
बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको ४५ वर्षको उमेरमा निधन भएको छ । आठौँ दक्षिण एसियाली खेलकुदका कांस्य पदकधारी मगर लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनको ललितपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा केही समय राखिएको थियो । उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल बक्सिङ सङ्घका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ, बक्सिङसम्बद्धहरू, खेलाडी, खेलकर्मीलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । मगरको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि गृह जिल्ला तनहुँ लगिएको छ ।
स्व. मगरले २०५१ र ५३ मा भएका राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्नुका साथै १९९७ मा दिल्लीमा भएको वाईएमसीए अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप र १९९८ मा मनिलामा आयोजित मेयर्स कपमा कांस्य पदक जितेका थिए । ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भएका मगरका श्रीमती, एक छोरा र एक छोरी छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले इन्द्रको निधनमा दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया