नेविसङ्घका कारण कांग्रेसको बेइज्जत

नेविसङ्घका कारण कांग्रेसको बेइज्जत


NSU-11-conventation

नेपाल विद्यार्थी सङ्घलाई आफ्नो पकडमा राख्न केही नेताहरूबीच चलेको अस्वस्थ प्रतिस्पर्धाका कारण दुई हप्ताअघि सुरु भएको अधिवेशन लज्जाजनक हुन पुग्यो र नेविसङ्घका पूर्वअध्यक्षहरू गोविन्द भट्टराई र गुरुप्रसाद घिमिरे तथा पूर्वमहामन्त्री गगन थापा मात्र नभई नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासम्मले सङ्घको राजनीतिमा विशेष रुचि राखेपछि स्थिति खलबलिएको बताइएको छ । काठमाडौंमा आफूलाई ‘सिध्याउने’ खेल भएको सूचना पाएपछि नेविसङ्घको महाधिवेशनमा काठमाडौंबाट भाग लिने प्रतिनिधि चयनमा प्रकाशमान सिंहले विशेष रुचि लिएका थिए ।

त्यस्तै पार्टीमा बलियो नेटवर्क बनाउन भ्रातृ संस्थाहरूमा समेत पकड कायम गरिनुपर्छ भन्ने रणनीतिक योजनाका साथ कृष्णप्रसाद सिटौला पनि महाधिवेशनका क्रममा सक्रिय भएका थिए । सिटौलासँगको परामर्शमा गगन थापा पनि आफ्ना समर्थक प्रतिनिधिहरूको सङ्ख्या बढाउन सक्रियतापूर्वक लागेका थिए । स्मरणीय छ, नेपाल विद्यार्थी सङ्घमा पुरानो संस्थापन पक्षको पकड कायम रहँदै आएको छ र उक्त पक्ष पकड गुम्न नदिन यो महाधिवेशनमा निकै सचेत देखियो । नेविसङ्घ अध्यक्ष रञ्जित कर्ण, पूर्वअध्यक्षहरू गोविन्द भट्टराई र गुरुप्रसाद घिमिरेले जिल्ला र क्याम्पसहरूबाट प्रतिनिधि चयन गर्ने क्रममा नै आफ्ना समर्थकहरूको सङ्ख्या बढाउने प्रयत्न गर्दै आएका थिए । पूर्वअध्यक्ष बलबहादुर केसीले अन्य जिल्लामा केही नगरे पनि गृहजिल्लामा आफ्ना समर्थकहरूलाई मात्र प्रतिनिधि बनाउन खोजेका कारण विवाद उत्पन्न भएको थियो । जुन जिल्लामा आफूप्रतिकूल प्रतिनिधि सङ्ख्या अधिक हुने देखियो ती जिल्लामा अध्यक्ष रञ्जित कर्णसहितको टोलीले ज्यादा हस्तक्षेप गर्न खोज्दा विवाद उत्पन्न भएको थियो ।

भक्तपुर, धनुषा, पर्सा, रौतहट, रूपन्देही, कञ्चनपुर, कास्की, सोलुखुम्बु र सिरहालगायतका एघार जिल्लामा ‘अर्को पक्ष’को पकड बलियो देखिएपछि त्यसलाई कमजोर तुल्याउन खोज्दा तनाव र विवाद उत्पन्न भएको बताइन्छ । पार्टी सभापति शेरबहादुर देउवा करिब एक दशकसम्म हुन नसकेको महाधिवेशन सम्पन्न गराएर पार्टीमा त्यसको ‘क्रेडिट’ लिन चाहनुहुन्थ्यो । कसलाई के बनाउने भन्दा पनि अधिवेशन गराउनेबाहेकका कुरामा सभापति देउवाले कुनै रुचि लिनुभएको थिएन । तर, नेविसङ्घलाई पकडमा लिन चाहनेहरूले प्रतिनिधिको विषयलाई लिएर अनशनसमेत बसी रमिता देखाउन थालेपछि प्रतिनिधि सङ्ख्या थपिदिएर भए पनि अधिवेशनचाहिँ सम्पन्न गरेरै छोड्न देउवाले निर्देशन दिनुभएको थियो ।

त्यसैले सिटौला र गगन पक्षको मागबमोजिम २१५ प्रतिनिधि र महेन्द्र शर्माको मागअनुरूप ११० प्रतिनिधि थप गर्न डा. प्रकाशशरण महत नेतृत्वको निर्देशक समिति राजी भएको थियो । प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापा, गोविन्द भट्टराई, प्रदीप पौडेल र गुरुप्रसाद घिमिरेलगायतका व्यक्तिहरू आफ्नो पक्षले जित्ने सुनिश्चित नभईकन निर्वाचनमा जान नचाहेको तथ्य उनीहरूकै व्यवहारले स्पष्ट गरेको छ । सबै विषयमा सहमति भई निर्वाचनमा जाने तयारी भइसकेपछि मंगलबार (साउन ३२ गते) बिहान ११ बजेसम्म उम्मेदवारहरूको मनोनयन दाखिला गर्न समय निर्धारण गरियो । त्यसपछि पनि आफूलाई ३० जना प्रतिनिधि चाहिने माग तेस्र्याएर गुरुप्रसाद घिमिरेले बखेडा निम्त्याउन खोजेबाट पनि यो महाधिवेशनमा समस्या उत्पन्न हुनुको कारण बुझ्न सकिन्छ । जे होस्, ठूलो चलखेलका बीच महाधिवेशन सम्पन्न हुने र नयाँ नेतृत्व अस्तित्वमा आउने भएका कारण अन्तत: यसको सकारात्मक सन्देश जाने देखिएको छ ।