तमु संस्कृति मुलुककै सम्पदा : उपराष्ट्रपति पुन

तमु संस्कृति मुलुककै सम्पदा : उपराष्ट्रपति पुन


pun-1

मनिता चाम्लिङ (धरान) । उपराष्ट्रपति नन्दबहादुर पुनले यही संविधानलाई टेकेर असन्तुष्ट पक्षहरुको समस्या समाधान गर्न सम्भव भएको बताएका छन् । आईतबार तमू ह्युल छोंज धींं गुरुङ राष्ट्रिय परिषदद्वारा धरानमा आयोजित दुईदिने ऐतिहासिक प्रथम तमू सार्क सम्मेलन २०७३ को उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उप–राष्ट्रपति पुनले सहमतिको आधारमा भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकतामा कुनैपनि आँच नआउने गरी आवश्यकता अनुरुप संविधान संशोधन गरि समस्याहरुको समाधान गर्न उचित हुने बताए । साथै उनले संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ८ गतेसम्ममा स्थानीय तह, प्रदेश र संघीय चुनाव गरिसक्नुपर्ने बताउँदै उनले भने– ‘हामीसँग अब १५ महिना मात्र समय बाँकी छ, त्यही समयभित्र तीन तहको चुनाव सम्पन्न गर्ने चुनौतिसमेत रहेको छ ।’ सो क्रममा उप–राष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारि भएसँगै राजनैतिक संघर्ष मुलभुत रुपमा सम्बोधन भई अझ केही कुराहरु बाँकी नै रहेतापनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक, समावेशी शासन व्यवस्था प्रमुख उपलब्धि भएको बताए ।

कालीगण्डकीलेखि बुढी गण्डकीसम्म आदिमकालदेखि बसोबास गर्दै आएका नेपालका आदिवासी जनजाति मध्ये एक ऐतिहासिक मानव जातिमध्ये तमु गुरुङ समुदायको आफ्नै भाषा, लिपी, इतिहास, संस्कार, संस्कृति तमु समुदायको मात्र नभई नेपालको साझा सम्पत्ति र पहिचान भएको समेत उनले बताए । साथै उनले नेपालको वर्तमान राजनैतिक उपलब्धीहरु प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक संघर्षहरु जनआन्दोलनमा तमु समुदायले गरेका कामको मुक्त कण्ठले प्रशंसा गरे ।

कार्यक्रमबीच विभिन्न क्षेत्रमा योगदान पुर्याएवापत पूर्वसेनापति छत्रमान गुरुङ, आईजिपी होमबहादुर गुरुङ, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई उप–राष्ट्रपति पुनले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान प्रदान गरेका थिए ।

केन्द्रीय अध्यक्ष रेशम तमूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तमु ह्युलका जिल्ला अध्यक्ष बकसमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । स्थानीय भानुचौकमा आयोजित उक्त कार्यक्रममा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ, नेकपा माओवादी केन्द्रका सचिव देव गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र कुमाल, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल, भारत, भुटान, वर्माका प्रतिनिधिसँगै बेलायत, हङकङ, कतार, जापान, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, बेल्जियम लगायतका मुलुकका अतिथि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।

‘सम्पूर्ण तमू(गुरुङ) हरुको आह्वान, एकता, अस्तित्व र पहिचानको लागि तमू सार्क सम्मेलन’ भन्ने मुल नारासहित आयोजित सो समारोहमा गुरुङ जातिहरुको मौलिक साँस्कृतिक नृत्य घाँटु, सोरठी र कौडा नृत्य समेत प्रस्तुत गरिएको थियो ।