बीपी र पार्टी नेतृत्व

बीपी र पार्टी नेतृत्व


SN Karki

– स्वयम्भूनाथ कार्की

भारतीय स्वतन्त्रता आन्दोलनताका बाल्यकालदेखि नै त्यसको हरेक आयाममा बीपीको संलग्नता रह्यो । गान्धीको अहिंसात्मक आन्दोलनदेखि आतङ्कवादीको गतिविधिसमेतमा उनको सक्रियता रह्यो । चौध–पन्ध्र वर्षको उमेरमा नै जेलसमेत परे । परिच्छेद ५ मा उनी भन्छन्, ‘बाँदरसेनाका ठिटाहरू पनि थुप्रै थुनिएका थिए । जेलमा पुग्नासाथ त पहिले डाक्टरी परीक्षण हुँदोरहेछ । वयस्क भनेर ठूल्दाजुलाई त राम्रो ठाउँमा राख्यो, त्यहाँ श्रीप्रकाशहरू थुनिएका थिए । मलाई त केटाकेटी भनेर नाबालक वार्डमा पठाइदियो ।’ भारतमा हरेक जेल यात्राले बीपीलाई परिचितहरूको सङ्ख्या बढाउने र आफूलाई थप परिष्कृत गर्ने अवसर पनि दियो । आन्दोलका सबै घटकसँग सम्पर्कमा रहेर काम गरे पनि समाजवादीहरूसँग निकटता धेरै रह्यो । सबैतिर उनी एक ऊर्जाशील कार्यकर्ताको रूपमा रहे ।

माक्र्सवाद भारतीय सन्दर्भमा कस्तो हुन सक्तछ भन्ने चिन्तन कम्युनिस्टहरूको कट्टरताको बीचबाट सामाजिक न्यायको बाटो पहिल्याउने प्रयास थियो । गान्धीको अहिंसा र कम्युनिस्टको वर्गविहीनताको सम्मिश्रणको रूपमा भारतमा समाजवादको अवधारणा जन्मँदै थियो । जयप्रकाश, आचार्य नरेन्द्रदेवहरूसँगको निकटताले आङ्खफ्ना साथीहरूसहित यो समाजवादी आन्दोलनका हिस्सा हुन पुगेका बीपीलाई लेख्ने कुराको प्रमुख जिम्मेवारी दिइयो । बीपीको कार्यक्षेत्र प्रमुख रूपमा विहार नै रह्यो । केन्द्रीय नेतृत्वको निकट रहेर महत्वपूर्ण जिम्मेवारी बहन गरे पनि नेतृत्वमा जानसक्ने गरेर बीपीले आफूलाई विकसित गर्न बाँकी नै थियो । नेपाली राष्ट्रिय काङ्ग्रेसको गठनपछि सोसलिस्ट पार्टीमा आफ्ना अधुरा काम पूरा गर्ने क्रमको रोचक प्रसङ्ग परिच्छेद १२को अन्ततिर बीपीले उल्लेख गरेका छन् । ‘अरुणा आसफ अलीकी बहिनी थिइन्, पूर्णिमा बनर्जी, उनले नेतृत्वमाथि आरोप पनि लगाइन्– ‘एउटा विद्यार्थीजस्तो मान्छेलाई मिलाउने काममा पठाएको भनेर ।’ नेपाली राष्ट्रिय काङ्ग्रेस गठन गरेर नेपाली क्रान्तिको बिँडो थाम्न तयार भएको अवस्थामा पनि सोसलिस्ट पार्टीमा केन्द्रीय प्रतिनिधिको रूपमा स्थापित हुन पनि सङ्घर्ष बाँकी नै थियो ।

सन १९४७को जनवरी २५ मा नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन गर्नेबित्तिकै मार्चमा नै बीपीलाई विराटनगर जुटमिलको आन्दोलनमा भाग लिन आउनुप¥यो । करिब दुई महिना नेतृत्वमा रहेर विराटनगर आएका बीपी समातिएर पहाडको बाटो काठमाडौं चलान गरिए । विराटनगरबाट काठमाडौं पुग्न तीन हप्ताको पैदल यात्रा भयो । पद्मशमशेरको यो थुनामा बीपीले बन्दी भएको मनस्थितिबाहेक अन्य कष्ट भोग्नुपरेन । कतिसम्म भने खानाको थाल झटारो हान्दा क्याप्टेनलाई लाग्यो तैपनि कुरा चर्किएन, दिनमा एकजनालाई ५० खिल्ली चुरोट दिइएको थियो । किताब, अखबार पनि निर्वाध दिइएको थियो । यदि यो प्रसङ्ग परिच्छेद १४मा नहुँदो हो त विश्वास गर्नै कठिन हुने थियो । गान्धी, राममनोहर लोहियालगायत भारतीय नेताको दबाबमा र घाँटीको बिमारीले गर्दा पद्मशमशेरले बीपीलाई छोडे, तर अरू साथीहरू भने जेलमै रहे । छुटेपछि पार्टीको काममा लागेका बीपीको नेतृत्व सम्भवतः पहिलोपल्ट विवादमा प¥यो । यसलाई उनी यसरी प्रस्तुत गर्दछन्, ‘इलाजका लागि बाहिर जानासाथ फेरि मैले पार्टीभित्रको आफ्नो काम शुरु गर्न थालिहालेँ । अनि विवाद शुरु भयो, पार्टीको नेतृत्वलाई लिएर ।’

सन् १९४७ सेप्टेम्बर–अक्टुबरतिर छुटेका बीपी र डिल्लीरमणबीच १९४८ मार्चसम्म नै नेतृत्वको किचोलो रह्यो । काठमाडौंमा आफ्नो पक्षमा नराम्रा हल्ला चलाएर आफ्नो नेतृत्वलाई चुनौती दिइएको महसुस गरेर त्यहाँ सङ्गठन गर्न बीपी, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथित त्यता लागे । पद्मशमशेर भारत पलायन भइसकेका थिए । अब राणशासनको वागडोर मोहनशमशेरको हातमा थियो । निर्वाध रूपमा काठमाडौं पुगेर सङ्गठन गर्न थालिसकेका बीपी मोहनशमशेरसँग भेटघाट गर्ने चाँजो मिलाउन लागे । चाँजो त मिलेन नै बरु उनी समातिए । आफ्नो त्यति धेरैपटकको जेलयात्रामा सबैभन्दा कठिन र कष्टकर बन्दीजीवन भोग्नुप¥यो । घामको उज्यालोसम्म देख्न नपाउने अवस्थाको अनि अमानवीय व्यवहारसहितको त्यो बन्दीजीवन खुकुलो त्यसबेला भयो जब भारतीय प्रधानमन्त्रीको हैसियतमा नेहरूले मोहनशमशेरसँग यसबारे कुरा गरे । अनशन बसेका बीपीलाई बचाउन एक शुभचिन्तक भएर नेहरूले बीपी बचाउन मात्र होइन मोहनशमशेरको कैदबाट मुक्त गर्नसमेत सफल भए ।

बीपीको यो कहिले थुनाभित्र कहिले बाहिरको अवस्थाको बेलामा नेपाली राष्ट्रिय काङ्ग्रेसको नेतृत्व मातृका कोइरालाले गरिरहेका थिए । नेपाली डेमोक्रेटिक काङ्ग्रेस, राष्ट्रिय काङ्ग्रेसको समानान्तर काम मात्र गरिरहेको थिएन, बरु राष्ट्रिय काङ्ग्रेसको गठनमा हरसम्भव सहयोग पनि गरिरहेको थियो । जयतु संस्कृतमजस्ता आन्दोलनहरू अन्य धेरै ससाना समूहले सञ्चालन गरिरहेका थिए । यस अवस्थामा समयको माग थियो सबै क्रान्तिकारीबीच समन्वय र सम्भव भएसम्म एकीकरण गर्नु । यसैले बीपी मोहनशमशेरको थुनाबाट मुक्त भएर आएपछि दुई काङ्ग्रेसबीच एकीकरणको दबाब बढ्यो । सहयात्रा तथा सहकार्य हुँदै रहेकाले यो एकीकरण कठिन कुरा थिएन, केवल केही नितान्त औपचारिक विषयमा छलफल हुनुपर्ने थियो । परिच्छेद २८ मा बीपी भन्छन्, ‘तीनवटा कुरामा निर्णय गर्नुपरेको थियो । एउटा, झन्डा के हुने ? दोस्रो अध्यक्ष को हुने ? र, तेस्रो पार्टीको नाम के हुने ?’

यो औपचारिकता सहज ढङ्गले पूरा भयो, झन्डा डेमोक्रेटिकको, अध्यक्ष राष्ट्रियको र नाममा दुवैले बीचको शब्द झिक्ने र नेपाली काङ्ग्रेस नाम राख्ने । मातृका कोइराला पदेन नै नयाँ पार्टीको अध्यक्ष बने, झन्डाको कुरोमा गिरिजासम्मलाई पनि चित्त बुझेन, अध्यक्षबारे पनि गणेशमान र बीपीले विवशतापूर्वक स्वीकार गरे । तै कुनै किचलो भएन । किनभने बीपीकै शब्दमा ‘उताकाहरू मातृकाबाबु र ममध्ये ठूल्दाजुलाई नै मन पराउँथे, उहाँ मिलनसार हुनुहुन्छ भनेर’ बीपीको नजरमा मातृका थपनाको मान्छे थिए, भन्छन्, ‘पछि नराम्रो पनि भयो, थपनाको मान्छे अध्यक्ष भइदिएकाले ।’ मातृका कोइरालाको अध्यक्षता निरन्तर चल्यो, पछि उनी प्रधानमन्त्री भएको बेला विशालनगरमा विशेष अधिवेशन गरेर उनलाई हटाउनुप¥यो । त्यसपछि बीपीले अकन्टक नेपाली काङ्ग्रेसको नेतृत्व गरे । उनको नेतृत्वलाई चुनौती दिनसक्ने मातृकाले नेपाली काङ्ग्रेस छोडेर अर्को पार्टी खोलेपछि हालसम्म पनि नेपाली काङ्ग्रेसमा नेतृत्व बीपीको नाम तथा उत्तराधिकारमा नै चल्दै छ ।