दिल्ली सम्झौताका सूत्रधार नेहरू

दिल्ली सम्झौताका सूत्रधार नेहरू


SN Karki

– स्वयम्भूनाथ कार्की

राजा त्रिभुवन भारत गएपछि राणाले बनाएको राजालाई मान्यता दिन ब्रिटिस भारतलाई दबाब दिँदै थियो, तर नेहरू त्यो मान्यता दिए कमनवेल्थ छोड्ने धम्की दिँदै थिए । बीपीले ब्रिटेनमा लेबर पार्टीको सरकार भएकाले आफूलाई समर्थन गर्ने आशा गरेका थिए, तर भयो त्यसको विपरीत, परिच्छेद ३१मा उनी भन्छन्, ‘ब्रिटेनमा लेबर पार्टीको सरकार छ । लेबर पार्टी हामीलाई समर्थन गरिरहेको छैन, उनीहरूलाई (राणा) गरिरहेको छ ।’ कुनै पनि पार्टी विदेशी सरकारमा भए पनि आफूसँग सिद्धान्त मिल्नेभन्दा आफ्नो मुलुकको स्वार्थ मिल्नेलाई समर्थन गर्दछ भन्ने कुराको उदाहरण हो यो । कूटनीतिक तहबाट भारतले राजा त्रिभुवनलाई समर्थन गर्‍यो । बीपी भन्छन्, ‘उनलाई समर्थन गर्नुको मतलब हाम्रो आन्दोलनलाई समर्थन गरेको छ ।’ उनको यो भनाइले काङ्ग्रेसले गरेको आन्दोलन वा क्रान्तिमा राजा त्रिभुवनको के प्रभाव थियो त्यो प्रस्ट गर्छ । पार्टीमा मनमुटाव हुने डरले पचास लाख रुपैयाँ राजालाई जिम्मा लगाउने असफल प्रयास अनि भारतले गरेको राजा त्रिभुवनको समर्थन नै आन्दोलनको समर्थन हुने स्थितिले आफ्नोतर्फबाट त्यो क्रान्तिमा राजा त्रिभुवनको योगदान पनि बीपीले परोक्ष रूपमा स्वीकार गरेका छन् ।

नेपाली काङ्ग्रेसको आन्दोलनको तयारीसँगै नेहरूले चलाखीपूर्ण तरिकाले आन्दोलनका सबै पक्षमा आफ्नो बलियो पकड बनाउँदै थिए । यसै क्रममा नेहरूले पद्मशमशेरलाई नेपालको वैधानिक कानुन बनाउन सहयोग गर्न श्रीप्रकाशलाई पठाए । पद्मशमशेरलाई नेपाल फर्काउन बल गर्न बीपीलाई सम्झाए । दुवै कुरा असफल भएपछि बीपीलाई कहिले नरम कहिले गरम व्यवहार गरेर आफूअनुकूल बनाउने प्रयत्न निरन्तर गर्दै थिए । हतियार मगाउन दिए, नेपालको सिमानासम्म पुर्‍याउन पनि मद्दत गरे । तर, पचास लाख रुपैयाँ जफत गरे । बीपीले आपत्ति जनाउँदा उल्टै हपार्न पनि भ्याए । हतियार माग्दा पटका पनि दिन्न, बरु हत्कडी लगाउँछु पनि भने । राजालाई पाल्पा लैजाने काङ्ग्रेसको योजना परोक्ष रूपमा तुहाइदिए । परिच्छेद २७ मा बीपीले राजा बाहिर निस्केको बेला सम्पर्क गरेर गढीमा भगाएर ल्याउने टोलीको कुरा कसरी प्रकट भयो सबै समातिए र खुब पिटिए भनेका छन् । पछिका घटनाक्रम हेर्दा यो कुरा प्रकटमा कतै नेहरूको हात त थिएन भन्ने कुरालाई पनि बल पुग्छ । किनभने त्यसपछि राजा भारतीय दूतावासमार्फत नेहरूको पाहुना हुन पुगेका छन । नेहरूले पनि राजालाई हैदरावाद हाउसमा राखे । सम्झौताको कुरो नहुन्जेल बीपीले राजा भेट्न पाएनन् । सम्झौता हुने भएपछि राजा र बीपीको भेट सहज गराए ।

नेहरूले नजानिँदो किसिमले नेपाली काङ्ग्रेसको कमान आफ्नो हातमा पारेका थिए । जुन कुराको बलियो छनक परिच्छेद ३२ मा पाइन्छ । नेपाली काङ्ग्रेसको तर्फबाट को–को रहने र कुन–कुन विभाग कस–कसले लिने भन्नेमा पनि नेहरूको निर्देशनात्मक सल्लाहले धेरै काम गरेको छ । बीपीका अनुसार उनले नेहरूसँग रक्षा र गृहको माग गरेका थिए जसलाई नेहरूले सहजै पन्छाइदिए, सेनामा राणाको धेरै प्रभाव छ त्यसैले गृह लिएर पुलिसलाई सेनाजत्तिकै मजबुत बनाउन भनेर । सीपीएन सिन्हामार्फत बीपीलाई अर्थ र सुवर्णजीलाई गृह लिन आग्रह पनि गराए ।

यसरी बीपीको राजा भगाउने योजना तुहिएपछि राजा भारत सरकारको पाहुना लाग्न पुगे । बीपीकै शब्दमा ‘अब एउटा हतारको परिस्थिति हाम्रो सङ्घर्षमा आयो । राजासँग भेट्न पाइएको छैन । हिन्दुस्थानले पनि दिँदैन, राजाले पनि भेट्दैनन् । म कतिपल्ट दिल्ली गएँ, राजाका छोराहरूसँग भेट भयो, तर राजासँग भेट भएन । ‘हुन त राजाका छोराहरूसँगको भेटलाई पनि सार्थक बनाउन सकिन्थ्यो होला । तर, बीपीलाई नेहरूमार्फत नै भेट हुने वा सार्थक कुरा हुने सोच आएजस्तो देखिन्छ । नेहरूको गोप्य सहयोगले (उनले तोकेरै तीनजनालाई मात्र भरोसा गर्न भनेका छन्) हतियार नेपालको सीमाक्षेत्रमा पुर्‍याउने मात्र होइन गुप्तचरी सूचना पनि बीपीलाई उपलब्ध गराउने गरेका थिए । आफ्नो भीमफेदी कब्जा गर्न जाने योजनामा पटनाको आईजीले राणाका फौज कुच गरिसकेको (हिँडिसकेको) जानकारी पाएको बीपीले उल्लेख गरेका छन् । त्यसैको भरोसामा योजना रोकेर गल्ती भएको स्वीकार गरेका छन् । किनभने त्यो सूचना पछि गलत भएको छ । भारतीय प्रेसले पनि क्रान्तिलाई पूर्ण समर्थन गरेको थियो । यो कुरा बीपीले परिच्छेद ३१मा विजयशमशेरको भनाइको रूपमा उल्लेख गरेका छन्, ‘भारतीय प्रेसमा काङ्ग्रेसी बन्दुकभन्दा बढी आवाज निक्लन्छ ।’

यसरी नेहरूले नजानिँदो किसिमले नेपाली काङ्ग्रेसको कमान आफ्नो हातमा पारेका थिए । जुन कुराको बलियो छनक परिच्छेद ३२ मा पाइन्छ । नेपाली काङ्ग्रेसको तर्फबाट को–को रहने र कुन–कुन विभाग कस–कसले लिने भन्नेमा पनि नेहरूको निर्देशनात्मक सल्लाहले धेरै काम गरेको छ । बीपीका अनुसार उनले नेहरूसँग रक्षा र गृहको माग गरेका थिए जसलाई नेहरूले सहजै पन्छाइदिए, सेनामा राणाको धेरै प्रभाव छ त्यसैले गृह लिएर पुलिसलाई सेनाजत्तिकै मजबुत बनाउन भनेर । सीपीएन सिन्हामार्फत बीपीलाई अर्थ र सुवर्णजीलाई गृह लिन आग्रह पनि गराए । यसमा भने बीपीले गृह आपैँmले लिने कुरा कायम भयो । यो कुरा सीपीएन सिन्हाको बदला नेहरूले नै भनेका भए सम्भव थियो सुवर्णजी गृहमन्त्री र बीपी अर्थमन्त्री हुने थिए । हस्तक्षेप यति धेरै थियो कि बीपी सोही परिच्छेदमा अगाडि भन्छन्, ‘जब म नेता छु आफ्नो समूहबाट म चुन्छु कसलाई लिने भनेर ।’ मन्त्री हुन सूर्यप्रसादले आफूलाई नभनेर डेलिकेसन लिएर नेहरूकोमा गएको कुराको उल्लेखले उनमाथि नेहरूको कस्तो दबाब थियो भन्ने जनाउँछ । नेहरूले पनि पश्चिमको प्रतिनिधिको रूपमा सूर्यप्रसादलाई लिन भने, तर बीपीले सूर्यप्रसाद पश्चिमको नभएको ज्ञात गराएपछि नेहरू चुप लागे । तैपनि पश्चिमको कोही लिनैपर्ने कुरा भने स्थापित भयो । त्यसैले नेहरूलाई भरतमणि पश्चिमको भनेर बीपीले देखाए । तर, भरतमणि २५ वर्ष नपुगेको बहानामा मन्त्रिमण्डलमा सामेल गर्न अड्चन लागेरै छोड्यो । यसरी आत्मवृत्तान्तका अनुसार दिल्ली सम्झौताका सूत्रधार र निर्देशक नेहरू देखिन्छन् । नेहरूको प्रभाव यतिमै मात्र रोकिएन, मन्त्रिमण्डल गठन भएपछि पनि उनको प्रभाव कायम रह्यो, जसलाई कम गर्ने प्रयत्नमा बीपी र नेहरूको सम्बन्धमा चिसोपन बढेको कुरा शासन सञ्चालनको क्रममा देखापरेको छ ।