नेपालमा सरकार बदलिँदा भारतीय सञ्चारमाध्यममा प्रसन्नता

नेपालमा सरकार बदलिँदा भारतीय सञ्चारमाध्यममा प्रसन्नता


यता केपी ओली नेतृत्वको सरकार विस्थापित हुँदा उता भारतीय सञ्चारमाध्यमहरूले अति प्रसन्नताका साथ यस घटनालाई उच्च् महत्त्व दिएका छन् । नेपालका गतिविधिमा चासो राखे पनि नेपाललाई खासै ‘स्पेस’ नदिने भारतीय सञ्चारमाध्यमले यसपटक भने बडो जोडदारले स्थान मात्र दिएका छैनन्, ‘गज्जब भयो’ भनेर खुसी नै सार्वजनिक गरेका छन् । कसैले सादा समाचार त कसैले विश्लेषणसहितका समाचार दिएर नेपालको पछिल्लो राजनीतिक विकासक्रमलाई महत्त्व दिएका छन् । समाचारको सुरुवात, भाषा र अन्त्य फरकफरक भए पनि प्राय: सबै मिडियाले माओवादी नेता प्रचण्डको प्रशंसा गर्दै प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित विश्लेषणको शीर्षक नै ‘नेपालका प्रधानमन्त्री ओलीको बहिर्गमन, भारतको पुनरागमन’ भन्ने रहेको छ । प्रमलाई छाता ओढाइरहेको तस्बिरसहित प्रकाशित विश्लेषणमा लेखिएको छ, ‘सन् १९९५ मा ओलीले भारतसँगको हाइड्रो परियोजना सम्झौता गर्दा ठूलो गुन लगाएका थिए, तर पछि भारतविरोधी बने । माओवादी खुला राजनीतिमा आएपछि प्रचण्डसँग बिग्रिएको सम्बन्ध पछि माओवादीलाई साइजमा ल्याउन ओलीलाई नै प्रयोग गरिएको थियो । तर, ओली सैद्धान्तिक रूपमा पुरातनवादी भएकोले उनले नेपालको विविधता विशेषगरी मधेसीलाई समेट्न चाहेनन् । ओली सेना र व्यापारीहरूबाट घेरिएका थिए, जो सङ्घीयता चाहँदैनन् । उनी आरक्षणविरोधी हुन्, यतिसम्म कि एकपटक भारतीय कूटनीतिज्ञसँग ओलीले सीधै भनेका थिए– त्यसो भए क्रिकेटमा पनि आरक्षणले काम गर्छ त ?
Indian newspaper
ओली प्रधानमन्त्री भएपछि नेपाल सिक्किम र भुटान बन्न सक्ने भन्दै अति राष्ट्रवादी बन्ने कोसिस गरे । उनले मधेसीलाई भारतीय एजेन्ट भने । अति राष्ट्रवादको सहारा लिएर पहाडे पुरातनवादीहरूलाई मात्र खुसी बनाउने काम गरे । उनको राजीनामाले तराई र पहाडबीच मेलमिलाप गराउनेछ, जुन ओलीले दबाएर राखेका थिए । यसले नेपाल र भारतको राजनीतिक परिदृश्यमा भारतको पुनरागमन गराएको छ । नेपालको राजनीतिमा भारतको ऐतिहासिक भूमिका उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ– तर, विगत दुई वर्षदेखि परिस्थिति बदलियो । नेपालका राजनीतिक इलिटहरूले मधेसीलाई अलग राखेर संविधान ड्राफ्ट गर्न थाले । नयाँदिल्लीलाई अप्ठ्यारो पर्‍यो । श्रीलङ्काजस्तो स्थिति आउने हो कि भन्ने डर पनि थियो । प्रधानमन्त्री मोदीले सबैलाई मिलाएर सहमतिमा संविधान जारी गर्न भने । तर, नेपाली नेताहरू जो सबै नै पहाडी वर्गका थिए, उनीहरू आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्थे । उनीहरूले भारतले नियन्त्रण गर्न चाहेको देखे । तिनले भारत र मधेसीलाई पाखा पार्दै संविधान ल्याएरै छोडे । त्यसपछि काठमाडौंलाई दबाब दिन सीमा बन्दलगायतका प्रदर्शन भए । ती कार्य भारतले ‘इम्पोज’ गरेको भनियो, तर भारतले इम्पोज होइन ‘सपोर्ट’ मात्रै गरेको थियो । काठमाडौंका राजनीतिकर्मीहरू त्यसपछि राष्ट्रियता र स्वाधीनताका कुराहरू गर्न थाले । उनीहरूले भारत र मधेसीलाई गाली गरे । यो सब गराउने केपी ओली थिए ।

मे महिनामै उनलाई हटाउन प्रचण्ड सहमत भएका थिए । यसको मुख्य कारण एमालेको बढ्दो हैसियत र युद्धकालका मुद्दा थिए । प्रचण्ड युद्धकालका मुद्दालाई लिएर सुरक्षित थिएनन् । नेपाली काङ्ग्रेसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्‍यो । कांग्रेस र प्रचण्ड यी दुईका बीच कुराकानी गराउन भारतको उत्साहबद्र्धक भूमिका थियो । जसले ओलीलाई सरकारबाट बाहिर्‍याउन मद्दत गर्‍यो । यद्यपि प्रचण्डले त्यतिबेला सोचाइ बदलेर फेरि पनि एमालेसँगै बस्ने निर्णय गरे । त्यसो गर्नुमा चीनको भूमिका थियो ।

दिल्लीले प्रचण्डको रुचि बुझ्यो, उनी पछाडि पारिएका वर्गका लागि काम गर्न सक्छन् । त्यसपछि एमालेलाई दिएको सहयोग फिर्ता लिने निर्णय भयो । यो कुरामा पनि नेपाली काङ्ग्रेसले साथ दियो । एमाओवादी र नेपाली काङ्ग्रेस यी दुवै दलले मधेसी सरोकारलाई साथ दिने प्रतिबद्धता गरेका छन् । केपी ओलीले राष्ट्रियता देखाएर असफलता छोप्न कोसिस गर्दै राजीनामा दिए । मधेसीलाई ‘अन बोर्ड’ गर्न संविधान संशोधन गर्नुपर्छ । त्यतिबेला पार्टीहरूको साथ चाहिन्छ । ओली विपक्षमा हुन्जेल त्यो सहज छैन । १८ महिनाभित्र निर्वाचन गर्नुपर्छ, त्यतिबेला पनि दलहरूबीच एकता चाहिन्छ ।

सन् २००८/०९ मा प्रचण्डलाई हटाउँदा भारतले केपी ओलीको साथ लिएको थियो, अहिले ओली हटाउन दिल्ली प्रचण्डसँग नजिक भएर काम गरिरहेको छ । परीक्षा अझै बाँकी छ कि आउने सरकारले दिल्लीसँग कस्तो सम्बन्ध राख्ने हो ।

हिन्दुस्तान टाइम्सकै लाइनमा टाइम्स अफ इन्डिया, एसिया टाइम्सलगायतले समाचार प्रकाशित गरेका छन् । टाइम्स अफ इन्डियाले चीननजिक केपी ओलीले भारतलाई पटक्कै भाउ नदिएको उल्लेख गरेको छ । प्राय: सबै मिडियाले प्रचण्डलाई भारतनजिक भनी उल्लेख गरेका छन्, कतिले प्रचण्डसँगको सम्बन्ध अब माओवादी खुला राजनीतिमा आउनुअघि जस्तै गरी अघि बढेको भनेका छन् । नेपालविज्ञ भनेर दाबी गरिएका प्राध्यापक एसडी मुनीले ओलीको कार्यकाल भारतविरोधी कार्यकाल भएको बताएका छन् । नेपालसम्बन्धी टेलिभिजन छलफलहरूमा पनि ओलीलाई भारतविरोधी र प्रचण्डलाई भारतनजिक भनी टिप्पणीहरू गरिएका छन् ।