पुनर्संरचना प्रस्तावको विरोधमा नागरिक आन्दोलित

पुनर्संरचना प्रस्तावको विरोधमा नागरिक आन्दोलित


– मुक्तिनाथ भुसाल

अर्घाखाँची जिल्लाको स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन गत आइतबार राति तयार भई स्थानीय तह पुनर्संरचना आयोगमा सोमबार २ सय ५५ नम्बरमा दर्ता भएको खबरसँगै सरोकारवाला स्थानीय नागरिकहरू प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएका छन् । प्रस्तावित ३ नगरपालिका र ३ गाउँपालिकाअन्तर्गत भूमिकास्थान नगरपालिकामा आफूहरू समावेश हुन नचाहेको प्रतिबिम्बित गर्दै ढिकुरा गाविसका नागरिकले सदरमुकाममा पुगी जुलुस प्रदर्शन गरेका हुन् ।
जिल्लाको धारापानी, ढाकावाङ, नुवाकोट, खिल्जी, असुरकोट, धनचौर र ढिकुरा गाविसलाई समेटेर भूमिकास्थान नगरपालिका प्रस्ताव गरिएको भए पनि ढिकुरा गाविस सन्धिखर्क नगरपालिकासँग जोडिएको कारण आफूहरू सन्धिखर्क नगरपालिकामा रहनुपर्ने माग आन्दोलनकारीको रहेको छ । उता भूमिकास्थान नगरपालिकामा प्रस्ताव गरिएका अन्य गाविसले आफूहरूसँग कुनै पनि आन्तरिक आम्दानीका स्रोत नभएका कारण नगरपालिकालाई हटाई गाउँपालिका बनाउनुपर्ने भन्दै कडा आन्दोलनमा उत्रने तयारीमा लागिरहेको बुझिएको छ ।

पुनर्संरचना गर्ने सन्दर्भमा व्यापक छलफल गरी प्रस्तावित गाउँपालिका र नगरपालिकाको सिफारिस गरी आयोगमा पठाउने निर्णय गरियो भनिए पनि प्रमुख दलका नेताहरूले नागरिकको चाहनाविपरीत सदरमुकाममा बसेर अन्तिम सहमति गरेको बुझिएको छ । अन्तिम सहमति गर्नुपूर्व करिब पाँच दिनसम्म शौचालयका लागि मात्र बाहिर निस्किएको र बाँकी समय होटेल तथा रेस्टुरेन्टको खाजा तथा बिजुलीपानीमा बगाएको सर्वसाधारणको आरोप छ । यसरी फजुल खर्च गर्नेमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र रहेका भए पनि अन्तिम सहमतिको समयचाहिँ राजमोसमेत सहभागी भएको, तर राजमोले हस्ताक्षर नगरेको बुझिएको छ । दलीय सहमतिको नाममा विकासे बजेट बाँडीचँुडी खान पल्किएका नेताहरूलाई अन्धाधुन्ध मान्दै आएका नागरिकले सन्धिखर्क नगरपालिकासँग जोडिएको ढिकुरालाई अपायक मानिने भूमिकास्थानतर्फ सुइँक्याएका कारण नेताहरूप्रति प्रश्नचिह्न खडा गराएको छ ।

24-mukti

बुझिएअनुसार ढिकुरा गाविसकै कारण भूमिकास्थान नगरपालिका प्रस्ताव गरिएको भए पनि त्यहाँका अधिकांश बासिन्दा नगरपालिकामा बस्न सक्षम नभएको कारण आफूहरूका लागि गाउँपालिका नै हुनुपर्ने अडानमा रहेका छन् । अर्घाखाँची जिल्लामा प्रस्तावित पाणिनी गाउँपालिकामा पणेना, पोखराथोक, खिदिम, पटौटी, मैदान, धातिवाङ, अड्गुरी गाविसका अलावा पाली गाविसको १ देखि ८ वडासम्म र चिदिका गाविसको वडा नं. ९ रहेका छन् । प्रस्तावित छत्रदेव गाउँपालिकामा चिदिका गाविस वडा नं. १ देखि ८ सम्म, बल्कोट, केरुङ्गा, छत्रगन्ज, ठूलापोखरा, भगवती गाविसको अलावा अर्घातोष गाविस वडा नं. २ देखि ५ र मरेङ गाविसका वडा नं. ७ देखि ९ राखिएको छ । यसैगरी प्रस्तावित मालारानी गाउँपालिकामा अर्घातोष गाविस वडा नं. १, ६, ७, ८ र ९, मरेङ गाविसको वडा नं. १ देखि ६, खन, खनदह, बाँगी, हंशपुर र गोखुङ्गा गाविस रहेका छन् । प्रस्तावित शितगंगा नगरपालिकामा सुवर्णखाल, सीतापुर, ठाडा, जुकेना, जलुके, सिद्धारा र सिमलपानी गाविस परेका छन् ।

सन्धिखर्क नगरपालिकामा साबिकको सन्धिखर्क नगरपालिका गाविस र साबिकको पाली गाविसको वडा नं. ९ को बलेवाङ थपिएको छ । प्रस्तावित भूमिकास्थान नगरपालिकामा ढिकुरा, धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ गाविस राखेको बुझिएको छ । गत आइतबार राति आठ बजे सहमति गरी स्थानीय तह पुनर्संरचना आयोगमा पठाइएको प्रतिवेदन प्रस्तावमा सीतगंगा नगरपालिकाभित्र पर्ने सिद्धारा गाविस भौगोलिक हिसाबले विकट तथा ठूलो क्षेत्रफल भएको कारण साबिकका गाविसका वडाहरू नमिलेको हुँदा वडा नं. १ लगायतका वडाहरू काटी मिलान गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने, कतिपय गाउँपालिका र नगरपालिकाभित्रका साबिक गाविसका जनसङ्ख्या बढी र भूगोल पनि विकट भएकाले वडासङ्ख्या बढाइएको व्यहोरा अनुरोध गर्ने, वडा कार्यालयको केन्द्र सम्बन्धित प्रस्तावित वडाहरूमा गई तय गर्नेजस्ता कुरा उल्लेख भएको बुझिएको छ ।

सय मिटर पाइप वा दुई–चार पाथी चामल दिए चुनाव जितिन्छ भन्ने मानसिकता पालेका अर्घाखाँची जिल्लाका ठूला नेता र उनैको लहलहैमा चलेका कर्मचारीको यो निर्णयले सबै गाविस तथा नगरपालिकामा बसोबास गर्नेहरू सन्तुष्ट छन् वा छैनन् भन्ने विषयभन्दा पनि कुनै पनि आन्तरिक स्रोत नभएका गाविसलाई समेटेर बनाइएको भूमिकास्थान नगरपालिकाको रहनसहन र नगरपालिका भइसकेपछि लागू गरिने काइते कानुन त्यहाँका स्थानीयहरूले पचाउन सक्ने स्थिति देखिँदैन । यसैगरी बिहान–साँझ सन्धिखर्क सदरमुकाममा दूध, तरकारी पु¥याउने ढिकुराका बासिन्दालाई सन्धिखर्क नगरपालिकाबाट अलग्याउनु भनेको सरासर गलत हो । आफ्नो कार्यकालमा केही गर्नुपर्छ भन्ने भाव पालेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल जिल्लामा नभएको मौकालाई सदुपयोग गरी अन्तिम घडीमा गरिएको यो एकलौटी निर्णयले राजनीति तथा राजनीति गर्दछौँ भन्दै सम्भ्रान्त भेषभूषामा सजिएर हिँड्नेहरूको साखमा गिरावट आउन सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।