
नेपाली समाजका द्वन्द्वप्रभावितहरूलाई एक–आपसमा पुनर्मिलन या अन्तरघुलन गराउने उद्देश्यले लुम्बिनीमा बृहत् जमघट गराइएको छ । आपसी सद्भाव कायम रहोस् भन्ने उद्देश्यले उनीहरूको सम्मानमा स्थानीय शान्ति समिति रूपन्देहीको आयोजना तथा नमूना एकीकृत विकास परिषद् र संवाद परियोजनाको सहयोगमा मायादेवी मन्दिर परिसर लुम्बिनीमा पुनर्मिलन गराउँदै वृक्षरोपणसमेत गरिएको थियो । गत आइतबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यतामा पहिलो चरणमा वृक्षरोपण कार्यक्रम सम्पन्नपश्चात् उनीहरूबीच एक–आपसमा अन्तरघुलन तथा पुनर्मिलन गराइएको हो ।
कार्यक्रममा उपस्थित द्वन्द्वप्रभावितहरूमध्ये सरकार पक्ष र विदोही पक्षबाट भएका द्वन्द्वप्रभावितबीच एक–आपसमा मायाको चिनो साटासाट गराई अन्तरघुलन गराइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले मन शान्ति नभएसम्म अन्य कुनै पनि काम सफल हुन नसक्ने बताउँदै शान्ति स्थापनाका लागि स्थानीय शान्ति समितिले गरेको प्रयासका लागि प्रशंसा गरे ।
कार्यक्रम संयोजक तथा स्थानीय शान्ति समितिका निवर्तमान संयोजक ज्ञानु पौड्यालले लुम्बिनी भूमि तथा आसपासमा बसेर पनि यहाँका बासिन्दाले लुम्बिनीको महत्त्व बुझ्न नसक्दा बत्तीमुनिको अँध्यारोजस्तै हुन पुगेको उल्लेख गर्दै शान्ति स्थापनामा लाग्न सबैलाई आग्रह गरिन् । कार्यक्रमको अध्यक्षतासमेत गरेकी पौड्यालले द्वन्द्वप्रभावितबारे बोल्दै समाजमा भएका उनीहरूलाई केही मात्रामा आत्मनिर्भर बनाए पनि अब सम्पूर्णलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने बताइन् । उनले विगतमा आफू शान्ति समिति संयोजक हुँदा रूपन्देही शान्ति समिति नेपालमै उत्कृष्ट भई पाएको रु. दुई लाख पुरस्कारमध्ये रु. ५० हजारमा उक्त कार्यक्रम गरेको बताउँदै बाँकी एक लाख ५० हजार रकमबाट रूपन्देहीका विभिन्न स्थानमा भएका अति विपन्न पीडित महिलालाई सीपमूलक तालिमको व्यवस्था गरी उद्यमी महिला बनाउनमा खर्च गर्नेसमेत बताइन् । त्यस्तै विशिष्ट अतिथि तथा स्थानीय शान्ति समितिका संयोजक आनन्दप्रसाद गुप्ताले शान्ति समितिले पीडितहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिमको व्यवस्था गरे पनि उनीहरू तालिम प्राप्त भएर अझै बेरोजगार हुनुपरेको बताउँदै सरकारले त्यसमा ध्यान दिनु जरुरी रहेको बताए ।
कार्यक्रममा राज्य पक्षबाट बेपत्ता परिवारको तर्फबाट बोल्दै केदार काफ्लेले हिजोका दिनमा राज्यपक्ष र विद्रोही पक्षबाट भएका पीडितबीच एक–आपसमा बोलचाल नहुने अवस्था रहेकोमा हाल यस्ता कार्यक्रमका कारण ती समस्या हटेकोमा खुसी व्यक्त गरे । त्यस्तै बिद्रोही पक्षबाट मृतक परिवारको तर्फबाट बोल्दै जानकी घिमिरेले नमूना एकीकृत विकास परिषद्, शान्तिका लागि संवाद परियोजना साथै शान्ति समितिसमेतको प्रशंसा गरिन् । स्थानीय शान्ति समिति रूपन्देहीका सचिवालय सदस्य चोपलाल आचार्यको स्वागत मन्तव्य तथा स्थानीय शान्ति समितिका कार्यालय सचिव सन्तोष पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया