एमालेले पाएन ‘प्रधानमन्त्री’ !

एमालेले पाएन ‘प्रधानमन्त्री’ !


UML

नेकपा एमालेमा हार्नका लागि प्रधानमन्त्रीको उम्मेदवार बन्न पार्टीका कोही पनि नेता तयार भएनन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने थियो, तर नेम्वाङले उम्मेदवार बन्न रुचि देखाएनन् । तथापि ओलीबाट नेम्वाङलाई नै उम्मेदवार बनाउने प्रयास अन्तिम क्षणसम्म जारी रहेको बताइन्छ । वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्रीको उम्मेदवार बन्ने इच्छा देखाएनन् । हार्ने चुनावको उम्मेदवार बन्दा ‘रामचन्द्र पौडेल होइने’ चिन्ता नेताद्वयले दर्शाएको बताइन्छ ।

त्यसो त ओली स्वयम् माधव नेपाललाई उम्मेदवार बनाउन त्यति इच्छुक नरहेको ओलीका निकटवर्तीहरूको भनाइ छ । वामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवार बन्न राजी त भए, तर उनले संसदीय दलको नेता पद पाउनुपर्ने सर्त राखे, जुन जिम्मेवारी तत्काल छोड्ने पक्षमा ओली छैनन् र छोड्नैपरे पनि वामदेवलाई नेता बनाएर छोड्ने मानसिकतामा उनी थिएनन् । नेताहरू नेपाल र खनालले भने गौतमलाई दलको नेता बनाएर भए पनि प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।

तर, अध्यक्ष ओली बक्री भएकोले खनाल र नेपालको इच्छा तत्काल पूरा हुन सकेन । बरु ओलीको क्याम्पमा भीम रावललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारेमा पनि छलफल भएको बताइन्छ । रावललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएमा त्यसपछि उनलाई कसैले पनि लगाम लगाउन नसक्ने सुझाव कतिपयले दिएपछि रावलको नाम काटिएको सूत्रको भनाइ छ । त्यसैले सुवास नेम्वाङलाई उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गर्ने, उनी कुनै हालतमा पनि तयार भएनन् भने चित्रबबहादुर केसी या सीपी मैनालीलाई उम्मेदवार बनाउने र ती पनि राजी नभएमा एमालेले कसैलाई पनि प्रधानमन्त्रीको उम्मेदवार नबनाउने विकल्पमा एमालेभित्र केही दिनयता छलफल हुँदै आएको थियो । अन्त्यमा एमालेले उम्मेदवारी नदिने औपचारिक निर्णय मंगलबार गरेको छ । स्वत: प्रधानमन्त्री घोषणा गरिएन र निर्वाचन भयो भने एमालेले विपक्षमा मतदान गर्ने भएको छ ।