दुवैतिर गच्छदार ठिक्क !

दुवैतिर गच्छदार ठिक्क !


Bijaya Kumar Gachhadar

सत्ताबिना चौबीस घन्टा पनि बिताउन नसक्ने भनी चिनिएका विजयकुमार गच्छदार अचानक माओवादीले सरकार छोडेपछि ‘सक्ड’ भएको जानकारी धेरैलाई हुनसक्छ, तर डुब्दै गरेको जहाजको मुसाझैँ उनी कसरी छटपटिएका थिए भन्नेचाहिँ आमजानकारीमा आउन सकेको छैन । प्राप्त समाचारअनुसार माओवादीले सरकार छोडेको भोलिपल्ट असार २९ गते बिहान आठ बजे प्रचण्डनिवासमा पुगेका गच्छदारले रुन्चे अनुहार लगाउँदै प्रचण्डसँग भनेका थिए, ‘म तपाईंको दु:ख–सुखको साथी, म तपाईंलाई छोडेर अरू कसैसँग जाने भन्ने कुरा पनि हुँदैन, हामी कस्तो–कस्तो अवस्थामा साथ रह्यौँ, अझ अगाडि सँगै मिलेर धेरै गर्न बाँकी छ, मलाई तपाईंको मन्त्रिमण्डलमा सामेल गरिदिनुपर्‍यो ।’

यसरी गच्छदार गिडगिडाएपछि प्रचण्डले भनेका थिए, ‘विजयजी, मलाई सब थाहा छँदै छ नि, अहिले अलिक हतार–हतारमा यस्तै भयो, समय छँदै छ, सल्लाह गरौँला ।’ प्रचण्डले गच्छदारको इच्छाअनुरूपको अभिव्यक्ति दिएनन् । प्रचण्डको जवाफले तड्पिएका उनले त्यसको केही पछि प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर भने, ‘प्रधानमन्त्रीजी, तपाईं अड्नुपर्‍यो, छोड्नुभएन । तपाईंले राजीनामा नदिने हो भने सँगै बसेर लडौँ, म तपार्इंलाई पूरा साथ दिन्छु । राजीनामा दिने हो भने तपाईंलाई छोड्न म बाध्य हुनुपर्छ । सरकारबाहिर बसेर म पार्टी जोगाउन सक्दिनँ, नचाहँदा–नचाहँदै पनि तपाईंको साथ छोड्नुपर्ने हुन्छ । सक्नुहुन्छ भने अड्नुहोस्, राजीनामा नदिनुहोस्, सँगै बसेर लडौँ, होइन भने मलाई बाहिर जाने अनुमति दिनुहोस् ।’

राप्रपाले सरकार छोड्ने निर्णय गरिसकेको थियो । त्यसरी विजय गच्छदारले ‘लड्न’ दिएको सुझावलाई प्रधानमन्त्री ओलीले सकारात्मक रूपमा लिन सकेनन् । तर, राप्रपाका मान्छेभन्दा विजय गच्छदार अलिक इमानदार रहेको महसुस भने प्रधानमन्त्रीले गरे । त्यस अवसरमा ओलीले भनेका थिए, ‘पार्टी नै जोगाउन सकिँदैन भने तपाईं अलमलिनुपर्दैन, मेरो सरकारमा मधेसको प्रतिनिधित्व गरेर बसिदिनुभएकोमा म तपाईंलाई धेरै–धेरै धन्यवाद दिन्छु ।’

यसरी प्रधानमन्त्री ओलीलाई पनि खुसी पारेर विजय गच्छदार सरकार छोड्ने निर्णयमा पुगेका हुन् । नयाँ सरकारमा उनको सहभागिता भने निश्चित भइसकेको छैन । यस प्रकरणले नेपाली राजनीतिकर्मीहरूको चरित्र र व्यवहारको उजागर भने गरेको छ ।