खेलकुदमा चाकरीको पराकाष्ठा

खेलकुदमा चाकरीको पराकाष्ठा


गौतमपत्नी तुलसाको शिरमा कबड्डी ताज !
Tulasa-thapa

– श्रीविक्रम भण्डारी
SB Bhandari
राष्ट्रिय खेलकुद परिषद्ले गत साता कबड्डी सङ्घको पुनर्गठन गरेपछि खेलकुदको विवाद चरमोत्कर्षमा पुगेको छ । अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाको दबाब र हस्तक्षेपमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले कबड्डी सङ्घको पुनर्गठन गरेका हुन् । विगत लामो समयदेखि समानान्तर सङ्घको रूपमा रहेको कबड्डी सङ्घमाथि एमालेकरण गर्न सदस्यसचिव विष्टले एनओसीका अध्यक्ष श्रेष्ठको इसारामा यस्तो गैरकानुनी हर्कत गरेका हुन् । राखेपले कबड्डी सङ्घका निर्वाचित अध्यक्ष लालकुमार लामाले उक्त खेलको विकासका लागि कुनै कार्य नगरेको आरोप लगाउँदै सहमतिमै पुनर्गठन गरेको दाबी गरेको छ । राखेपले लामाको कमिटीलाई विघटन गर्दै एमालेका नेता वामदेव गौतमकी पत्नी तुलसा थापाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको थियो । उक्त कार्यसमितिमा अध्यक्ष लामालाई वरिष्ठ उपाध्यक्षमा राखिएको छ । जसको जानकारी पुनर्गठन गर्ने राखेपबाहेक कसैलाई थाहा छैन । प्राप्त जानकारीअनुसार खेलकुदमा एमालेकरण गर्न र राप्रपाको पत्तासाप गर्न यो षड्यन्त्र रचिएको स्रोतको दाबी छ । अन्यथा एउटा निर्वाचित सङ्घलाई शक्तिको आडमा राखेपले कदापि विघटन गर्ने थिएन । राखेपको यो कदमले अब निर्वाचित कमिटीको हैसियत पनि शक्तिको अगाडि शून्य भएको छ । यसले खेलकुदमा अराजकता ल्याउने पक्का भएको छ ।

प्राप्त जानकारीअनुसार आफ्नो कार्यकाल सकिएपछि पाँच महिनाअघि नेपाल कबड्डी सङ्घका पदाधिकारीले निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग स्वीकृति मागेका थिए । चार–पाँचपटकसम्म निर्वाचनका लागि स्वीकृति माग्दासमेत राखेपले आलटाल गर्दै आएको थियो । बिस्तारै निर्वाचन गरे भइहाल्छ भन्दै दुई साता पहिले कबड्डीको रेफ्री प्रशिक्षण कोर्सका लागि अध्यक्ष लामालाई तीन लाखसमेत राखेपले दिएको थियो । तर, विडम्बना अहिले सम्पूर्ण तयारी भएर प्रशिक्षण गराउने समयमा राखेपले कबड्डी सङ्घलाई विघटनसँगै पुनर्गठन गरेर कबड्डीको हुर्मत लिन कार्य गरेको छ । यदि राखेपको यस्तै मनसाय थियो भने किन प्रशिक्षणका लागि तीन लाख दियो ? अहिले यो प्रश्न अहम् बनेको छ । राखेपको यो हर्कतले सङ्घहरूलाई विवादित बनाउँदै लगेको छ भने त्यसमा कबड्डी सङ्घ पनि परेको छ । यसअघि राखेपको अदूरदर्शिताकै कारण क्रिकेट सङ्घमा दुईवटा सङ्घ बनेका छन् भने क्रिकेट अहिले निलम्बनमा समेत परेको अवस्था छ । त्यस्तै नेपाल बक्सिङ सङ्घ लोकतान्त्रिक तरिकाले निर्वाचन गराउँदासमेत अहिलेसम्म मान्यता पाएको छैन । यसैगरी नेपाल टेबुलटेनिस सङ्घको विवाद र जन्मिएको अर्को सङ्घबारे राखेपको मौनता र ओलम्पिक कमिटीको चलखेल आफैँमा अनुत्तरित छ । एनओसीकै व्यापक चलखेल र हस्तक्षेपका कारणले एउटा सङ्घ दुईवटा हुँदै गइरहेको अवस्थामा राखेपले अप्रत्यक्ष रूपमा एनओसीको दासत्व स्वीकार गर्नु खेलकुदका लागि ठूलो दुर्भाग्य भएको छ ।

चाकरीमा नौलो कीर्तिमान
खेलकुदमा एमालेको एक गुटको राजनीति गर्दै आएका जीवनराम श्रेष्ठ, लामा टेन्डी शेर्पा र केशवकुमार विष्टले कबड्डी सङ्घमा वामदेव गौतमकी पत्नी तुलसा थापालाई अध्यक्ष बनाएर चाकरी गर्नमा नौलो कीर्तिमान कायम गरेका छन् । अन्यथा खेलकुदको ‘खे’ समेत नजान्ने थापालाई उनीहरूले कबड्डी सङ्घको अध्यक्ष कदापि बनाउने थिएनन् । वामदेवलाई खुसी पार्न जीवनराम र टेन्डी शेर्पाले केशव विष्टलाई बलिको बोका बनाउँदै यस्तो उपद्रो गरेपछि अहिले व्यर्थैमा वामदेवपत्नी तुलसा थापा विवादमा तानिएकी छिन् । कबड्डीको सामान्य ज्ञानसमेत नभएकी थापालाई कबड्डीको अध्यक्ष बनाउनु गुटको राजनीतिभन्दा अन्य केही हुन सक्तैन । यहाँ आश्चर्यको कुरा त के छ भने नेता गौतमले आफ्नी पत्नीलाई एउटा विवादित सङ्घको अध्यक्ष बन्न खेलकुदका धमिराका रूपमा परिचित श्रेष्ठ र लामालाई कसरी स्वीकृति दिए त्यो सोचनीय बनेको छ । आफ्नो स्वार्थ पूरा गर्न जोकोहीलाई पनि बलिको बोका बनाउँदै आएका श्रेष्ठ र लामाले यसपटक आफ्नै वरिष्ठ नेताकी पत्नीलाई समेत बाँकी नराखेपछि उनीहरूको षड्यन्त्रको पर्दाफास भएको छ । सर्वोच्चले ओलम्पिक कमिटीलाई अवैधानिक घोषणा गरे पनि तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उक्त कमिटीलाई वैधानिकताको लालमोहर लगाउन एनओसीमा उपस्थित भएर ठूलो गुन लगाएका थिए । त्यसैको गुन तिर्न श्रेष्ठ र लामाले यस्तो रणनीति अख्तियार गरे पनि त्यो अहिले विवादमा परेको छ । उनीहरूले नेता गौतमलाई गुन होइन, बदनाम गर्न सफल भएका छन् । कहिल्यै कुनै विवादमा नपरेकी थापालाई विवादास्पद सङ्घको अध्यक्ष बनाएर उनको चरित्रहत्या गर्दै विवादमा ल्याउने कार्य गरेका छन् । यो चरित्र हत्या गर्ने काण्डलाई नेता गौतमले कसरी लिएका छन् त्यो अहम् विषय बनेको छ भने अब गौतमले उनीहरूविरुद्ध कस्तो कदम अगाडि बढाउँछन् त्यो हेर्न लायक भएको छ । प्राप्त जानकारीअनुसार गृहमन्त्री हुँदा आफूलाई जेलमा कोच्ने गौतमसँग बदला लिन लामाले यस्तो हर्कत गरेको सुनिनमा आएको छ ।

मौखिक सहमतिसमेत गरेको छैन
नेपाल कबड्डी सङ्घका अध्यक्ष लालकुमार लामाले राष्ट्रिय खेलकुद परिषद्ले आफूसँग सहमति गरेर कबड्डी सङ्घको पुनर्गठन गरेको प्रचारप्रति कडा आपत्ति प्रकट गरेका छन् । लामाले राखेपको कदमप्रति आपत्ति प्रकट गर्दै यो आफूलाई सिध्याउने चाल भएको बताएका छन् । राखेपले दुवै पक्षलाई राखेर सहमति भएको बताए पनि आफूले अहिलेसम्म कुनै सहमति नगरेको प्रस्ट पारेका छन् । ‘यदि मैले सहमति गरेको भए माइन्युटमा अवश्य हस्ताक्षर होला । मैले सहमतिको नाममा मौखिक सहमतिसमेत गरेको छैन । राखेपले जे भन्यो त्यो गलत हो, सङ्घको पुनर्गठनबारे मलाई कुनै जानकारी छैन, मैले एक शब्द बोलेको छैन भने सहमति गर्ने कुरै आउँदैन,’ लामाले भने । बिनाकारण एउटा निर्वाचित सङ्घलाई आफ्नो अभीष्ट पूरा गर्न जीवनराम एन्ड कम्पनीले खेलेको खेलप्रति लामाले अफसोच प्रकट गरेका छन् । लामाले आफूलाई कुनै जानकारी नदिए राखेपले उक्त गैरकानुनी कदम उठाएको भन्दै त्यसको डठेर सामना गर्ने बताए । आफूले सङ्घ विघटन गरेको कुरा मिडियामा आएपछि मात्र थाहा भएको बताएका छन् । त्यस्तै आफूलाई किन उपाध्यक्षमा राखियो त्यसबारेसमेत राखेपले जवाफ दिनुपर्ने भन्दै त्यस्तै परे राखेपको मनोमानीविरुद्ध अदालत जानेसमेत लामाले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी खेलकुद विभागका अध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहेका लामाको कबड्डी सङ्घलाई राखेपले जीवनराम र टेन्डी लामाको निर्देशनमा षड्यन्त्रपूर्वक विघटन र पुनर्गठनपछि अहिले सो प्रकरण पार्टीको प्रतिष्ठासमेत बनेको छ ।

ओलम्पिकको दासत्व र विष्टको असफलता
राखेपका सदस्यसचिव केशवकुमार विष्टको खेलकुदप्रतिको धारणा प्रस्ट छ, ‘उनी सबैसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छन् ।’ आफूलाई एमालेको सदस्यसचिवभन्दा पनि मुलुकको सदस्यसचिव भन्न रुचाउँछन् । तर, विष्ट यसमा शतप्रतिशत असफल रहेका छन् । यसर्थमा कि उनी ओलम्पिकको दासत्व स्वीकार गर्न बाध्य छन् । सदस्यसचिवको जिम्मेवारी सम्हालेदेखि नै जीवनराम र लामा टेन्डीले उनलाई यसरी आफ्नो दबाबमा राखेका छन् कि उनी चाहेर पनि सहकार्य गरेर अगाडि बढ्न सकेका छैनन् । पछिल्लो समयमा खेलकुदमा घटेका घटना यसका साक्षी हुन् । क्रिकेट, बक्सिङ, टेबलटेनिस र कबड्डीको विवाद विष्टले नभई जीवनराम र टेन्डीले निम्त्याएका र निकालेका हुन् । उनीहरूको हर्कतले विष्ट बदनाम भइरहेका छन् । उनको कार्यकाल असफल बन्दै गइरहेको छ । तर, श्रेष्ठ र लामा अझै विष्टलाई दलदलबाट निकाल्नेभन्दा पनि उनको खेलकुदमा पत्तासाफ गर्ने अभियानमा लागेका छन् । परिणाम, विष्ट जेलको चार दिवारीको कैदीजस्तै बनेका छन् । उनी यो कैदी जीवनबाट कहिले छुटकारा पाउने हुन् त्यसको अत्तोपत्तो पनि छैन । तर, हालै एउटा कुरा जानकारीमा आएको छ ‘रियोबाट फर्किएपछि विष्टले सबै दिवार तोड्ने भनेर ।’ हेरौँ यसमा विष्ट कति सफल हुन्छन्, त्यो प्रतीक्षाको विषय बनेको छ ।