अवैध क्लिनिकमाथिको अनुगमन ‘झाराटराइ’ मात्र !

अवैध क्लिनिकमाथिको अनुगमन ‘झाराटराइ’ मात्र !


8 Lab-768x512

रूपन्देही/ जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जिल्लामा अवैध रूपले सञ्चालित निजी क्लिनिक, ल्याब तथा फार्मेसीको अनुगमन कार्य सुरु गरेको छ । दर्ता नगरी सञ्चालन भइरहेका निजी क्लिनिकहरूले जनस्वास्थ्यमा खेडबाड गर्ने प्रबल सम्भावना रहेकोले अवैध संस्थाको अनुगमन गरी कारबाही गर्ने उद्देश्य राखिएको जिल्ला जनस्वास्थ्य प्रमुख टंक चापागाईंले बताए ।

अनुगमनको क्रममा बुटवलका दुई निजी क्लिनिकमा सिलबन्दी गरिएको छ । बुटवल–११ स्थित तिनकुने चोकमा सञ्चालित एक र बुटवल–८ तिलोत्तमा पथमा रहेको अर्को क्लिनिकमा टोलीले सिलबन्दी गरेको हो । ती क्लिनिक बिनादर्ता र प्राविधिकबिना नै सञ्चालन गरेको पाइएकाले सिलबन्दी गर्नुपरेको चापागार्इंको भनाइ छ । यस्तै, जनता फर्माका सञ्चालक कृष्णप्रसाद न्यौपानेलाई कागजातसहित जिल्ला जनस्वास्थ्यमा उपस्थित हुन निर्देशन दिइएको बताइएको छ । अनुगमनका क्रममा जनता फर्मामा भएका कागजातहरू ठीक भए पनि सक्कली कागजपत्र नभएका कारण सक्कल कागजपत्रसहित उपस्थित हुन न्यौपानेलाई टोलीले निर्देशन दिएको हो ।

अनुगमनमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईं, जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत तुल्सीराम भण्डारी, प्रहरी निरीक्षक नरबहादुर खड्का, सशस्त्र प्रहरी निरीक्षक सुरज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका अनुप श्रेष्ठ, लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ मेडिकल टेक्लोलोजिस्ट विनोदकुमार ज्ञवाली, लुम्बिनी अञ्चल अस्पतालका फार्मेसी अधिकृत नरनारायण बेलबासे तथा रेडियोग्राफिक निरीक्षक सुकइप्रसाद चौधरी सहभागी थिए ।

जनस्वास्थ्य प्रमुख चापागाईंले स्वास्थ्य क्षेत्रमा निरन्तर अनुगमन हुने र दोषी भेटिएका सबैलाई कानुनअनुसार कारबाही हुने बताए पनि जनस्वास्थ्यको यो अनुगमनलाई स्थानीयले चाहिँ झारा टार्ने काम मात्र भएको गुनासो गरेका छन् । वर्षमा एकपटक त्यही पनि कसैको उजुरीको आधारमा अनुगमन गर्नु झारा टार्नु मात्र भएको उनीहरूको तर्क छ । बिरामीमाथि खेलबाड गर्ने निजी क्लिनिक, ल्याब तथा नर्सिङ होमहरूमाथि नियमित अनुगमन र आवश्यक कारबाही हुनुपर्ने स्थानीयको माग छ ।
– चन्द्रकान्त खनाल