खेलकुद क्षेत्रमा अराजकताको रहस्य खुल्दै

खेलकुद क्षेत्रमा अराजकताको रहस्य खुल्दै


एउटै संस्थाको तीनवटा विधान !

ANFA (1)

खेलकुद क्षेत्र सधैँ विवादित, अराजक र अस्थिर हुनुको अर्को एउटा रोचक रहस्य उद्घाटित भएको छ । खेलहरूको ‘राजा’ मानिने फुटबललाई व्यवस्थित र अब्बल तुल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विधान नै तीन प्रकारको भएपछि त्यस्तो संस्था कसरी व्यवस्थित, मर्यादित र अनुशासित हुनसक्छ भन्ने प्रश्न उठेको छ । कुनै पनि सङ्घसंस्थाको एउटै मात्र विधान हुन्छ र विधानअनुसार सङ्घसंस्था परिचालित एवम् सञ्चालित हुनुपर्छ । तर, एन्फामा भने तीन प्रकारका विधानलाई आवश्यकता तथा पदाधिकारीहरूको स्वार्थअनुरूप प्रयोगमा ल्याइने गरिएको छ । एन्फाका पदाधिकारीलाई कतिबेला कस्तो निर्णय लिने इच्छा हुन्छ त्यतिबेला सोहीअनुकूल हुने कुनै एउटा विधानलाई अघि सारेर निर्णय लिने काम हुँदै आएको छ ।

प्राप्त जानकारीअनुसार एन्फाका लागि राष्ट्रिय खेलकुद परिषद्ले विधिवत् निर्माण गरिदिएको एउटा विधान छ भने एएफसीले अन्तर्राष्ट्रिय स्तरको अर्को एउटा विधान पनि एन्फालाई उपलब्ध गराएको छ । त्यतिले मात्र नभएर एन्फा आफैँले पनि अर्को एउटा विधान बनाएर लागू गरेको छ । सो विधानमा एन्फाका तात्कालिक अध्यक्ष गणेश थापाले आफ्नो निजी स्वार्थलाई केन्द्रबिन्दुमा राखेर कस्ता प्रावधानसमेत समावेश गरेका छन् भने सो विधान पढ्नेहरूले नै लाज मान्नुपर्ने अवस्थाको छ । विधानको खण्ड ४५ (निर्वाचन) को दफा १० मा लेखिएको छ– ‘…अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष ३ कार्यकाल (१२ वर्ष) का लागि मात्र निर्वाचित हुन पाउनेछन् । यसरी निर्वाचित भएको अध्यक्ष लगातार तेस्रो कार्यकालपछि एन्फाको अध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन पाउनेछैन । तर, यो व्यवस्था मिति २०६६-५÷२२ को निर्वाचनदेखि गणना हुनेगरी लागु गरिनेछ ।’

यसप्रकारको प्रावधान राख्नुको पछाडि गणेश थापाको व्यक्तिगत स्वार्थ कारण भएको स्पष्ट देखिन्छ । २०५२ सालदेखि लगातार एन्फाको अध्यक्ष रह“दै आएका गणेश थापाले २०६६ सालपछि मात्र उल्लिखित प्रावधान लागू हुने व्यवस्था गर्नुको सीधा अर्थ गणेश थापा वि.सं. २०७८ सम्म अध्यक्षको रूपमा रहिरहन चाहन्थे भन्ने हो । यसरी विधानलाई आफूअनुकूल बनाए पनि थापा भ्रष्टाचारको आरोपमा १० वर्षका लागि एन्फाबाट निलम्बित हुन पुगेका छन् । र, २०७८ सम्म अध्यक्षको रूपमा रहने उनको सपना भने चकनाचुर भएको छ । गणेश थापाले आफूअनुकूल बनाएकोबाहेक खेलकुद परिषद्को जानकारीमा रहेको विधानमा उपरोक्त प्रावधान समेटिएको छैन । त्यसैगरी एएफसीले तर्जुमा गरेको विधानमा पनि गणेश थापाको इच्छाअनुरूपको प्रावधान भेटिँदैन । यस प्रकरणले खेलकुद क्षेत्र नियम, कानुन र अनुशासनका आधारमा सञ्चालित र परिचालित नभई ‘जसले सक्छ त्यसैले खाने’ इदी अमिन शैलीमा चलिरहेको स्पष्ट गरेको छ ।
(थप विवरण ‘खेलकुद’मा)