकारी गराएका छैनन् भने राखेपले यसबारे ‘चुँ’समेत गरेको छैन । प्राप्त जानकारीअनुसार आफूलाई कार्यक्रम हुनु केही समयअघि मात्रै राखेपले थाहा दिएकाले कार्यक्रममा उपस्थित नभएको एक सदस्यले खुलासा गरेका छन् । उनले राष्ट्रिय महत्त्वको विषयमा राखेपले आफूहरूलाई बाइपास गरेको भन्दै त्यसको विरोधमा नगएको पनि बताएका छन् । साथै उनले राखेपको यस्तै रवैया देखाए आफूहरूले पनि प्रतिवाद गर्न जानेकोसमेत बताएका थिए । आफ्नो बहुमत पुग्ने भएकै कारण राखेपमा आफूहरूलाई बाइपास गर्दै आएको भन्दै ती सदस्यले समय बलवान छ, सबैको पालो आउने कुरामा आफू विश्वस्त रहेको बताए । हामीले चुपचाप एक वर्ष सदस्यसचिव केशवकुमार विष्टलाई सहयोग गर्‍यौँ । तर, उहाँले हाम्रो सहयोग र मौनताको फाइदा उठाउँदै हामीलाई थाङ्नामा सुताउने प्रयास गर्दै हुनुहुन्छ । उहाँको यस्तै व्यवहार रहे विष्ट र समग्र खेलकुदको विकासका लागि भविष्यमा हानिकारक हुने पक्का छ– उनको कथन थियो ।
केशवकुमार विष्ट
सरकारले सातौँ राष्ट्रिय प्रतियोगिताका लागि २० करोड रुपैयाँको बजेट छुट्याएपछि आगामी फागुनमा पूर्वाञ्चलमा सातौँ हुनेमा लालमोहर लागेको छ । तर, कहिलेदेखि कहिलेसम्म सातौँको आयोजना हुने भनेर मिति भने तोकिएको छैन । खेलकुदसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सरोकार राख्ने व्यक्तिहरूको पातलो उपस्थितिमा सदस्यसचिव विष्टले उक्त कुराको जानकारी गराएका थिए । पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय प्रतियोगिता ऐतिहासिक हुने प्रस्ट पार्दै विष्टले यो शुभारम्भ मात्र हो भन्दै भविष्यमा सातौँ र तेह्रौँ सागको सफल आयोजनाका लागि बृहत् अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिने बताएका थिए । उक्त कार्यक्रममा सम्पूर्ण राजनीतिक दल, खेलकुदका विशेषज्ञ, व्यापारी, खेलकुदका पदाधिकारी, सङ्घका पदाधिकारी, प्रशिक्षक, खेलाडी र सञ्चारकर्मीहरूको राय–सुझाव सङ्कलन गरिनेसमेत जानकारी गराएका थिए । स्मरण रहोस्, यो कार्यक्रममा सङ्घका पदाधिकारी, खेलाडी र प्रशिक्षकको न्यून सहभागिता रहेको थियो भने एमाले कार्यकर्ता र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो ।

‘सुधार र परिवर्तनका कुरा गर्दा सबैबाट प्रहार हुन्छ, बाधा, अड्चन र अवरोधको सामना गर्नुपर्छ,’ यो नेपालीको मौलिक प्रवृत्ति बनिसकेकोमा चिन्ता प्रकट गर्दै विष्टले सर्वप्रथम राम्रो काम गर्नेको खुट्टा तान्ने र नराम्रो कार्य गर्नेलाई स्याबासी दिने प्रवृत्ति सदाका लागि अन्त्य गरिनुपर्ने बताएका थिए । विष्टले खेलकुदमा आमूल परिवर्तनको आवश्यकता रहेको औँल्याउँदै खेलकुदमा आमूल परिवर्तनबिना सुधारको कल्पनासमेत गर्न नसकिने खुलासा गरेका थिए । त्यसका लागि सङ्कुचित मानसिकता र सोचलाई हटाएर खुला हृदयका साथ खेलकुदको विकासमा लाग्नुपर्ने प्रस्ट पारेका थिए । त्यसका लागि ‘दृढसङ्कल्प गरौँ र अगाडि बढौँ’ भन्ने विष्टको नारा थियो । तर, विडम्बना † यी कथनहरू सुन्नमा प्रिय र राष्ट्रिय भावनाले ओतप्रोत भए पनि एमाले पार्टीभित्रै चुलिएको गुटको राजनीतिले विष्ट बिचरा बन्दै आएका छन् । विष्टका हरेक राम्रा–नराम्रा कार्यमा त्यो गुटले दखलअन्दाजी गर्दा उनी पिँजडाका सुगा त होइनन् ? आशङ्का उब्जिएको छ ।

वर्तमान अवस्थामा सरकारले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि २० करोड दिएको र बजेटको समस्या समाधान भएको विष्टले बताएका छन् । राखेपले २३ करोड मागेको थियो, अहिले २० करोड प्राप्त भएको छ भन्दै यसले सातौँ राष्ट्रिय प्रतियोगिताको आयोजनालाई सुनिश्चित पारेको बताए । विगतमा सातौँको मिति तोकिसक्दा पनि बजेट अभाव र तराई–मधेसको आन्दोलनका कारणले स्थगित भएको बताउँदै विष्टले भने, ‘अब कुनै व्यवधान छैन, सातौँको आयोजना भव्य र ऐतिहासिक हुन्छ ।’ उनले सातौँको आयोजना अहिलेसम्मकै उत्कृष्ट हुने दाबी गरे । स्मरण रहोस्, राखेपको १०३औँ बोर्ड बैठकले २०७२ साल मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा राष्ट्रिय प्रतियोगिता हुने तय गरेको थियो । तर, बजेट अभावका कारण उक्त प्रतियोगिता स्थगित हुन पुगेको थियो । त्यसपछि राखेपको १०४औँ बोर्ड बैठकले प्रतियोगिता स्थगित भएको जानकारी गराउँदै फागुन १८ देखि २३ को मिति तोकेको थियो । तर, मधेस आन्दोलन र बजेटको अभावका कारण उक्त मितिमा पनि सातौँ राष्ट्रिय प्रतियोगिताको आयोजना हुन सकेको थिएन । यसरी छनोट चरणका सम्पूर्ण प्रतियोगिता सकिँदासमेत खेलाडी सातौँमा प्रतिस्पर्धा गर्नबाट वञ्चित बनेका थिए । परिणाम १२औँ सागमा खेलाडीलाई हचुवाको भरमा लानुपरेको थियो । उदीयमान र प्रतिभाशाली खेलाडी छायामा परेका थिए । सो कुरालाई १२औँ सागमा नेपाली खेलाडीले गरेको प्रदर्शनको विश्लेषण गर्दा नै पर्याप्त हुन्छ ।

त्यस्तै सो अवसरमा सदस्यसचिव विष्टले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) २०१८ को फेब्रुअरीमा गरिनेसमेत जानकारी गराएका थिए । नेपालमा १३औँ सागलाई सफलताका साथ सम्पन्न गर्न सरकारले जस्तोसुकै पनि सहयोग गर्ने वचनबद्धता गरेका कारण आफू निकै उत्साहित भएको बताए । ‘हामीले १३औँ साग फेब्रुअरीमा गर्ने र त्यसको तयारीका लागि सरकारलाई जानकारी गराइसकेका छौँ । अब सरकारले १३औँ सागको मूल आयोजक समिति गठन गर्नासाथ त्यसको कार्यान्वयन पक्षमा लाग्छौँ,’ विष्टले भने, ‘सरकारले नेपालले आयोजना गर्ने १३औँ सागका लागि जति पनि खर्च दिने भनेको छ, त्यसैले हामी निकै उत्साहित छौँ । सरकारले मूल आयोजक समिति गठन गर्नासाथ हामी युद्धस्तरमा यसको तयारीमा लाग्नेछौँ । मुलुकको विषम परिस्थितिमा समेत नेपाललाई खेलकुदप्रेमीको देशको रूपमा चिनाउने प्रयास गर्नेछौँ ।’ सदस्यसचिव विष्टको प्रतिबद्धता आफैँमा सकारात्मक भए पनि १३औँ सागको आयोजना आफँैमा चुनौतीपूर्ण हो भन्दा अतिसयोक्ति नहोला । यसका लागि व्यक्तिविशेष र राखेप मात्र नभई सिङ्गो राष्ट्र लाग्नुपर्छ । १३औँ सागलाई नेपालको मान, सम्मान र प्रतिष्ठामा मात्र सीमित नराखी हरेक नेपालीले आफ्नो प्रतिष्ठाको विषय बनाउनुपर्छ । अन्यथा भूकम्पको चपेटाबाट अझै मुक्त हुन नसकेको मुलुकले १३औँ सागको आयोजना समयमै गर्छु भन्नु दिवास्वप्न देख्नु मात्रै हो ।