खेलकुदमा जिरो प्रतिशत भ्रष्टाचार !?

खेलकुदमा जिरो प्रतिशत भ्रष्टाचार !?


राखेपको नाम ‘गिनिज बुक’मा !!

राष्ट्रिय खेलकुद परिषद्

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विगत एक वर्षमा राखेपमा जिरो प्रतिशत भ्रष्टाचार भएको बताएका छन् । बिष्टले जग हँसाउन यस्तो भनेका हुन् कि साँच्चिकै खेलकुदमा जिरो प्रतिशत भ्रष्टाचार भएको हो ? अहिले चर्चाको विषय बनेको छ । विगत एक वर्षमा राखेपमा एक रुपैयाँको पनि भ्रष्टाचार नभएको राखेप मुलुकको एक मात्र संस्था भएको विष्टले दाबी गरेका छन् । खेलकुदमा भ्रष्टाचार नभएर विष्टले यस्तो दाबी गरेका हुन् कि सबैभन्दा बढी भ्रष्टाचार हुने निकाय राखेप हो भने सङ्केत गर्न खोजेका हुन् त्यो अहिले बुझिनसक्नु भएको छ । अन्यथा हरेक दिन अख्तियार दुरुपयोग अनुसन्धानबाट भ्रष्टाचार गरेको आरोपमा राखेपमा कसरी पत्र आउँछ त्यो आफैँमा प्रश्नवाचक बनेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा अख्तियारले हरेक दिन भ्रष्टाचार गरेको आरोपमा राखेपमा तीन–चारवटा पत्र पठाउँछ । तर, राखेप पुगेपछि ती पत्र कहाँ गायब हुन्छन् ? त्यो रहस्यमय बनेको छ । कसले भ्रष्टाचार गरेको थियो, राखेप या राखेपका कर्मचारी ? त्यसको अहिलेसम्म राखेपका पदाधिकारी र कर्मचारीले सुइँकोसमेत लाग्न दिएका छैनन् । तसर्थ अहिले प्रश्न खडा भएको छ– भ्रष्टाचारसम्बन्धी कुरा कसरी र कसले मिलाइरहेको छ त्यो खोजीको विषय बनेको छ । कतै अख्तियारका कर्मचारीको पनि यसमा मिलेमतो त छैन ? शङ्का–उपशङ्का गर्नु स्वाभाविकै भएको छ । अन्यथा अर्बौंको हिसाबकिताब राखिने ठाउँमा शून्य प्रतिशत भ्रष्टाचार हुनु आफँैमा विश्व कीर्तिमान होइन र ? यस्तो हो भने राखेपको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिनुपर्छ । यसको जानकारी विश्वभरका खेलकुदका संस्थालाई दिनुपर्छ । उनीहरूले पनि राखेपको यस्तो ऐतिहासिक अनि कीर्तिमानी उपलब्धिबारे पढ्न पाउनुपर्छ ।

राष्ट्रिय खेलकुदले औचित्य पुष्टि गर्न सक्ला ?
विगतमा आयोजना भएका राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको विश्लेषण गर्दा नाक नखुम्च्याउने र विरोध नगर्ने खेलकुदमा कमै भेटिएलान् । राजधानी काठमाडौंमा आयोजना भएका राष्ट्रिय प्रतियोगिता होस् या बाहिर सहरमा सबको आयोजना निकै फितलो थियो । साँचो रूपमा भन्नुपर्दा ती प्रतियोगिता राष्ट्रिय प्रतियोगिताजस्ता समेत थिएनन् भन्दा अतिसयोक्ति नहोला । यसरी अहिलेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिताका नामले मात्र राष्ट्रिय प्रतियोगितामा बन्न पुगेका छन् । यस्तो अवस्थामा पूर्वाञ्चलमा आगामी फागुनमा आयोजना हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुदप्रति प्रश्न उठ्नु स्वाभाविकै हो । के सातौँ पनि विगतका राष्ट्रिय प्रतियोगिताजस्तै गरी आयोजना गरिने त होइन ? अहिले चर्चा–परिचर्चा चलेको छ । तर, राष्ट्रिय राखेपका सदस्यसचिव केशवकुमार विष्टले विगतलाई स्मरण गरेर राष्ट्रिय प्रतियोगिताको गरिमामाथि आँच नपुर्‍याउन अनुरोध गरेका छन् । विगतमा के भयो त्यो बिर्सिनुहोस् भन्दै विष्टले पूर्वाञ्चलमा आयोजना हुने सातौँ ऐतिहासिक राष्ट्रिय प्रतियोगिता हुने भनेर दाबी गरेका छन् । टुँडिखेल, खुुलाचौर र बारीका कान्लामा प्रतियोगिता आयोजना हुनेछैन । सबै खेलहरू रंगशाला र कभर्डहलमा हुनेछन् । सबै खेलाडीले सातौँलाई वास्तविक रूपमा राष्ट्रिय खेल भएको अनुभव गर्नेछन् । यसका लागि पूरै सहरका बासिन्दा युद्धस्तरमा लागेको र सहयोगी हातसमेत बढाइरहेको विष्टले बताएका छन् । यस्तो अवस्थामा राष्ट्रिय खेलकुदले आफ्नो औचित्य पुष्टि गर्न सक्छ या सक्तैन ? नयाँ हिरो जन्माउन सक्छ या सक्तैन ? विष्टको कथन व्यवहारमा परिणत हुन्छ या हुँदैन त्यो प्रतीक्षाको विषय बनेको छ ।