पैँसट्ठी लाखको छेपारो

पैँसट्ठी लाखको छेपारो


Mausuli gicko

हाम्रा गाउँघरका भित्ता, पर्खालमा टाँसिएर बस्ने छेपारा–माउसुलीका कुनै प्रजातिको एउटाकै मूल्य ६५ लाखसम्म पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल नै पर्छ । तर, चीनमा यस छेपाराको मूल्य सुन होइन हीराकै समान रहेको छ । यस दुर्लभ छेपारोलाई ‘गिको’ भनेर चिनिन्छ भने झट्ट सुन्दा ‘टाक के’ बोलेजस्तो आवाज निकाल्ने हुँदा यसलाई टाके नामले पनि पुकारिन्छ । यसलाई धनाढ्यले ६५ लाखसम्म तिर्न तयार हुनुका खास कारण छन् । विभिन्न विशेषता रहेको गिकोको मासु दुर्लभ औषधि बनाउन प्रयोगमा आउँछ । दक्षिण–पूर्व एसियाली मुलुकमा डायबिटिज, एड्स र क्यान्सरजस्ता रोगको दबाई निर्माणमा यसको उपयोग हुन्छ भने मूलत: पौरुषत्त्व बढाउने औषधि बनाउन यसको अहम् भूमिका रहन्छ । चीनमा त परम्परागत औषधि निर्माणमा ‘टाके’ नभइनहुने वस्तुमा पर्छ । यसर्थ इन्टरनेसनल ब्ल्याक मार्केटमा यसको अत्यन्तै ठूलो माग छ । बताइएअनुसार भारतको बिहार, इन्डोनेसिया, फिलिपिन्स र नेपालमा समेत पाइने यस प्रजातिको छेपारो जङ्गल विनाशको तीव्र उपक्रमका कारण लोपोन्मुख हुने खतरा बढेको छ ।