प्रचण्डलाई रोक्न अनेकौँ प्रयास

प्रचण्डलाई रोक्न अनेकौँ प्रयास


deuba-prachand-and-kp-oli

प्रधानमन्त्री खड्गप्रसाद ओली चतुर्‍याइँपूर्वक अविश्वासको प्रस्ताव छल्न सफल भएका छन् र पदमुक्त हुँदै गर्दा सर्वाधिक नेपालीको मन जित्न सक्ने प्रधानमन्त्री पनि नेपालको इतिहासमा ओली नै बनेका छन् । संसद्को तेस्रो ठूलो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेर विद्यमान सत्ता गठबन्धन टिकाउनुभन्दा सम्पूर्ण रूपले सत्ताच्युत हुनुपर्ने मार्ग ओलीले किन रोजेका हुन् आश्चर्य र जिज्ञाशाको विषय बनेको छ । माओवादीको उदय भएदेखि नै उक्त समूहको सर्वाधिक विरोधी मानिँदै आएका खड्ग ओली एउटा बाध्यात्मक अवस्थामा पुगेपछि मात्र माओवादीलाई बोक्न तत्पर भएका थिए ।

सुशील कोइरालासँग भएको भनिएको भद्र सहमति कार्यान्वयन नभएपछि ओली गत असोज (२०७२) मा माओवादीलाई साथमा लिएर सरकार गठन गर्न बाध्य भएको सबैको जानकारीमा छ । विक्रम सम्वत् २०७४ माघ ७ गतेसम्म निरन्तरता पाउने विश्वासमा ओलीले उपराष्ट्रपति र सभामुखजस्ता उच्चतम् पदीय जिम्मेवारीका साथै राम्रो र महत्त्वपूर्ण मानिने मन्त्रालयहरूसमेत माओवादीको जिम्मा लगाएका थिए । ओलीलाई यति चाँडै र यसरी माओवादीले सरकार छोड्ने विश्वास नभएको बताइन्छ । अरू जेसुकै दिए पनि माओवादीलाई प्रधानमन्त्री पद दिने सोचमा ओली थिएनन् । कारण जे बताइए पनि प्रचण्डले प्रधानमन्त्री बन्नकै लागि साथ छोडेको हो भन्नेमा ओली स्पष्ट छन् ।

आफूलाई धोखा दिएको र संसद्को दोस्रो या पहिलो ठूलो दलभन्दा बाहेकको तेस्रो दललाई सरकारको नेतृत्व दिनु सैद्धान्तिक रूपले समेत गलत हुनसक्ने भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट हरहालतमा रोक्ने योजना बनाएका छन् । प्रचण्ड प्रधानमन्त्री बन्दा राजनीति दूषित एवम् विकृत बन्ने ओलीको ठहर छ । त्यसैले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिने पक्षमा उनी रहेका छन् । आगामी अठारै महिना (०७४ माघ ७ गतेसम्म) सरकारको नेतृत्व लिने हो भने कांग्रेसलाई एकमना सरकार गठन गर्न बाहिरबाट समर्थन गरिदिने र तीन महिनापछि मात्र आफूहरू सरकारमा सामेल हुने योजना ओलीको रहेको बुझिन्छ । नौ महिना सभापति शेरबहादुर देउवा र नौ महिना रामचन्द्र पौडेलको नेतृत्व रहने अवस्थालाई समर्थन गर्न पनि ओली तयार भएका छन् भने अठारै महिना देउवाको नेतृत्व स्वीकार गर्ने मानसिकता पनि ओलीले बनाएका छन् ।

आगामी नौ महिनासम्मका लागि देउवा नेतृत्वको एकमना सरकारलाई बाहिरबाटै समर्थन दिन पनि ओली राजी भएका छन् । विभिन्न माध्यमहरूबाट प्रधानमन्त्री खड्ग ओलीले आफ्नो प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याइसकेको बताइन्छ । तर, सभापति देउवा अहिलेसम्म ओलीको प्रस्तावप्रति सकारात्मक हुन सकेका छैनन् । त्यसो गर्दा आफूप्रतिको विश्वसनीयतामा ह्रास आउने र छविमा धक्का पुग्ने उनको ठहर छ । पार्टीभित्र ओलीको प्रस्तावलाई लिएर अहिलेसम्म छलफल पनि भएको छैन, ओलीले यदि औपचारिक तवरमै उल्लिखित प्रस्ताव गरे भने कांग्रेसमा छलफलका निम्ति देउवामाथि दबाब बढ्न सक्ने सम्भावना छ । तथापि सामान्य अवस्थामा देउवा ओलीको प्रस्तावलाई ‘इन्टरटेन’ गर्ने सोचमा देखिएका छैनन् ।

असामान्य अवस्था अहिलेसम्म पैदा नभएकोले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न ओली सफल हुने देखिएको छैन । यद्यपि उनीबाट प्रचण्डलाई रोक्न सम्भव भएसम्मका सबै उपाय अवलम्बन हुनसक्ने बुझिएको छ । आफ्नो सदासयतापूर्ण प्रस्तावप्रति कांग्रेस सकारात्मक हुनसक्ने कुनै सम्भावना नदेखिएमा भने ओलीले नौ महिनापछि प्रचण्डलाई नै समर्थन गरेर जाने सङ्केत दिनसक्ने बुझिएको छ । ओलीको यसप्रकारका योजनामा पार्टीभित्रबाट कति साथ–समर्थन मिल्ने हो यकिन गर्न सकिएको छैन । नेता माधवकुमार नेपालले ओलीका हरेक योजना असफल तुल्याउन प्रयास गर्ने सम्भावना भने ज्यादा देखिएको छ ।