मैले चिनेको ‘कलम’को पात्र

मैले चिनेको ‘कलम’को पात्र


Sushil Devkota
– सुशील देवकोटा

यसपटकको नेपाल बसाइमा एउटा नौलो अनुभव संगाल्ने मौका पाएँ मैले । एउटा पुस्तकको मुख्य पात्रबाट मैले उनकै बारेमा लेखिएको पुस्तक उपहार पाएँ । यो वास्तवमा नै एउटा नौलो अनुभव थियो मेरा लागि । चलचित्रको पात्र वा पुस्तकको पात्र भन्नेबित्तिकै हामी सपनाको लोकमा पुग्छौँ र त्यो पात्रलाई चलचित्र वा पुस्तकमा बुनिएको चरित्रअनुसार हामी कल्पना गर्छौँ अनि कल्पनामा मात्रै देख्छौँ । तर, त्यस दिन त्यस पुस्तकका पात्र स्वयम् मेरोअगाडि साक्षात् थिए र उनैको हातबाट उनी नै मुख्य पात्र भएको पुस्तकसमेत म लिँदै थिएँ । तपाईंमध्ये कसैले यस्तो अनुभव पहिला नै लिइसक्नुभएको भए तपाईंलाई आश्चर्य नलाग्ला, तर त्यो मेरो पहिलो अनुभव भएकाले मलाईचाहिँ सपनाजस्तै लाग्यो । मलाई यो नितान्त नौलो अनुभूति दिन सफल त्यस पुस्तकको नाम हो कलम र पात्रको नाम हो, पुष्करलाल श्रेष्ठ ।

कलम पढेपछि त्यसका मुख्य पात्रबारे थप धेरै कुरा जान्ने मौका मिल्यो । पुष्करदाइको जुझारूपन र बहुआयामिक व्यक्तित्वबारे अझै धेरै थाहा पाउने मौका मिल्यो । यो मौका जुराइदिनुहुने अशोक सिलवालज्यूलाई धन्यवाद मात्रै भन्दा अपुग हुन्छ, तर त्यसभन्दा धेरै आभार व्यक्त गर्न मैले शब्द नपाएकाले लाज पचाएर भन्दै छु— धन्यवाद अशोक सिलवालज्यू †

यहाँ मैले उक्त पुस्तकको समीक्षा गर्न लागेको होइन र म समीक्षक पनि होइन । तर पनि कलम पढिसकेपछि मैले पनि मेरो कलम नचलाई बस्न सकिनँ । यसको कारण हो कलमका ती पात्रसँगको मेरो परिचय र आत्मीयता । कलमको मुख्य पात्र आफैँमा एउटा हस्ती हुनुहुन्छ । मजस्ता कैयौँमाथि उहाँले उपकार गर्नुभएको होला र त्यो सङ्ख्या कति छ स्वयम् उहाँलाई सम्झना छैन होला । उपकार गर्नेले उपकार गरेर बिर्सिनु उनको महानता हो, तर उपकार पाउनेले त्यो बिर्सिनुहुँदैन ।
मैले चिनेको ‘कलम’को पात्र
पुष्करदाइसँग मेरो चिनजान २०४३ साल साउन र भदौतिर भएको हो । म जागिरको खोजीमा थिएँ र एक दिन अशोकमना सिंह दाइले कामनामा काम गर्ने हो त ? भनेर प्रस्ताव राख्नुभयो । जागिर चाहिएको त्यो अवस्थामा मैले नाइँ भन्ने कुरै थिएन । अनि अशोकदाइले भोलि तपाईंलाई म कामनाको अफिसमा लगेर सम्पादक तथा प्रकाशकलाई चिनाइदिन्छु भन्नुभयो । त्यतिबेला कामना पत्रिकाले भर्खरभर्खर नाम कमाउन थालेको थियो । अनि मैले सोचेँ– कामनाको अफिस भव्य होला र त्यसका प्रकाशक पक्कै मोटे, अग्लो र रवाफिलो व्यक्तित्वका होलान् । त्यतिबेला म जम्मा २० वर्षको थिएँ र, अहिलेजस्तो प्रविधिको विकास नभएकाले त्यतिबेलाको हाम्रो पुस्ता अहिलेको जस्तो टाठोबाठो थिएन । तसर्थ चलचित्रको प्रभावले गर्दा होला कुनै कार्यालयको हाकिमभन्दा अनायासै त्यही खालको व्यक्तित्व आँखाअगाडि घुम्थ्यो ।

भोलिपल्ट कामना कार्यालयमा पुगेपछि लगभग आफ्नैजत्तिको उचाइको, आफूभन्दा केही वर्ष जेठो र दुब्लो पातलो मानिसलाई सम्पादक/प्रकाशकको रूपमा परिचय गराइँदा सुरुमा त विश्वासै लागेन, तर यथार्थ त्यही थियो । अनि केहीछिनको कुराकानीपछि उहाँले कत्ति न मलाई धेरै वर्ष अगाडिदेखि चिनेजसरी भन्नुभयो, ‘तपाईं क्षमता भएको मान्छे हो । तपाईं आजैदेखि काम सुरु गर्नुस् ।’ उहाँले के देख्नुभयो त्यो उहाँलाई नै थाहा होला, तर मचाहिँ जागिर पाएकोमा खुसी थिएँ । तत्कालका लागि मलाई तोकिएको काम थियो विज्ञापन खोज्नु ।

म आफ्नो काममा लागेँ । तर, काममा लाग्नुअघि पुष्करदाइले मलाई सिकाउनुभयो कि विज्ञापनका लागि कतै गएर कुरा गर्दा कसरी गर्नुपर्छ किनकि एक त त्यो काम आफैँमा मेरा लागि नयाँ थियो भने मेरो उमेर पनि उस्तै थियो । तर, मार्गदर्शन सही भएकाले होला म आफ्नो काममा अगाडि बढ्न थालेँ । कामनामा काम सुरु गरेको दोस्रो दिन काममा हिँड्ने बेलामा ‘सर, म जान्छु’ भनेको त उहाँले भन्नुभयो, ‘धत भाइ, के को सर नि ? यहाँ कोही पनि सर छैन, हामी सबै दाजुभाइ पो हो त । अबदेखि सर भन्ने होइन है, दाइ भन्ने ।’ अनि त्यस दिनदेखि विधिवत् रूपमा पुष्करदाइ मेरो दाइ बन्नुभयो र आजसम्म त्यही सम्बोधन जारी छ ।

कतिपय मानिसले सम्बोधन गर्नका लागि नाता लगाउँछन् । तर, जुन दिनदेखि पुष्करदाइले मलाई भाइ भन्न थाल्नुभयो त्यो दिनदेखि मप्रतिको उहाँको व्यवहार पनि ठूलो दाइको जस्तो नै देखिन थाल्यो र भाउजूले पनि निकै माया गर्न थाल्नुभएको थियो । अफिस पुग्नेबित्तिकै भाउजूले हल्का केही खाजा र चिया पठाइहाल्नुहुन्थ्यो । थाहा छैन कसरी पुष्करदाइले मेरो तत्कालीन कमजोर आर्थिक अवस्थाबारे थाहा पाउनुभएछ र कहिलेकाहीँ म खाना नखाई अफिस आउने गरेको छु भन्नेसमेत थाहा पाउनुभएछ । कसरी र कसले भनेर थाहा पाउनुभयो त्यो आज पनि मेरा लागि रहस्यको विषय बनेको छ । त्यसपछि त दाइ–भाउजु दुवैजनाले मलाई हरेक दिन अनिवार्य रूपमा खाना खाएर आएको हो कि होइन भनेर सोध्ने, अझ सोध्नेभन्दा पनि केर्ने र खाएको छैन भन्ने अलिकति शङ्का लाग्यो कि तुरुन्तै माथिबाट खानेकुरा पठाउने गर्न थाल्नुभयो । यस्तो माया उहाँले सबैलाई गर्नुहुन्थ्यो या म मात्रै त्यस्तो भाग्यमानी थिएँ त्यो त मलाई थाहा छैन, तर आफ्नो कर्मचारीलाई त्यसकिसिमको माया गर्ने हाकिम विरलै पाइन्छ । फेरि त्यो हाकिमलाई, हाकिम भन्न र मान्न नपाइने ।

मलाईचाहिँ खायो–खाएन भनेर त्यस्तो चासो राख्ने दाइ आफूचाहिँ धेरै केही नखाने । दुई–चारवटा बिस्कुट, दुईवटा पाउरोटी खाए पुग्ने । अनि त्यतिबेला पुष्करदाइको हातमा तातोपानीको गिलासचाहिँ जुनबेला पनि हुन्थ्यो किनकि उहाँ ग्यास्ट्रिकले पीडित हुनुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो– मैले पो खान सक्दिनँ त, सक्नेहरूले त खानुपर्छ नि ! ज्यादै सफा मन र ज्यादै माया गर्ने मन भएका व्यक्ति हुन् पुष्करलाल श्रेष्ठ ! र, भगवान्ले उहाँलाई जोडी पनि उस्तै मिलाइदिएका ।

त्यतिबेलाको मेरो निजी अवस्थाले गर्दा मलाई अलि धेरै तलब पाइने जागिरको जरुरत थियो र मैले एउटा तारे होटेलमा जागिर पाएँ । यो कुरा मैले डराउँदै पुष्करदाइलाई भने । यो कुराभन्दा मलाई ज्यादै ग्लानि यसकारणले पनि भइरहेको थियो कि अर्को महिनादेखि कामना रङ्गीन निकाल्ने पक्का भइसकेको थियो र दाइले अब झन् मिहिनेत गर्ने बेला आयो है भन्नुभएको थियो । मेरो जागिर छोड्ने कुरा सुनेर पहिला त दाइ पनि गम्भीर हुनुभयो अनि फेरि भन्नुभयो, ‘हुन त भाइ तपाईंको जरुरत कामनालाई धेरै छ, तर तपाईंको हालको जरुरत र जिम्मेवारी झन् ठूलो छ । अहिले हामी तपाईंको त्यो जरुरत पूरा गर्ने अवस्थामा छैनौँ । त्यसैले अहिले तपाईं त्यो होटेलको जागिर खानुस् । जुन दिन कामना अलि धनी हुन्छ त्यो दिन तपार्इं फेरि यहाँ आउनुपर्छ ।’

त्यसपछि म आफ्नो जिम्मेवारीहरू पूरा गर्नपट्टि लागेँ । तर, मनमा एउटा ग्लानि सधैँ थियो, जुनबेला कामनालाई मेरो सबैभन्दा धेरै जरुरत थियो त्यसबेला मैले साथ दिन सकिनँ । मैले कामनालाई धोका दिएँ । यो दोषी मनले गर्दा पछि फेरि सञ्चारमाध्यममै काम गर्न आए पनि पुष्करदाइको अगाडि पर्नबाट जोगिन थालेँ । कामनाले आकाशको उचाइ छोइसकेको थियो र त्यसका विभिन्न सह–प्रकाशनहरू पनि प्रकाशित हुन थालिसकेको थियो । मलाई लाग्यो बागमतीमा धेरै पानी बगिसक्यो, अब मैले कामनामा मौका पाउँदिनँ ।
धन्यवाद भन्नुपर्छ सामाजिक सञ्जाललाई– एक दिन पुष्करदाइलाई त्यस सञ्जालमा भेटेर डराइडराई रिक्वेष्ट पठाएँ । मलाई लागेको थियो, अब यत्तिका वर्षमा दाइले मलाई बिर्सिसक्नुभयो वा स्वीकार गर्नुभयो भने पनि एउटा औपचारिक सम्बन्ध मात्रै हुनेछ । तर, मेरो आशाविपरीत उहाँले त्यही दिन मेरो अनुरोध स्वीकार मात्रै गर्नुभएन, उल्टै मलाई फोनसमेत गर्नुभयो । यसरी मसँग परपर हुन तपाईंको मनले कसरी मानेको ? भनेर उहाँले प्रश्न गर्दा म नाजवाफ भएँ । अनि उहाँले अब नेपाल आयौ भने मलाई भेट्नु नि भन्नुभयो ।

म नेपाल गएँ र उहाँलाई फोन गरेँ । मलाई लागेको थियो, उहाँले आफ्नो कार्यालयमा बोलाउनुहुन्छ । एक–एक कप चिया पिइन्छ र केही औपचारिक कुराकानीपछि भेटघाट सकिन्छ । तर, उहाँले मलाई घरमा बोलाउनुभयो र हामीले धेरैबेर कुरा गर्‍यौँ, धेरै कुरा गर्‍यौँ । त्यस दिन पनि दाइ–भाउजूको त्यस्तै प्रेम, त्यस्तै आत्मीयता ।

यहाँ एउटा प्रसङ्ग जोडन मन लाग्यो । म कामनामा काम गर्दागर्दै कामनामा आबद्ध एकजनाको (नाम बिर्सिएँ अहिले) मृत्यु भएको थियो र कामना कार्यालयमै एउटा सानो शोकसभा आयोजना गरिएको थियो । त्यस दिन दिनभरि पुष्करदाइको आँखा ओभानो देखिएन ।

जसको बारेमा एउटा सिङ्गो कृति नै लेखिएको छ, उनको बारेमा म एउटा साधारण मानिसले लेखेको आफ्नो अनुभव कत्तिको पठनीय हुन्छ त्यो त मलाई थाहा छैन, तर कलम पढेपछि कलमको मुख्य पात्रसँग जोडिएको यो अनुभव सबैसँग बाँड्न मन लाग्यो । यो आशा र विश्वाससहित कि उनको बारेमा अझै धेरै लेखिनेछ, अझै धेरै पढिनेछ ।