एचआईभी सङ्क्रमितप्रति समर्पित ‘मोडर्न बेली’ बजारमा

एचआईभी सङ्क्रमितप्रति समर्पित ‘मोडर्न बेली’ बजारमा


‘मोडर्न बेली’

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले अबको साहित्यलेखन नेपाली पाठकलाई मात्र नभएर देश–विदेशका पाठकले पढ्ने स्तरको हुनुपर्ने कुरामा जोड दिनुभएको छ । संस्कृतिविद् जोशीले यसका लागि राज्यले प्रज्ञा प्रतिष्ठानलाई उचित रकम व्यवस्था गरेर अनुवाद गरी संसारभर फैलाउनुपर्ने बताउनुभयो ।
युवा साहित्यकार एवम् पत्रकार बी.एन. जोशीको ‘मोडर्न बेली’ नामक उपन्यासको विमोचन गर्दै संस्कृतिविद् जोशीले रूपमती उपन्यासबाट सुरु भएको यात्रा मोडर्न बेलीसम्म आइपुग्दा धेरै माया, प्रेम, विछोड, खुसी, पीडाका कथा लेखिए, तर अब माया र विछोडका मात्र होइन मुलुकको संस्कृतिबारे उपन्यास लेखिनुपर्ने कुरामा विशेष जोड दिनुभयो । साहित्यकार जोशीलाई प्रोत्साहन दिँदै यात्रा अगाडि बढाइरहँदा आफू जन्मेको माटोको संस्कृतिबारे पनि सोच्न उहाँले आग्रह गर्नुभयो ।

विमोचन समारोहमा सङ्क्षिप्त समीक्षा गर्दै प्राध्यापकक ज्ञानु अधिकारीले हरेक पुस्तकका आ–आफ्नै पाठक हुन्छन् तर यो कृति ज्यादै सरल भाषामा देखेर लेखेजस्तै भएकाले अत्यधिक पाठकले यसलाई मन पराउने कुरामा आफू आशावादी रहेको बताउनुभयो । एचआईभी एड्सबारे चेतनाका अभिमुखीकरण तालिम दिँदै जाने प्रशिक्षकसमेत एड्स सङ्क्रमित भएको कथा राखेर हाम्रो समाजमा हुने गरेका आदर्शलाई ऐनाझैं छर्लङ्ग पार्न खोजिएको प्रा. ज्ञानुको कथन थियो ।

पुस्तक र लेखकका विषयमा बोल्दै अर्का प्राध्यापक निर्मलमणि अधिकारीले लेखकसँग आफू एउटै पँधेरोको पानी खानेदेखि एउटै विद्यालयमा पढ्दै, खेल्दै आएकाले पूर्ण परिचित भएको उल्लेख गर्दै सर्जक जोशीलाई आफूले क्रियाशील लेखकका रूपमा पाएको बताउनुभयो । जोशीका यसअघि प्रकाशित दुई उपन्यासभन्दा मोडर्न बेली निखारिएर आएको उहाँको कथन थियो ।

नेपालका पचास हजारभन्दा बढी एचआईभी–एड्स सङ्क्रमितप्रति समर्पित गरेर बजारमा ल्याइएको मोडर्न बेली उपन्यासका लेखक बीएन जोशी रामराज पन्त सम्मान पुरस्कार २०६५ र गीतल प्रतिष्ठान तथा नाटक मञ्च २०७१ बाट सम्मानित भइसकेका लेखक हुन् । युवा साहित्य एवम् खेलकुदप्रति कलम चलाउन रुचाउने बीएन जोशीको मोडर्न बेलीले बजार पाउने आशा गरिएको छ ।