काङ्ग्रेसनिकट सङ्गीतकर्मीहरू सङ्गठित

काङ्ग्रेसनिकट सङ्गीतकर्मीहरू सङ्गठित


नेपाली काङ्ग्रेस पार्टीआबद्ध नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थ थापालगायतको पहलकदमीमा ‘सङ्गीतकर्मी सङ्घ नेपाल’ नामक संस्था स्थापना भएको छ । संस्थापन समितिको अध्यक्षमा सुरेश घिमिरे छानिएका छन् भने एघार सदस्यीय समितिको सदस्यहरूमा रिमा गुरुङ होडा, आनन्द कार्की, दिवाकर शर्मा, पारस मुकारुङ, रमेश श्रेष्ठ, सम्राट थापा, कैलाश चौधरी, सरोजकुमार श्रेष्ठ, यशोदा पराजुली र देशु सुहाङ रहेका छन् । गत २२ गते काठमाडौंमा भएको एक विशेष भेलाबीच गठित उक्त सङ्घले नेपाली काङ्ग्रेसनिकट रही आफ्ना क्रियाकलाप सञ्चालन गर्ने बुझिएको छ । नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की प्रमुख अतिथि र डा. डिला सङ्ग्रौला विशेष अतिथिका रूपमा सो कार्यक्रममा उपस्थित थिए ।

वाग्लेका कवितामाथि सर्जकका धारणा

वरिष्ठ साहित्यकारहरू हरि अधिकारी, विष्णुविभु घिमिरे, कृष्णहरि बराल, अशेष मल्ल, कुमार कोइराला, श्रीओम श्रेष्ठ रोदन कविताको समीक्षा हुन सक्ने, तर मूल्याङ्कन हुन नसक्नेमा सहमत भएका छन् । कुनै कविता कसैलाई मन पर्छ कुनै कविता कसैलाई मन पर्छ । त्यसैले कविताको व्यक्तिगत पाटोबाट समीक्षा गर्न मात्र सकिनेमा एकै थलोमा उपस्थित उनीहरू सहमत भएका हुन् । ‘जन्मिएको सन्तानको आँखा, कान, नाक, औँला यस्तो भइदिएको भए हुन्थ्यो भनेजस्तै हो कविता यस्तो होस् वा उस्तो होस् भनेर गरिने आग्रह,’ नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले भने ।

त्यसअघि वरिष्ठ साहित्यकार अशेष मल्लले सोधेका थिए, ‘कसैका कविता राम्रा छन् वा छैनन् भन्ने अधिकार पाएको म को हँु ?’ त्रिभुवनचन्द्र वाग्लेको कवितासङ्ग्रह ‘अकीर्ण आँखा’को विमोचन कार्यक्रममा उनले थपे, ‘कवि त्रिभुवनचन्द्र वाग्लेका यी–यी कविता मलाई राम्रा लागे वा लागेनन् भन्न मात्र सक्छु । सबै पाठकको जिम्मा लिएर उहाँका कवितालाई राम्रा वा नराम्रा भनेर भन्न सक्ने म को हुँ ?’

वरिष्ठ साहित्यकार तथा पत्रकार हरि अधिकारीले पत्रकारिताका आँखाले देखेको यथार्थ समाजलाई वाग्लेले कवितामार्फत व्यक्त गर्नुभएको भन्दै सङ्ग्रहलाई समसामयिक नेपाली समाजको चित्र रहेको, तर चित्र उतार्न कतिपय ठाउँमा शिल्पको अभाव देखिएको औँल्याए । ‘शब्द, लय, भावलाई संयोजन गर्न सक्ने वाग्लेका कवितामा प्रचुर सम्भावना देखेँ, कविताभित्र आख्यान र गीत पनि पाइन्छ । विम्ब खिच्न सक्ने वाग्लेको क्षमता कवितामा झल्केको छ, वाग्लेका कविताले आलोचनात्मक यथार्थवादी सामाजिक चेतनालाई प्रतिनिधित्व गरेका छन्,’ वरिष्ठ गीतकार तथा समालोचक डा. कृष्णहरि बरालको समीक्षा रह्यो । विकास मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा विशिष्ट साहित्यकार प्राडा मोहन लोहनी, प्राडा कुमार कोइराला, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, साहित्यकार श्रीओम श्रेष्ठ रोदनलगायतले वाग्लेका कविताले नेपाली कविताको फाँटमा विशिष्ट स्थान सुरक्षित गरेका अनुभव सुनाए ।

‘सहयात्री शब्दहरू’को विवेचना
dipendra
कवि दीपेन्द्रसिंह थापाको दोस्रो कवितासङ्ग्रह ‘सहयात्री शब्दहरू’ कृतिसमीक्षा एवम् सिर्जना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । स्रष्टा प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा समालोचक विनयकुमार शर्मा र डा. रेणुका थापाले कवि सिंहको हालै शब्दहार क्रियसन्सद्वारा प्रकाशित कवितासङ्ग्रह ‘सहयात्री शब्दहरू’ कृतिमाथि विवेचना गर्नुभएको थियो । साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. रामप्रसाद ज्ञवाली, पूर्ण विराम, प्रमोद स्नेही, राधेश्याम लेकालीलगायतले मन्तव्य र रचना प्रस्तुत गरेका थिए ।

शान्ति गोरेटोमा देवकोटाजयन्ती
काठमाडौंको चाबहिलस्थित शान्तिगोरेटो टोलका बुद्धिजीवी तथा समाजसेवीहरूले महाकवि देवकोटाको १०९औँ जन्मजयन्ती तथा तिहार, भिन्तुना एवम् छठ पर्वको अवसर पारेर कात्तिक १३ गते शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरे । हेल्प नेपालका अध्यक्ष अरुणमानसिंह बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा योगगुरु पूर्ण श्रेष्ठ प्रमुख अतिथि तथा कवि रत्ननिधि रेग्मी विशेष अतिथि रहनुभएको थियो । शान्ति गोरेटोका कवि महेश्वर खनालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा चर्चित गीतकार प्रमोद ढुङ्गानालाई विशेष सम्मान गरिएको थियो भने अतिथिहरूलाई गणेशको मूर्ति प्रदान गरिएको थियो ।

स्थानीय विनायक स्कुलमा भएको सो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक सुशील आचार्यको कविताबाट सुरु गरिएको कार्यक्रममा कवि महेश्वर खनाल र रत्ननिधि रेग्मीले महाकवि देवकोटाको सम्झनामा कविता वाचन गरेका थिए भने योगगुरु पूर्ण श्रेष्ठले योग र ध्यानको विषयमा विशेष प्रवचन दिनुभएको थियो । कार्यक्रममा स्थानीयवासीको एक–आपसमा परिचय आदान–प्रदान पनि गरिएको थियो । संयोजक महेश्वर खनालले स्थानीयवासीलाई एक–आपसमा चिनाउन तथा राष्ट्रिय एकतामा उत्प्रेरित गर्न यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो । टोल सुधारका अध्यक्ष प्रकाशबम मल्ल, साहित्यकार चन्द्रमणि प्रसाईं, नारायण कोइरालालगायत चर्चित व्यक्तित्वहरूसमेतको उपस्थिति रहेको सो कार्यक्रममा महेश्वर खनालका गीतासार र असल विद्यार्थी कसरी बन्ने नामक दुई कृतिको सार्वजनिकीकरण गरिएको थियो ।