हिन्दूराष्ट्र स्थापनाको लागि खड्का फेरि सक्रिय हुने

हिन्दूराष्ट्र स्थापनाको लागि खड्का फेरि सक्रिय हुने


khum-Bhadur-Khadka 33

नेपाली कांग्रेसका प्रभावशाली मानिने नेता खुमबहादुर खड्काले हिन्दूराष्ट्र स्थापनाका निम्ति सुरु भएको महाअभियानलाई पुन: गति दिनुहुने भएको छ । खड्काको नेतृत्वमा दुई वर्षअघि सुरु भएको महाअभियानमा गत वर्ष उहाँ अस्वस्थ हुनुभएपछि शिथिलता आएको थियो । नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रका पक्षमा वातावरण बनाउने र नेतृत्वलाई दबाब दिने उद्देश्यले कांग्रेसका नेता र कार्यकर्तालाई मात्र समेटेर ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’ सुरु गरिएकोमा अब यसको दायरा फराकिलो बनाउन लागिएको जानकारीमा आएको छ । महाअभियानमा अब कांग्रेस पार्टीमा आबद्ध नरहेका स्वतन्त्र व्यक्ति र अन्य दलमा आबद्ध व्यक्तिहरूलाई समेत समेट्नेबारेमा विचार–विमर्श भइरहेको छ । यस अवधारणालाई मूर्तरूप दिन भदौ ९ गते काठमाडौंमा एक विहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको छ । नेता खड्काको अगुवाइमा सम्पन्न हुने गोष्ठीमा स्वतन्त्र बुद्धिजीवीहरू, हिन्दूराष्ट्र पक्षधर विभिन्न दलका नेता र कार्यकर्ताहरू, सन्त, महात्मा, बुद्धिजीवी र धार्मिक व्यक्ति तथा सङ्घ–संस्थाका प्रतिनिधिहरूलाई सहभागी गराइने बुझिएको छ । उक्त अन्तरक्रियात्मक गोष्ठीमा सहभागीहरूद्वारा प्राप्त सुझावका आधारमा महाअभियानको केन्द्रीय समितिलाई परिमार्जन गरी भावी योजना र कार्यक्रम तर्जुमा गरिने जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।