हवाईजहाज हाइज्याकिङको बिउ

हवाईजहाज हाइज्याकिङको बिउ


SN Karki

– स्वयम्भूनाथ कार्की

लन्डनमा सोसलिस्ट इन्टरनेसनलको सेक्रेटरी जनरल हान्स जेनिस्चेकले बीपीसँग सोध्यो, ‘बंगलादेश स्वतन्त्र भयो वा बंगलादेशमा विद्रोह भयो भने तपाईंहरूलाई अनुकूल पर्छ कि पर्दैन ?’ १९७० तिरको त्यो कुरा छक्क पर्ने किसिमको थियो । परिच्छेद ६३को अन्त्यतिर उनी भन्छन्, ‘त्यसबेलामा कुनै चुनाव छैन, केही छैन, कुनै काण्ड छैन । खालि अलिकति बंगालीहरू रिसाइरहेका छन् भन्ने छ ।’ बीपीले यसलाई स्वतन्त्रताको भन्दा स्वायत्तताको माग भनेर बुझेका थिए । त्यसैले उनले भने, ‘यो त हामीलाई अनुकूल पर्छ त्यहाँ प्रजातान्त्रिक आन्दोलन भयो भने । पाकिस्तानीहरू हाम्रो खिलाफमा छन्, त्यस्तो आन्दोलन भयो भने त हामीलाई मद्दत पुग्छ ।’ यो भ्रमणबाट बीपी भारत फर्केपछि त्यहाँ एउटा ग्रुप नै तयार थियो बीपीलाई हतियार सप्लाई गर्न, यति सजिलो सर्तमा कि आर्थिक कुरामा पनि चिन्ता लिनुनपर्ने जसरी पैसा सङ्कलन हुँदै जान्छ त्यसै गरेर दिए हुने, आजभोलिको किस्ताबन्दी व्यापारजस्तो ।

सुन्दरीजलबाट मुक्त भएर भारत गएपछि बीपीले सशस्त्र क्रान्तिको आह्वान गरे, सुवर्णजीले त पहिले नै बन्दुक उठाएका थिए । तर, बीपी सुवर्णजीले भारतमा बसेर हतियार उठाएकोमा गल्ती देख्थे र हतियार जम्मा गरेर नेपालमै केन्द्र बनाएर सशस्त्र क्रान्ति गर्न चाहन्थे । त्यसैले इन्दिरा गान्धीसँग भेटेर एक करोड रुपैयाँ मागे– परिच्छेद ६३को सुरुतिर यो प्रसङ्ग उल्लेख छ । आफूले नेपालमा क्रान्तिका लागि परिपक्व परिस्थिति देखेको अनि हतियार किन्न इन्दिरा गान्धीसँग रुपैयाँ माग्दा उनले त्यो कुनै समस्या नभएको र इन्तजाम गरिदिने वचन दिएकी थिइन् । यो घटना बीपी इंग्ल्यान्ड जानुभन्दा पहिलेको थियो । त्यसपछि टी.एन. कौल अनि ‘र’ प्रमुख काओसँग बीपीको भेट बाक्लो भयो । बम्बैमा अस्पतालमा भर्ती हुँदा आफूसँग भेट्न आएको हान्ससँग पनि क्रान्तिको निमित्त सोसलिस्ट इन्टरनेसनलको मद्दत मागेका थिए । उसैको सल्लाहअनुसार सोसलिस्ट मुलुकहरूको भ्रमण गरेर मद्दत मागे । सबैले भारतको मन्जुरीबेगर मद्दत गर्न नसकिने र भारतले मद्दत गरेमा त्यति सानो मद्दत भारतले नै गर्न सक्ने तर्क दिए । कूटनीतिक समर्थन भने जति चाहिने हो त्यति दिने आश्वासन पाए ।

हान्ससँगको लन्डन भेटपछि बीपीलाई हतियार खोज्न र त्यसको मोल चुकाउन सजिलो भयो । परिच्छेद ६६मा त्यो हतियार सप्लाई गर्नेले गरेको कुरा पनि बीपीले उल्लेख गरेका छन् । उसका अनुसार बीपीलाई छोडेर राजाले गल्ती गरे । कि राजाले उनलाई मारिदिनुपथ्र्यो कि मौका पाउनेबित्तिकै बीपीले राजालाई मारिदिनुपर्छ । यो वार्तालापलाई बीपी भन्छन्, ‘मलाई हतियार सप्लाई गर्ने त्यस मान्छेसँग भएको मेरा यी कुराहरू बडो विचारणीय छन् ।’ यता बीपीसँग हतियार जम्मा हुन थाले, उता बंगलादेशमा सङ्घर्ष सुरु भयो । भारत विभाजनभन्दा पहिलेका बंगलादेशका सोसलिस्टहरू लगातार बीपीलाई भेट्न आउन थाले । जयप्रकाशजीलाई पनि गुहारे । उनीहरूलाई हतियार चाहिएको थियो । जयप्रकाशले उनीहरूको निमित्त हतियार व्यवस्था गरिदिन बीपीलाई सिफारिस गरे ।
बीपीले आफ्नो सप्लायरसँग बंगलादेशीलाई पनि हतियार दिन आग्रह गरे, तर उसले ठाडै अस्वीकार गरिदियो । सीधै तिमीहरू आफ्नो क्रान्तिको कुरा गर, हामी जताततै दिँदैनौ भनेर भन्यो । उसले नगदमा पनि बंगलादेशीलाई हतियार दिएन, तर बीपीलाई उधारोमा हतियार दियो ।

यसबाट बीपीलाई मनमा चिसो पर्नुपथ्र्यो, तर परेन । यो उनैले स्वीकार गरेको कुरा हो । बीपीको एक्सन सुरु भएको थिएन, बंगलादेशमा क्रान्ति सुरु भइसकेको थियो । यो क्रान्ति एक किसिमले समाजवादीहरूको क्रान्ति थियो । त्यसैले प्रयोगविहीन हतियार बीपीले बंगलादेशीहरूलाई दिनैपर्‍यो । जयप्रकाश आपैँmले बीपीलाई भने, ‘जति तपाईंसँग छ दिनुस्, तपाईंलाई अहिले जरुरत छैन भने । पछि तिरिहाल्छौँ ।’ अन्तमा बीपीले बंगलादेशको क्रान्तिमा हतियार दिने नै निधो गर्नुपर्‍यो । हतियारजस्तो कुरा ट्रकमा अन्य सामानसरह बनारसबाट पटना गयो । पटनाबाट अर्को ट्रकमा पूर्णियाको बोर्डर गयो । त्यहाँबाट पूर्णिया, पश्चिम बंगाल र बंगलादेशको सीमा जोडिएको ठाउँबाट ती हतियार बंगलादेश गए । हतियार ट्रकमा राखेर दुई प्रान्तीय सिमाना र एक अन्तर्राष्ट्रिय सिमाना कटाउन भारत सरकारको समर्थन र सहयोगबेगर सम्भव थिएन ।

नेपालमा सशस्त्र क्रान्तिको सम्भावना देखाएर त्यसको निमित्त हतियार सङ्कलन गर्न उद्यत् भएका बीपीले जबसम्म हान्समार्फत बंगलादेशको आन्दोलनमा सहमति जनाएनन्, कुनै मद्दत पाएनन् । सहमति जनाउनेबित्तिकै सजिलै हतियार वितरक पनि भेटियो, हतियारको निमित्त पैसाको चिन्ता पनि गर्नुपरेन । सम्भवत: बंगलादेशको स्वतन्त्रता चाहने मुलुकहरू खुला रूपले यो काम गर्न सक्दैन थिए । त्यसैले कुनै असम्बन्धित मुलुकको असन्तुष्ट राजनीतिक शक्तिको काँधमा बन्दुक राखेर चलाउन चाहन्थे । जसमा उनीहरू सफल पनि भए, कामको परिणाम नराम्रो भएको भए त्यसको अवगालको हिस्सेदार बीपी र नेपाली काङ्ग्रेस पनि हुने थिए, तर राम्रो भएको जसमा आज कतै पनि बीपी वा नेपाली काङ्ग्रेसको नाम छैन ।

हतियार हस्तान्तरण गर्न बाबु (सुधीर), सुशील र चक्र गए । हतियार हस्तान्तरण गर्न गएकाहरूले के देखे भने त्यहाँ १८–१९ का किशोरहरू हतियारलाई खेलौनाकोजस्तो व्यवहार गरिरहेका थिए । त्यसैले बीपीले कर्नल राईलाई ट्रेनरको रूपमा पठाए । कर्नल राईले त्यहाँ धेरै दिन बसेर तालिम दिए । तालिमले पनि धेरै सुधार गर्न सकेन । बंगाली युवाहरूले छापामार युद्ध गर्नभन्दा खुलेआम भिड्नमा नै रुचि देखाए । राईका अनुसार यो आत्महत्याजस्तो थियो । बंगलादेशको मुक्ति बाहिनीको लडाइँ र प्रयत्नले मात्र अब सम्भव थिएन । त्यहाँ युद्ध नै चाहिएको थियो । त्यसपछि त भारतले सेना नै पठायो । यसरी बंगलादेशको निर्माणमा बीपीले नेपालमा क्रान्ति गर्न जम्मा गरेको हतियारको पनि ठूलो भूमिका रहेको छ ।

यो मद्दतको प्रतिफल भने नेपाली काङ्ग्रेस वा बीपीले पाएनन् । मुजिबुर रहमानले खुला रूपमा कृतज्ञतासम्म पनि व्यक्त गरेनन् । इन्दिरा गान्धी रिसाउलिन् कि भनेर कृतज्ञता पनि लुकेर व्यक्त गरे । न लगेका हतियार फिर्ता दिए न त्यसको पैसा नै दिए । बीपी केवल बंगलादेशको निर्माणमा आफ्नो परिश्रम, साधन–स्रोतले हतियार आपूर्ति गर्ने माध्यम, छापामारहरूलाई तालिम दिने माध्यम मात्र बने । बीपी भन्छन्, ‘त्यस घटनामा मद्दत गर्दा मलाई अलिकति गाह्रो परेको थियो । मेरा हतियारहरू गए । मैले भन्ठानेको थिएँ कि यो एउटा सानो लगानी हो, तर न प्रतिफल छ, न हतियार पाइन्छ, न त्यसको दाम पाइन्छ । मैले त्यसलाई पूरा गुमाएँ ।’ यो घटना नै नेपालको पहिलो हवाईजहाज हाइज्याकिङको बिउ भयो ।

समग्र घटनाक्रमले के सङ्केत गर्दछ भने त्यसवेला सोसलिस्ट इन्टरनेसनल र इन्दिरा गान्धीले बीपीलाई नजानिँदो तरिकाले बंगलादेश मुक्तिमा प्रयोग गरे । नेपालमा सशस्त्र क्रान्तिको सम्भावना देखाएर त्यसको निमित्त हतियार सङ्कलन गर्न उद्यत् भएका बीपीले जबसम्म हान्समार्फत बंगलादेशको आन्दोलनमा सहमति जनाएनन्, कुनै मद्दत पाएनन् । सहमति जनाउनेबित्तिकै सजिलै हतियार वितरक पनि भेटियो, हतियारको निमित्त पैसाको चिन्ता पनि गर्नुपरेन । सम्भवत: बंगलादेशको स्वतन्त्रता चाहने मुलुकहरू खुला रूपले यो काम गर्न सक्दैन थिए । त्यसैले कुनै असम्बन्धित मुलुकको असन्तुष्ट राजनीतिक शक्तिको काँधमा बन्दुक राखेर चलाउन चाहन्थे । जसमा उनीहरू सफल पनि भए, कामको परिणाम नराम्रो भएको भए त्यसको अवगालको हिस्सेदार बीपी र नेपाली काङ्ग्रेस पनि हुने थिए, तर राम्रो भएको जसमा आज कतै पनि बीपी वा नेपाली काङ्ग्रेसको नाम छैन ।