बीपीको स्मृतिमा कर्मकाण्डी व्यवहार

बीपीको स्मृतिमा कर्मकाण्डी व्यवहार


Indra Baral

– इन्द्रबहादुर बराल

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सर्वाधिक उच्च व्यक्तित्व बीपी कोइरालाको ३४औँ स्मृति दिवस यही साउन ६ गते मनाइयो । सायद वर्तमान तरल राजनीतिक कारणले होला बीपीलाई स्मरण गरिने तौरतरिकामा अलिक सुस्तता आएजस्तो अनुभूति गरियो । विगतमा निकै धुमधामसँग मनाइने बीपीजयन्ती निकै विरसिलो या फिक्का हुन गयो । ओली सरकारविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन र बीपीको जन्मदिन एकैसाथ परेकाले केही अलमल परेको पनि हुन सक्छ, तर यथार्थ यही मात्रचाहिँ पक्कै होइन ।

हामी नेपाली जब आफूलाई गाह्रो–साँघुरो पर्छ अनि मात्र आफ्ना बाबुआमा सम्झने गर्दछौँ । जब समस्या आउँछ अनि मात्र ‘ए बा.. ए आमा..’ भनी सम्झने गर्दछौँ । त्यस्तै राजनीतिमा पनि अप्ठ्यारो परेको बेला बीपीलाई स्मरण गर्ने, तर बीपीको मार्गदर्शनअनुसार अघि नबढ्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई नराम्रोसँग गाँजेको छ । जनआन्दोलन ०४६ यता बीपीलाई काङ्ग्रेसले क्रमश: भुल्दै गई लगभग बिर्सिसकेकै अनुभूति गरिँदै छ । जब कि प्रजातन्त्र पुनस्र्थापनापूर्व बीपीको नाम मात्रै स्मरण गर्दा पनि प्रजातन्त्र प्राप्तिको लडाइँमा ऊर्जा मिलेको महसुस हुन्थ्यो । तर, अहिले बीपीको सम्झना केवल पद र प्रतिष्ठाप्राप्तिको सिँढी मात्रै बनाउने काम भएको छ । यही सन्दर्भमा चर्चा गर्दा हिन्दू संस्कारअनुसार पितृलाई वर्षको एकपटक श्राद्ध गरेर स्मरण गरेजस्तै बीपीलाई कर्मकाण्डीय हिसाबले हेरिनु ज्यादतीपूर्ण नै हो ।

बीपीले लिएको राष्ट्रिय एकता तथा मेलमिलापको विचार अहिलेको सन्दर्भमा अझै आवश्यक छ । राष्ट्रिय एकता र मेलमिलापको अभावमा राष्ट्रमा उत्पन्न वर्तमान समस्याको दीर्घकालीन समाधान नै छैन भन्दा हुन्छ । राजनीतिकर्मीहरूले नैतिकता र इमान गुमाएकाले पनि बीपीको विचार थप सान्दर्भिक र सर्वकालिक भएको तर्क गर्न सकिन्छ । राजनीति भाँडिएर आपसी वैमनश्य र द्वन्द्व बढेको परिवेशमा राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक बन्न पुग्नु स्वाभाविक नै हो । हुन त राष्ट्रिय एकता र मेलमिलापको नीति एक विशिष्ट परिवेशमा अवलम्बन गरिएको थियो । तथापि, ०३३ पुस १६ मा निर्वासनबाट स्वदेश फर्केको चालीस वर्षपछि पनि उक्त नीति उत्तिकै सान्दर्भिक हुन पुगेबाट बीपीको दूरदर्शिता स्वत: प्रस्टिन्छ । यस्तै विशेषताले उनलाई सबैको आदर्शपुरुष तुल्याएको हो ।

BP Koirala

आजभन्दा पाँच–६ दशकअघिका नेपाली जनताको चेतनास्तर कस्तो थियो होला, अनुमान गर्न सकिन्छ । त्यस्तो परिवेशमा पनि ०१६ सालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका हैसियतले सदियौँदेखि जरा गाडेर बसेको सामन्ती भूसंरचना भत्काउनु कम चुनौतीको विषय थिएन । बीपीले जनबलको आडमा सामन्ती भूव्यवस्थालाई जरैदेखि उखेल्ने प्रयास गरी सर्वप्रथम बिर्ता उन्मूलनको घोषणा गर्दै सीमित मानिसको हातमा रहेको जमिनलाई राष्ट्रियकरण गर्नुभयो । त्यस्तै, नेपालका सम्पूर्ण वनजङ्गल व्यक्तिविशेषले निजी रूपमा उपयोग र उपभोग गरिआएका थिए । कुटो–कोदालोको बिँड, हलो–जुवा बनाउनका लागि पनि वन पस्ने अधिकार सामान्य नागरिकलाई थिएन । त्यसरी सीमित मानिसको मुट्ठीमा रहेको वनजङ्गललाई राष्ट्रियकरण गराएर प्राकृतिक सम्पदा समुदाय वा समुदायीकरण गर्ने काम भएको थियो । त्यसबेलासम्म पनि नेपालमा धेरै राजारजौटाको बिगबिगी थियो, बीपीले नै राजारजौटा प्रणालीलाई समाप्त गर्ने घोषणा गर्नुभयो । समाज सुधारका यी कदम अत्यन्त क्रान्तिकारी थिए । यिनै क्रान्तिकारी कदमबाट अत्तालिएका सामन्तले महत्त्वाकाङ्क्षी राजा महेन्द्रलाई उचालेर जननिर्वाचित सरकारलाई अपदस्थ गराउँदै राजनीतिक दललाई प्रतिबन्धका साथै कैयन नेताको हत्या गराउने, अन्यायपूर्वक जेलयातना दिने कार्य गराए । जनताको पक्षमा काम गर्ने बीपीले कठोरताका साथ जेल र निर्वासनको सजाय व्यहोर्नुपर्‍यो । तर, आफूमाथि त्यत्रो अन्याय गर्ने राजासँग पनि राष्ट्रियताको सन्दर्भमा गाला जोड्ने नीति–निर्णय अङ्गीकार गर्न सक्नु अचम्मकै क्षमता हो । बीपीको यही गुणका कारण यतिबेला सबै विचारधाराका मानिसले उहाँको उच्च मूल्याङ्कन र प्रशंसा गर्ने गरेका छन् ।

बीपीले जहिलेसुकै पनि गरिब निमुखा जनताको पक्षमा वकालत गर्नुभयो र भन्नुभयो– प्रत्येक नेपालीको जीवनस्तर आफ्नोजत्तिकै होस् । त्यसका निम्ति प्रयत्न गर्नुहुन्थ्यो उहाँ र भन्नुहुन्थ्यो– योजना आयोगमा हलो जोतिरहेको किसानको तस्बिर राखियोस्, फाटेको टोपी लगाएको नागरिकको फोटो टाँगियोस् ता कि योजना बनाउँदा तिनको ख्याल आओस् र तिनकै खातिर योजना बनून् । यस्ता उद्गार बीपीका अन्तरमनबाट आउने गर्दथे । सायद बीपीका तिनै विचारबाट अभिप्रेरित भएरै होला वर्तमान नेका सभापति शेरबहादुर देउवाले आफूले सरकारको नेतृत्व गरेको बखत बीपीका अवधारणासँग मेल खाने केही महत्त्वपूर्ण कदम चालेका थिए । उपेक्षित–उत्पीडित जाति, क्षेत्र, वर्ण, धर्म र लिङ्गका क्षेत्रमा विशेष महत्त्वपूर्ण कदम चालिएका थिए । जोताहा किसानलाई पचास प्रतिशत मोही कायम गरिएको थियो भने लाखौँ कमैयाको मुक्ति गराइएको थियो । जातीय विभेद तथा छुवाछुतको विभेदमा परेका दलितदेखि लैङ्गिक विभेदको मारमा निसास्सिएका महिलाको उत्थानका लागि आयोग निर्माण गरेर त्यसमार्फत अधिकार सुनिश्चित गराउने काम भएको थियो । उक्त काम गरेर देउवाले आफूलाई बीपीका सच्चा अनुयायी सावित गरे पनि काङ्ग्रेसभित्रकै लुच्चाहरूले यस उपलब्धिपूर्ण कामको कहीँकतै चर्चा नगर्नु विडम्बनापूर्ण छ । कुनै बेला गणेशमान सिंहले भन्नुभएको थियो– अनुकूल अवस्थामा पार्टीमा हामफाल्नेहरू प्रतिकूल अवस्थामा कुलेलम ठोक्छन् । यस्ताहरूबाट पार्टी सचेत हुनैपर्छ ।

जबसम्म गरिब, किसान, मजदुर, दलित, जनजाति, मधेसी, मुस्लिम तथा महिला पेसाकर्मीहरूलाई विश्वासमा लिन सकिँदैन तबसम्म पार्टीले खोजेको उपलब्धि हासिल हुँदैन । त्यसैले बीपीको विचार चाहे राष्ट्रियताको सवालमा होस् या जनजीविकाबारे, उहाँको स्मरण मात्रैले पनि ऊर्जा प्राप्त हुन्छ भन्ने तथ्य बिर्सन मिल्दैन । केवल जन्मजयन्ती या स्मृति दिवसमा सम्झने र अन्य समय बिर्सेर कर्मकाण्डी शैलीले काङ्ग्रेस उँभो लाग्न सक्दैन । तसर्थ, बीपीलाई कर्मकाण्डीय हिसाबले मात्रै हेरिनुहुन्न ।