यस्तो छ ‘माओवादी’हरूको ताजा खबर

यस्तो छ ‘माओवादी’हरूको ताजा खबर


Hemanta Prakash Oli-Biplab

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई दक्षिणपन्थीहरूको समूह भएको आरोप लगाउँदै कम्युनिस्ट न्युक्लियस नेपालसहितका विभिन्न ६ माओवादी सङ्गठनहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी पार्टीमा एकीकृत हुन पुगेका छन् । नेकपा माओवादी, कम्युनिस्ट न्युक्लियर्स नेपाल, माओवादी केन्द्रका सन्देश पौडेल, क्रान्तिकारी माओवादीबाट इस्लाम हवालीलगायत ६ माओवादी घटकबीच हिजो मंगलबार जमलस्थित नाचघरमा ‘क्रान्तिकारी एकता’ भएको हो । सम्बन्धित माओवादी घटकहरूले अत्यन्त महत्त्व दिएर आयोजना गरेको पार्टीएकता कार्यक्रममा नेकपा माओवादीका महासचिव विप्लव, कम्युनिस्ट न्युक्लियसका संयोजक हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका माओवादी नेताहरू सरिक थिए । सुदर्शन जनयुद्धकालका राप्ती विशेष ब्युरोका सह–इन्चार्ज हुन् ।

‘क्रान्तिकारी ध्रुवीकरणका लागि क्रान्तिकारी माअ‍ोवादीहरूबीचको एकता’ भनी प्रचारित सो एकतालाई माओवादी जनयुद्धको वास्तविक एकता भन्ने विशेषणसमेत दिइएको छ । विचारणीय के छ भने यतिबेला विप्लवसँग गाँसिन आइपुगेका हेमन्तप्रकाश ओली केही समयअघिसम्म प्रचण्डका प्रखर अनुयायीका रूपमा चिनिन्थे ।

यसैबीच हेमन्तप्रकाश ओलीले विप्लव माओवादीसँगको एकतालाई ऋषिराज बराल र शिवसुन्दर शाही नामक व्यक्तिले विरोध गरेकोमा बराल र शाहीको खोइरो उतारेका छन् । न्युक्लियसको लेटरप्याड दुरुपयोग गरी एकता प्रक्रियाको विरोधमा विज्ञप्ति निकाल्ने बराल र शाहीहरू चरम अवसरवादी र पदलोलुप व्यक्ति भएको दाबी उनले गरेका छन् । न्युक्लियसमा रहँदा बराल र शाही कहिल्यै मिल्न नसकेको तर क्रान्तिकारी एकतालाई भाँड्न बरालको उक्साउटमा शाही लागेको आफूहरूको बुझाई रहेको पनि उनले खुलासा गरेका छन् । क्रान्तिकारी आन्दोलनबाट भाग्न बरालले एकीकृत जनक्रान्तिको विरोध गरेको र मोहन वैद्य नेतृत्वको माओवादीले कहिल्यै क्रान्ति नगर्ने भएकोले बराल वैद्यतिर जान आतुर रहेको भन्दै धज्जीसमेत उडाइएको छ ।

यसैबीच आफूले रोजेको मन्त्रालयसहित मन्त्री बन्न नपाएको झोँकमा प्रभु साहलगायतका माओवादी नेताहरू प्रचण्डलाई सवक सिकाउन उद्यत् रहेका बुझिएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईका खास मान्त्रे भनेर चिनिएका साहले सल्यानका माओवादी सांसद टेकबहादुर बस्नेतलाई साथ लिएर छुट्टै समूह खडा गर्ने सोच बनाएर सक्रिय रहेको माओवादीभित्रै चर्चा छ । यसैगरी, मन्त्री नपाएर असन्तुष्ट बनेका माओवादी सांसद्हरूलाई उकासेर माओवादी केन्द्रमा खल्बली मच्चाउने राणनीति नयाँ शक्ति नेपालभित्र बन्दै गरेको पनि बताइएको छ ।