नेपाल–भारत सम्बन्धमा नयाँ विशेषण जरुरी नभएको परराष्ट्रमन्त्रीको भनाई

नेपाल–भारत सम्बन्धमा नयाँ विशेषण जरुरी नभएको परराष्ट्रमन्त्रीको भनाई


prakash-asran-mahat

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नेपाल भारत सम्बन्धको व्याख्याका लागि कुनै नयाँ विशेषण जरुरी नरहेको बताउनुभएको छ । नेपाल–भारतबीचको सम्बन्ध यति पुरानो र महत्वपूर्ण छ कि यसका लागि कुनै नयाँ परिभाषा वा विशेषण लगाइरहनु पर्दैन भन्दै मन्त्री डा. महतले सम्बन्ध जति विशेष र पुरानो हुदै जान्छ त्यति नै अपेक्षाहरु पनि बढी नै हुन्छन्, पछिल्लो समयमा यस्तो अपेक्षा जनताको स्तरमा बढ्दो मात्रामा रहेकोले तिनको सम्बोधनका लागि दुवै पक्षले आ आफ्नो तहबाट संवेदनशिल रुपले लाग्नुपर्ने बताउनुभयो ।

धुलिखेलमा शुक्रबार आयोजित जित नेपाल भारत सम्बन्धः निरन्तरता र परिवर्तन विषयक सेमिनारलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– विगत लामो समयदेखि आजसम्म नै नेपालीहरुले भारतको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा गरेर बसिरहेका छन्, यसैबाट पनि थाहा हुन्छ दुई देशबीचको सम्बन्ध कति अद्वितीय छ भनेर ।

नेपाल समसामयिक अध्ययन केन्द्रद्वारा आयोजित सेमिनारमा मन्त्री डा. महतले भन्नुभयो– हाम्रो सम्बन्धका जतिपनि विषयवस्तुहरु छन् तिनलाई सडकमा नभएर कूटनीतिक तवरबाट टेबलमा बसेर छलफल र समाधान गर्नुपर्छ । हाम्रो उद्देश्य भनेको नेपालको राष्ट्रिय स्वार्थको परिपूरण गर्नु हो र यसका लागि सही प्रक्रिया र पहूँच हुनु जरुरी छ, यो गर्छु वा उ गर्छु भनेर सडकबाट कराएर मात्र हुँदैन ।

केही समयअघिको भारत भ्रमणको स्मरण गर्दै उहाँले आफूले नेपालको राष्ट्रिय हित र स्वार्थका धेरै विषय भारतीय समकक्षीसँग राखेको र त्यसमा भारतीय पक्ष गम्भीर देखिएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणका क्रममा भएको दुई देशबीचको संयुक्त प्रेस विज्ञप्ति पढ्दै नपढी विरोध गरिएकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले राष्ट्रिय हितविपरीत सो विज्ञप्ति छ भन्नु हास्यास्पद भएको तर्क गर्नुभयो ।

आफूले भारत भ्रमणका क्रममा यसअघि भएका कैयौँ सम्झौताका साथै आयोजनाहरुको कार्यान्वयनका लागि तथा कुनै कारणले अवरोध उत्पन्न भएर सहज रुपमा अघि बढ्न नसकेका आयोजनाहरुलाई अघि बढाउने विषयमा कुरा उठाएको बताउनुभयो । उहाँले भन्नुभयो– जस्तो कि गण्डक सम्झौता बमोजिम नेपालले ४० हजार हेक्टर जमिनमा सिंचाई पाउनुपर्नेमा अहिलेसम्म नेपालको २५ हजार हेक्टरमा मात्र सिंचाई भएकोले सम्झौता बमोजिमको कामका लागि मैले भारतसँग कुरा राखेको छु ।

नेपाल भारत प्रबुद्ध समूहलाई प्रचार भन्दा बढी गृहकार्यका साथ ठोस काममा लाग्न उहाँले आग्रह गर्नुभयो । पछिल्ला भ्रमण तथा वार्ताहरुबाट नेपाल भारत सम्बन्धको धरातल बलियो बनाउने काम भएको र आगामी हप्ता हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा पनि यी प्रयासलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

सार्कको १९ औँ शिखर सम्मेलन रोकिएपछि यसलाई यही रुपमा रहन नदिन र शिखर सम्मेलनको अर्काे मिति तयगरी यसलाई निरन्तरता दिन भारत पाकिस्तान एवम् अरु देशहरुसँग नेपालले पहल गरेको जानकारी उहाँले दिनुभयो ।