बीपीको बेइज्जत गर्दै कांग्रेस !

बीपीको बेइज्जत गर्दै कांग्रेस !


– यादव शर्मा

गत साता देशभरिका कांग्रेस नेता तथा कार्यकर्ताहरू मिलेर कांग्रेसकै संस्थापक नेता बीपी कोइरालाको ‘खिल्ली उडाए’ । विभिन्न स्थानमा आयोजित समारोहमा अतिथि या मुख्य अतिथिका रूपमा उपस्थित भएर कांग्रेसका नेताहरूले भने, ‘बीपी महान् हुनुहुन्थ्यो, हामी उहाँको सपना पूरा गर्न दृढ छौँ, बीपीको सपना हरेक नेपालीलाई दूध र भात खुवाउने थियो ।’

बीपी कोइरालाले नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्तका रूपमा ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’लाई अवलम्बन गर्नुभएको थियो भन्ने तथ्य हामी सबैमा अवगत छ । राष्ट्रियता एउटा प्रतिबद्धता हो भने प्रजातन्त्र राष्ट्रिय समृद्धिको साधन र समाजवादचाहिँ सामाजिक सुरक्षाको कार्यक्रम हो भन्ने जानकारी पनि आमनेपालीलाई हुनसक्छ । राजनीतिका सुरुवाती दिनमा नेपाल र नेपालको इतिहासबारे बीपी स्वयम् दिग्भ्रमित अवश्य थिए, कांग्रेसको पहिलो महाधिवेशनमा दिएको मन्तव्यले उनमा रहेको भ्रम उजगार गरेको छ । तर, अध्ययन र अनुभवको परिपक्वताले बीपीलाई एक सच्चा राष्ट्रवादी नेतामा रूपान्तरण ग¥यो । नेपालमा प्रजातन्त्र स्थापनालाई मुख्य गन्तव्य बनाएर क्रियाशील बीपीले अन्तर्राष्ट्रिय परिवेश, दक्षिण एसियाको राजनीतिमा उत्पन्न असामान्य घटनाक्रम र नेपालको कमजोर आन्तरिक एकतालाई समेत दृष्टिगत गरी वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्कने निर्णय लिएका थिए । बीपीको विचारमा वामपन्थी कम्युनिस्टहरू राष्ट्रियता र प्रजातन्त्र दुवैका निम्ति खतरनाक थिए, छन् । नेपालको इतिहासमा राजाबाट राजनीतिक रूपमा सबैभन्दा प्रताडित नेता बीपी कोइराला राजसंस्थाको गैरहाजिरीमा राष्ट्रियता र राष्ट्रिय एकता कमजोर हुने दृष्टिकोण राख्थे । उनले राजाबाट आफूलाई उपलब्ध गराइएको सास्तीका आधारमा धारणा बनाउने हो भने उनका लागि त्यतिबेलै गणतन्त्र ग्राह्य हुनसक्थ्यो । राजाको हजार प्रहारका बाबजुद बीपीले राजसंस्थाको विकल्प खोज्नु सैद्धान्तिक रूपले नै उचित ठानेनन् ।

bp-koirala

उनको विचारअनुसार मुलुक र प्रजातन्त्रको भविष्यमाथि वामपन्थी कम्युनिस्टहरूबाट जुन स्तरको क्षति पुग्नसक्थ्यो, त्यो राजा या अरू कुनै प्रकारका तानाशाहहरूबाट सम्भव हुँदैन । कम्युनिस्टहरू सिद्धान्ततः अन्तर्राष्ट्रवादी हुन् र देशहरूको सीमा भत्काएर मात्र स्थापना हुने साम्यवादका पक्षमा उनीहरू क्रियाशील छन् भन्ने तथ्यलाई बीपीले राम्ररी बुझेका थिए । सत्तालाई जीवन र सिद्धान्तको अन्तिम गन्तव्य ठान्ने कम्युनिस्टहरू सत्तामा पुग्न र सत्तामा टिकिरहन जस्तासुकै हथकण्डा अपनाउन र जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न पनि तयार हुन्छन् भन्ने बुझेर नै बीपीले कम्युनिस्टहरूसँग निश्चित दूरीको सम्बन्ध बनाएको हुनुपर्छ । युद्धकालमा प्रचण्ड–बाबुरामले भारतका तात्कालिक प्रधानमन्त्री अटलबिहारी बाजपेयीसमक्ष गरेको आत्मसमर्पण भनौँया उनीहरूले एसडी मुनीसँग गरेको सम्झौता, त्यसले पनि कथित क्रान्तिका नाममा कम्युनिस्टहरूले केसम्म गर्न सक्छन् भन्ने तथ्य पुष्टि गरेको छ । अर्थात् बितेका साढे दुई दशकभित्र कम्युनिस्टहरूलाई जुन रूपमा नेपालीले महसुस गरिरहेका छन्, बीपीले उनीहरूको ‘यो रूप’ नदेख्दै ‘यिनले’ केसम्म गर्न सक्छन् भन्ने देखिसकेका थिए । आमकांग्रेसजनलाई बीपीले दिएको सन्देश ‘कम्युनिस्टहरू विश्वसनीय हुँदैनन् र उनीहरूसँग कुनै प्रकारले सहकार्य गर्नुहुँदैन’ भन्ने नै हो । राजा र कम्युनिस्टमध्ये एउटालाई रोज्नुपर्दा बीपी सधैँराष्ट्रियताका निम्ति राजाका पक्षमा उभिने गर्दथे र उभिनुपर्छ भन्दथे । तर, गिरिजाप्रसाद कोइरालाले बीपी–विचारको प्रतिकूल कम्युनिस्टहरूसँग मोर्चाबन्दी गरे ।

गिरिजाले कम्युनिस्टसँग सहकार्य मात्र गरेनन्, उनीहरूका सबै एजेण्डाको स्वामित्वसमेत ग्रहण गरे । गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समानुपातिक प्रणालीलाई कम्युनिस्टको एजेण्डाका रूपमा बुझिन्छ । ०४६ को आन्दोलनमा कम्युनिस्टहरूसँग कांग्रेसले सहकार्य गरे पनि संवैधानिक राजतन्त्र, बहुदलीय संसदीय प्रजातन्त्र, एकात्मक राज्यप्रणाली र धर्मसापेक्षताको एजेण्डामा कम्युनिस्टलाई काङ्ग्रेसले सहमत गराएको थियो । तर, ०६२÷६३ को आन्दोलनमा कांग्रेस कम्युनिस्टका एजेण्डासहित देखाप¥यो । गिरिजाप्रसाद कोइरालाले मनोमानी प्रकारले ग्रहण गरेको कम्युनिस्ट एजेण्डालाई कांग्रेसका वर्तमान नेताहरूले समेत चुपचाप स्वीकार गरेका छन् । बीपीको समाजवादी कार्यक्रमलाई त धेरै पहिले (२०४८ ताक) गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदै उपेक्षा गरिएको हो । उदार अर्थनीति अवलम्बन गर्नुको अर्थ सामाजिक सुरक्षा कार्यक्रमप्रति अनुदार बन्नुपर्छ भन्ने थिएन, तर गिरिजाप्रसाद बीपीको भावना र मार्गदर्शनविपरीत सामाजिक सुरक्षाप्रति निरपेक्ष रहे । सरकारी स्वामित्वका औद्योगिक प्रतिष्ठानहरू निजीकरण गर्नु नै गिरिजाकालीन अर्थतन्त्रको स्मरणीय पक्ष बन्न पुग्यो । बीपी उदार अर्थनीतिका विरोधी अवश्य थिएनन्, तर राज्य जनताको जीवनसँग सीधै जोडिनुपर्छ भन्ने उनको अवधारणा थियो ।

बीपी कोइराला बहुलवादमा आधारित संसदीय प्रजातन्त्रका पक्षधर हुन् । समानुपातिक अवधारणा जोडिएपछि संसदीय प्रजातन्त्र मौलिक रूपमा रहन सक्दैन । कांग्रेसका नेताहरूले आफ्नो पार्टीको अन्य विचार, दर्शन र सिद्धान्तको रक्षा गर्न नसके पनि संसदीय प्रजातन्त्रसम्म जोगाउन सक्लान् कि भन्ने अपेक्षा गरिएको थियो । यसमा पनि कांग्रेस असमर्थ रह्यो । बीपी बहुमतको भावनाप्रति संवेदनशील थिए र बहुसङ्ख्यक जनता हिन्दूराष्ट्रको पक्षमा भएकोले देशलाई धर्मनिरपेक्ष बनाउनुपर्ने सोच बीपीले राखेका थिएनन् । तर, किसुनजीपछिका नेतृत्वले बीपीको यो भावनाको पनि कदर गरेनन्, गरिरहेका छैनन् ।

समग्रमा कांग्रेस बीपी–विचारबाट पूर्णतः मुक्त भइसकेको छ, तथापि भदौ २४ गते कांग्रेसले बीपीको जन्मजयन्तीलाई महत्वका साथ मनायो । यसक्रममा कतिपय वक्ताले बीपी–विचारलाई समयानुकूल परिमार्जन गरिएको भन्ने दाबीसमेत गरे । बीपी सशरीर उपस्थित भएर आफ्नो अवधारणाबारे जनतालाई स्पष्ट गर्ने छैनन् भन्दैमा कांग्रेसका स्वनामधन्य नेताहरूले बीपीको नाममा जुन प्रकारको राजनीतिक खेतीपाती गरिरहेका छन्, यो लज्जास्पद र हास्यास्पद छ । बीपीको नाममा कांग्रेसका नेताहरूले जे गरिरहेका छन् यसले बीपी स्वयम्को बेइज्जती गरेको छ भन्न हिचकिचाउनुपर्दैन । बीपीको नाम लिँदै आफ्ना स्वार्थअनुरूप व्यवहार गर्नेहरूले बरु बीपीको स्मरण गर्न छोडिदिए भने बीपीको मर्यादा जोगिने विश्वास गर्न सकिन्छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा बीपीप्रतिको सम्मान किञ्चित बाँकी छ भने आफूलाई नसच्याइन्जेल बीपीका नाममा कुनै प्रकारको सभा, समारोह र त्यस्तै प्रकारका कार्यक्रम आयोजना नगर्नु उपयुक्त हुनेछ ।