अमेरिकी दूतावासद्वारा ‘बुकटुक’ सुरु

अमेरिकी दूतावासद्वारा ‘बुकटुक’ सुरु


19 US Embassy

अमेरिकी दूतावासले डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयबाट नयाँ विद्युतीय घुम्ती पुस्तकालय सुरु गरेको छ । अमेरिकी राजदूत अलाइना बी. टेप्लेट्ज र अमेरिकी विदेश मन्त्रालयस्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रम (आईआईपी)सम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्सले गत शुक्रबार एक समारोहका बीच बुकटुकको उद्घाटन गर्नुभएको हो । अमेरिकी दूतावासको घुम्ती पुस्तकालय (बुकबस)हरूको समूहमा ‘बुकटुक’ नयाँ सदस्य भएको जनाइएको छ ।

विद्युतीय सफा टेम्पोलाई नयाँ रूप दिइएको बुकटुकमा सौर्य ऊर्जाबाट चल्ने ताररहित इन्टरनेट सेवासमेत उपलब्ध छ । सानो आकारको भएको हुँदा बुकटुक काठमाडौं उपत्यकाका भित्री सहरी क्षेत्रहरूमा पुग्न सक्छ । इन्टरनेट सुविधा उपयोग गरेर बुकटुकका पाठकहरू शैक्षिक वेबसाइटमा जान र कम्प्युटर प्रविधि प्रयोग गर्न सिक्छन् । स्वच्छ ऊर्जाको माध्यमबाट सञ्चालित बुकटुकले वातावरणमा नकारात्मक प्रभाव नपार्ने र साँघुरा सडक तथा घुम्तीका कारण बुकबस पुग्न नसकेका क्षेत्रमा समेत यो पुग्न सक्ने हुँदा विशेष उपयोगी सावित हुने विश्वास लिइएको छ ।

बुकटुक उद्घाटनका अवसरमा संयोजक मेकन फिलिप्सले भन्नुभयो, ‘नेपालमा रहेका हाम्रा अमेरिकन स्पेसेहरूको समूहमा बुकबसलाई परिचित गराउन पाउँदा मलाई खुसी लागेको छ ।’ यस्तै, ‘वातावरणीय क्षतिलाई न्यून गर्न हामी सबैले सानो तर अर्थपूर्ण कदम चाल्न सक्छौँ र त्यस दिशामा बुकटुक हाम्रो त्यही सानो कदम हो,’ राजदूत टेपलेट्जको कथन थियो ।

बताइएअनुसार बुकटुक परियोजनामार्फत अमेरिकी दूतावासले कलिलो उमेरका पाठकका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषाका पुस्तकहरू अनुदानस्वरूप उपलब्ध गराउनेछ । यसको लक्ष्य कलिलो उमेरका व्यक्तिलाई पुस्तक पढ्न प्रेरित गर्नु, अमेरिकी संस्कृतिबारे जानकारी आदानप्रदान गर्नु र उनीहरूको अङ्ग्रेजी भाषामा सुधार गराउनु हो । बुकटुक र बुकबस परियोजना नेपालभर अमेरिकी दूतावासद्वारा प्रायोजित अमेरिकन स्पेसहरूको सञ्जालअन्तर्गत पर्दछन् ।