नेपाली नेताहरू मलेसियामा

नेपाली नेताहरू मलेसियामा


Narayan-Kaji-Shrestha

प्रमुख राजनीतिक दलका अलग–अलग प्रतिनिधिमण्डलले मलेसियामा आयोजना हुने एसियाली सम्मेलनमा सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर १ र २ तारेख मलेसियाको राजधानी क्वालालम्पुरमा हुने आइक्याप (ICAPP) को सम्मेलनमा नेपाली काङ्गे्रसका तर्फबाट नेतृ सुजाता कोइरालाले र माओवादीका तर्फबाट वरिष्ठ नेता नाराणकाजी श्रेष्ठले भाग लिने भएका छन् । श्रेष्ठ र कोइरालाले सम्मेलनमा भाग लिन बुधबार (भदौ १५ गते) नै मलेसिया पुग्ने कार्यक्रम बनाएका छन् ।

एसियाका राजनीतिक दलहरूको सोलिड्यारिटीको रूपमा रहेको आइक्याप (एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सभा) मा नेपालका राजनीतिक दलहरू नेपाली काङ्गे्रस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल र फोरमले सहभागिता जनाउँदै आएका छन् । दक्षिण कोरियामा मुख्यालय रहेको उक्त सभाको गत वर्ष सम्पन्न सम्मेलनमा चीनले अवलम्बन गरेको ‘वन बेल्ट वन रोड’ अवधारणाका विषयमा विशेष छलफल भएको थियो । यसपटक ‘अबको एसिया’ अर्थात् एसियाको भविष्यबारे विशेष छलफल हुने बुझिएको छ । एसियाको भविष्यबारे सुजाता कोइरालाको कस्तो धारणा होला र उनले यो गहन विषयमा आफूलाई कसरी प्रस्तुत गर्लिन्, जिज्ञाशाको विषय बनेको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठले सम्मेलनमा जानुअघि ‘विश्वलाई सन्तुलन, शान्ति र स्थिरतातर्फ लैजान यो मञ्चले महत्वपूर्ण योगदान पु¥याउन सक्ने विश्वास नेपालले गरेको’ बताएका छन् ।