
मित्रराष्ट्र भारतको ७०औँ स्वतन्त्रता दिवस (१५ अगस्ट) काठमाडौंस्थित भारतीय राजदूतावास परिसरमा आयोजित एक सार्वजनिक समारोहबीच मनाइएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत रणजित रायले आफ्नो मुलुकको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गर्नुभयो । साथै उहाँले स्वतन्त्रता दिवसको अवसरमा भारतीय राष्ट्रपतिको तर्फबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो । भारतीय राष्ट्रपतिको सन्देशमा अफ्रिका तथा एसिया प्रशान्त क्षेत्रमा पारस्परिक समझदारीका साथ त्यस क्षेत्रका मुलुकसँगको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउने दिशामा भारतको विदेश नीति केन्द्रित रहेको उल्लेख छ । विशेषगरी भारत आफ्नानिकट छिमेकीसँग साझा मूल्य र पारस्परिक लाभका आधारमा द्विपक्षीय सम्बन्धमा नयाँ आयाम स्थापित गर्ने प्रक्रियामा रहेको उल्लेख गरिएको उक्त सन्देशमा छिमेकमा शान्ति र स्थायित्वका लागि भारतको सहयोगमा जोड दिइएको छ ।
राजदूत रायले भारतीय सेनाका भूपू सैनिकका चौधजना विधवा, आश्रित तथा शारीरिक रूपले अशक्त भूपू सैनिकहरूलाई चार करोड रुपैयाँको चेक तथा कम्बलसमेत उक्त समारोहबीच वितरण गर्नुभयो । साथै उहाँले नेपालका दुर्गमसहित विभिन्न स्थानमा रहेका ५९ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरूलाई विभिन्न पुस्तक पनि उपहारस्वरूप प्रदान गर्नुभयो । उक्त अवसरमा नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक सङ्घसंस्था तथा शैक्षिक संस्थालाई शैक्षिक तथा स्वास्थ्य सेवा उन्नयनका लागि ४० वटा एम्बुलेन्स र आठवटा बससमेत उपहारस्वरूप प्रदान गरिएको थियो । नेपालको विकासका लागि भारतको निरन्तर सहयोगस्वरूप राजदूत रायले ३६ वटा एम्बुलेन्स र ६ वटा बस तथा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतले चार एम्बुलेन्स तथा दुई बस उपहारस्वरूप प्रदान गर्नुभयो ।
भव्य सांस्कृतिक समारोहसहित सम्पन्न कार्यक्रममा सत्तरीवटा योजनामाथि प्रकाश पार्ने एउटा छोटो चलचित्रसमेत प्रदर्शन गरिएको थियो जसमा भारत सरकारले विमोचन गरेका कार्यक्रम र भारतीय विदेश मन्त्रालयको सार्वजनिक सेवा योजना ‘मदद’ पनि समावेश गरिएका थिए । उक्त कार्यक्रममा १२ र १३ अगष्टमा जनकपुरमा ‘रामायण सर्किट कला वर्कसप’ सम्पन्न गर्ने पाँच भारतीय र सात नेपाली गरी बाह्रजना कलाकारलाई सम्मान पनि गरियो ।
ज्ञातव्य छ, सन् १९९४ देखि भारत सरकारले नेपालका ७३ जिल्लाका विभिन्न संस्थालाई पाँच सय ८२ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । स्वास्थ्य सेवामा पहुँच नभएका हजारौँ मानिसको घरदैलोमा यसले स्वास्थ्य सेवा पुर्याउन सहयोग गरेको छ । भारतले नेपालका २५ जिल्लाका विभिन्न शैक्षिक र परोपकारी संस्थालाई एक सय १४ वटा बस पनि उपहारस्वरूप प्रदान गरेको छ, जसले हजारौँ विद्यार्थीका लागि शिक्षामा सहज पहुँचको प्रत्याभूति दिएको छ ।

सम्बन्ध थप प्रगाढ बनाउन जोड
यसैबीच अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले दुवै मुलुकको हितका लागि नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले राजधानीमा आयोजना गरेको कार्यक्रमका वक्ताले विकास र आर्थिक समृद्धिबाट मात्र नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने तर्क गरे ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले छिमेकी मुलुकमा अस्थिर र अशान्ति भयो भने त्यसको असर भारतमा पनि पर्ने भएकाले भारतले छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको बताउनुभयो भने पूर्वउपराष्ट्रपति परमानन्द झा, नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी, नेकपा (माले)का महासचिव सीपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबरा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेल, नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, नेपाल–भारत प्रबुद्ध समूहका सदस्य नीलाम्बर आचार्यलगायतले छिमेकी मुलुकले हासिल गरिरहेको आर्थिक समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने र दुवै मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत प्राडा लोकराज बराल, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित, प्राडा सुरेशराज शर्मा, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, साल्ट ट्रेडिङ कर्पाेरेसन लि.का अध्यक्ष लक्ष्मीदास मानन्धर, त्रिवि हिन्दी विभागका प्रमुख श्वेता दिप्ती, ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, चिरञ्जीवीलाल अग्रवाललगायतलाई सम्मान गरिएको थियो ।
‘कवाली’मा राष्ट्रपति
नेपालस्थित भारतीय दूतावास तथा भारतीय सांस्कृतिक केन्द्रले राजधानीमा आयोजना गरेको ‘शाम ए कवाली’ नामक साङ्गीतिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । कार्यक्रममा भारतका चर्चित गायक जफर निजामी र उनको समूहले विभिन्न कवाली गीत–सङ्गीत प्रस्तुत गरेको थियो । भारतको ७०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नेपालका लागि भारतीय राजदूत रणजित रायलगायतको सहभागिता थियो ।
प्रतिक्रिया