न्यायिक निकायभित्रको एक गैरन्यायिक व्यवहार यतिबेला उच्च अदालत पाटनदेखि सर्वोच्च अदालत परिसरसम्म चर्चाको विषय बनेको छ । सर्वोच्च अदालतमा सहसचिवस्तरको कर्मचारीका रूपमा कार्यरत नृपध्वज निरौलाको व्यवहारका कारण यसप्रकारको चर्चा सुरु भएको हो । प्राप्त जानकारीअनुसार नृपध्वज सर्वोच्चमा सरुवा भएर आउनुभन्दा (करिब डेढ वर्ष) अघि पाटन पुनरावेदन अदालतमा रजिष्ट्रार थिए र उनको बसोबासका लागि ललितपुरको जावलाखेलनजिकै मासिक रु. पैंतालीस हजार (४५,०००) भाडा तिर्ने गरी पाँच वर्षअघि एउटा घर भाडामा लिइएको थियो । अहिले पनि उक्त घरको भाडा पाटन उच्च अदालतले नै बुझाउँदै आएको छ ।
तर, तात्कालिक पुनरावेदन अदालतबाट डेढ वर्षअघि नै सरुवा भई सर्वोच्च अदालत पुगेका नृपध्वज निरौलाले अहिलेसम्म आवास नछोडेपछि कर्मचारीहरू आन्दोलित भएका छन् । विभिन्न निकायमा डेलिगेसन गएर उच्च अदालतका कर्मचारीले समस्या प्रस्तुत गर्दा पनि सुनुवाइ नभएपछि उनीहरू आन्दोलनको तयारीमा रहेको बुझिएको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विशेष कृपाप्राप्त मानिएका नृपध्वज निरौलाले पाटन उच्च अदालतको आवास नछोड्नु र सर्वोच्च अदालतमा ‘कल्याणको भूत’ सलबलाइरहेको भनी चलिरहेको चर्चालाई संयोग मान्न नहुने कर्मचारीको भनाइ छ । न्यायिक सुशासन र अनुशासनका बारेमा कर्मचारीलाई प्रशिक्षण दिँदै देशव्यापी दौडाहा गरिरहने नृपध्वजको व्यवहारलाई सुशासनको नमुना मान्ने कि ज्यादती र अनियमितताको, कर्मचारीहरू प्रश्न गर्दै छन् ।

प्रतिक्रिया