राष्ट्रपतिको भ्रमणबाट नेपाली नेतामा उत्साह

राष्ट्रपतिको भ्रमणबाट नेपाली नेतामा उत्साह


छिमेकी मित्रराष्ट्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला खलबलिएको दुई देशबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणपछि सही ट्र्याकमा आएको विश्वास नेपालमा गरिएको छ । राष्ट्रपति मुखर्जीको भ्रमणपश्चात् ‘बाह्रबुँदे सम्झौतालाई सकारात्मक परिवर्तनको कोसेढुङ्गा’ मान्नेहरूमा उत्साह र मनोबल बढेको पाइएको छ ।

माओवादी र त्यतिबेला संसद्वादी भनिने काङ्गे्रस–एमालेसहितका राजनीतिक दलहरूबीच सम्झौता गराउन, जनवादी राज्य सत्ता स्थापनाका निम्ति भएको भनिएको हिंसात्मक युद्ध विसर्जन गराउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष संविधान तर्जुमा गर्न विशेष योगदान पु¥याउनुहुने राष्ट्रपति मुखर्जीलाई हृदयदेखि नै स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री प्रचण्ड, एमालेका नेताहरू केपी ओली र माधवकुमार नेपालले जसरी सक्रियता देखाए त्यसले मुखर्जीको भ्रमणबाट प्रमुख राजनीतिक दलका नेताहरूको मनोबल बढाएको देखाएको छ । राष्ट्रपति मुखर्जीले संविधान बनाउन सकेकोमा नेताहरूलाई बधाई दिँदै असन्तुष्ट पक्षलाई समेट्न सुझाव दिनुभएको छ । नेपालको आर्थिक विकासमा साझेदारी गर्न भारत तयार रहेको सन्देश दिँदै उहाँले नेपालसँग भारतको विशेष सम्बन्ध रहेको कुरामा विशेष जोड दिनुभयो ।

राष्ट्रपतिको जनकपुर तथा पोखरा भ्रमणलाई पनि महत्वपूर्ण र अर्थपूर्ण मानिएको छ । पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले रामजानकी मन्दिरको दर्शन गर्न र त्यहाँ आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुन जनकपुर जाने इच्छा प्रकट गर्नुहुँदा ‘नेपाली नेतृत्व’ले सुरक्षा र अनेकौँ बहानाबाजी गरेर मोदीलाई जनकपुर पुग्नबाट अप्रत्यक्ष ढङ्गले वञ्चित गरेका थिए । तर, भारतीय राष्ट्रपति मुखर्जीको भने जनकपुरमा भव्य स्वागत भएको छ । नेपाल भ्रमण गर्ने मुखर्जी भारतका चौथो राष्ट्रपति हुनुहुन्छ । यसअघि १८ वर्ष पहिले केआर नारायणनले नेपालको भ्रमण गर्नुभएको थियो । नेपालमा अनुकूल सरकार तथा अनुकूल राजनीतिक परिस्थिति निर्माण भएका बेला भएको राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्ध तथा नेपाली राजनीतिमा दूरगामी प्रभाव पार्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

mukarjee