राजा वीरेन्द्रले भने– ‘रियल्ली, आई हेट हिम !’

राजा वीरेन्द्रले भने– ‘रियल्ली, आई हेट हिम !’


Dev Prakash Tripathi 17

होटेल सोल्टीमा भव्य भोज चल्दै थियो ।

भोजमा युवराज दीपेन्द्र, उनकी पे्रमिका प्रिया, शाही नातेदार तथा परिवारका सदस्य, तिनका मित्रजन तथा केही चुनिएका संभ्रान्त परिवारसम्बद्ध व्यक्तिहरू सामेल थिए । वि.सं. ०५५ (सन् १९९८) को हिउँदमा आयोजित सम्भवतः सबभन्दा रमणीय भोज त्यही थियो । युवराज दीपेन्द्र आफ्ना केही साथीलाई लिएर एउटा टेबुलमा मदिराको चुस्कीसहित गफमा मस्त थिए । पृष्ठभूमिमा नेपाली, हिन्दी र अङ्गे्रजी गीतहरू पालैपालो बजिरहेको थियो ।

छिप्पिँदो रातसँगै चढ्दो नशाले गीत–सङ्गीतको मातको साथ खोजेको थियो । केही युवाहरू स्टेजको अघिल्तिर पुगेर नाच्न थालिसकेका थिए । नाच्नेहरूलाई दीपेन्द्र पनि हौस्याउँदै थिए । रातको ११ बज्नै लाग्दा प्रिया पनि स्टेजको अघिल्तिर पुगिन् र नाच्न थालिन् । उनलाई नृत्यमा कुनै एक कुलीन केटाले साथ दिँदै थियो ।

बाघले शिकार झम्टिएझैँ दीपेन्द्र अचानक स्टेजको अगाडि पुगे र प्रियाको पाखुरा र कपालमा एकसाथ पक्रिए ।

नाचिरहेका सबै स्तब्ध भए ।

बाजा बजिरहेको थियो, तर नृत्य बन्द भयो । दीपेन्द्रले स्टेजबाट तल झारे र एकप्रकारले घिसार्दै प्रियालाई होटेलबाट बाहिर पु¥याए ।

आफ्नो गाडीको डिक्की खोले । डिक्कीमा प्रियालाई राखे र बन्द गरी त्यहाँबाट निस्किए ।
प्रिया चिच्याउँदै थिइन्, तर सुन्ने कसले ? दीपेन्द्रले प्रियालाई डिक्कीमा राखेर लगेको सबैले हेरिरहे, तर प्रतिवाद गर्न कसैले पनि सकेनन् ।

त्यसताका दीपेन्द्रको दिव्यासँगको पे्रम उत्कर्षतर्फ बढ्दै थियो र प्रियालाई पनि यस कुराको जानकारी थियो । दीपेन्द्र–दिव्याबीचको सम्बन्धको गाँठो कसिँदै जाँदा प्रियाले सम्भवतः आफू स्वतन्त्र हुँदै गएको महसुस गर्न थालेकी थिइन् । दीपेन्द्रसँग विवाह गर्ने र भविष्यमा महारानी बन्ने सपनाबाट सायद प्रिया मुक्त भएकी थिइन् । त्यसैले सोल्टीको भोजमा दिल खोलेर पिउन र नाच्न कसैको अनुमति लिइरहनुपर्ने उनले ठानिनन् ।

तर दीपेन्द्र प्रियाबाट मुक्त भइसकेका थिएनन् र त्यसरी उनले सोचेका पनि थिएनन् । दुवै प्रमुख पे्रमिकाहरूलाई पत्नी बनाउने र एउटीलाई बडामहारानीको दर्जा दिने चाहना उनको थियो । दीपेन्द्रले आफ्नो यस्तो इच्छा दिव्या र प्रिया दुवैसमक्ष तर अलगअलग रूपमा प्रकट गरेका पनि थिए । दिव्याले आफूलाई बडामहारानीको दर्जा दिने भए बाँकी जेसुकै गर भनी एकप्रकारले स्वीकृति दिइसकेकी थिइन् । तर, प्रियाको कुरा बेग्लै थियो । दीपेन्द्रको त्यस्तो प्रस्तावमा प्रियाले पटक–पटक भनेकी थिइन्, ‘ठीक छ, उसलाई बडामहारानी बनाउनु छ भने बनाउनु, म अवरोध पैदा गर्दिनँ । तर, म कान्छी भएर बस्न राजी छैन, बरु अरू कसैसँग विवाह गरेर म आफ्नो जिन्दगी बिताउन चाहन्छु ।’

प्रियाको यस्तो कुरा सुन्दा दीपेन्द्रलाई सय भोल्टको करेन्ट लागेसरह हुन्थ्यो र भन्थे, ‘प्रिया तिमीलाई विधवा बन्नु छ भने मात्र अरू कसैसँग विवाह गर्नु । जसले तिमीलाई विवाह गर्न चाहन्छ, त्यसले आफ्नो ज्यान गुमाउँछ ।’

दीपेन्द्रका यस्ता अभिव्यक्तिका कारण प्रिया निकै अप्ठ्यारोमा परेकी थिइन् । तर, क्रमशः दीपेन्द्रसँग टाढिँदै जाने र आफ्नो स्वतन्त्र जिन्दगीको ढोका खोल्ने सोचमा उनी थिइन् । त्यसैले सोल्टी होटेलमा प्रियाले जानाजान दीपेन्द्रको इच्छाविपरीतको व्यवहार प्रस्तुत गरेकी थिइन् ।

तर दीपेन्द्रले सहन सकेनन्, कपालमा समातेर लछार्दै बाहिरसम्म ल्याए र डिक्कीमा राखेर होटेलपरिसरबाट उनी निस्किएका थिए । त्यस्तो असामान्य अवस्थामा पनि दीपेन्द्रको ओठबाट उनको प्रिय गीतका शब्दहरू गुनगुनिएका थिए, ‘परेँ म दोधारैमा, जेठी छोडौँ घरबार जान्छ, कान्छी छोडौँ माया लाग्छ ।’

०००

शाहज्यादा पारसका कारण राजसंस्था र राजपरिवारको दिन–प्रतिदिन बदनाम भइरहेको महसुस राजा वीरेन्द्रले गरेका थिए । युवराज दीपेन्द्र र शाहज्यादा पारसबीचको घनिष्टताबारे पनि राजालाई जानकारी थियो । तर, दीपेन्द्रले भनेको मान्ने स्थिति नभएपछि राजाले दीपेन्द्रबाट पारसलाई कसरी छुटाउने भन्ने विषयमा सोचिरहेका थिए ।

यस्तैमा एक रात शाहज्यादा पारसले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार गायक प्रवीण गुरुङको निधन हुन पुग्यो । यस घटनाका कारण पारसप्रति मात्र नभई राजदरबारप्रति नै जनआक्रोश बढ्न थालेको महसुस राजाले गरे ।

वि.सं. ०५७ (सन् २०००) को पुसमा राजा वीरेन्द्रले तात्कालिक मालेका नेता वामदेवलाई राजदरबारमा बोलाई विभिन्न विषयमा छलफल गर्ने क्रममा पारसका कारण आफूहरूले व्यहोर्नुपरेको सास्तीबारे पनि ‘शेयर’ गरे । राजा वीरेन्द्रसँगको लामो तर सौहार्दपूर्ण कुराकानीपश्चात् वामदेव राजाको सहजताका लागि केही गर्ने आश्वासन दिएर दरबारबाट बाहिरिए । त्यसको केही दिनमै वामदेवले पारसको ‘श्री ५’ पदवी हटाउन माग गर्दै राजधानीमा हस्ताक्षर अभियान चलाए । करिब पाँच लाख हस्ताक्षर पुगेपछि पारसमाथि कारबाहीको माग गर्दै दरबारमा एक निवेदन दर्ता गराइयो । राजा वीरेन्द्रले पाँच लाखजनाको हस्ताक्षरसहितको उक्त निवेदन आफ्नो कार्यालयमा बेग्लै फाइल बनाएर राखेका थिए ।

वि.सं. ०५७ (सन् २००१) माघको तेस्रो शुक्रबार राजदरबारमा आयोजित नियमित रात्रिभोजका क्रममा राजा वीरेन्द्रले आफ्ना भाइ अधिराजकुमार ज्ञानेन्द्रसँग पारसका विरुद्ध पाँच लाख हस्ताक्षरसहितको बिन्तीपत्र प्राप्त भएको जिकिर गर्दै भने, ‘पारसका कारण समस्या आउन थाल्यो, तिमी एकपटक उसलाई राम्रोसँग सम्झाऊ ।’

दाजुको कुरा सुन्नेबित्तिकै अधिराजकुमार ज्ञानेन्द्रको अनुहार रातो भयो । उनले हातमा भएको वाइनको गिलास टेबुलमा राख्दै भने, ‘त्यस्तो होइन, मैले पनि बुझिरहेको छु सबै कुरा, मेरो छोराभन्दा युवराज दीपेन्द्र नै बढी एब्नर्मल छ, दीपेन्द्रका बदमासीलाई मेरो छोराले काँध थाप्नु परिरहेको छ । बरु दीपेन्द्रलाई नै सम्झाउनु राम्रो हुन्छ ।’

भाइको ओठेजवाफले राजा वीरेन्द्रलाई क्रूद्ध बनायो । अलिक क्रोधमिश्रित आवाजमा वीरेन्द्रले भने, ‘हेर तिमीले छोरालाई सम्झाऊ, यहाँ ममाथि पारसको ‘श्री ५’ पदवी हटाउन दबाब परिरहेको छ, पाँच लाख जनताले त हस्ताक्षर नै गरेर दिइसकेका छन् । यदि तिमी उसलाई सम्झाएर ठीक ठाउँमा राख्न सक्दैनौँ भने म उसको ‘श्री ५’ को पदवी हटाउन बाध्य हुनुपर्नेछ ।’

यसरी महाराजाधिराज र अधिराजकुमारबीचको संवाद तात्दै गयो । दाजुको कुराले भाइ ज्ञानेन्द्रलाई निकै क्रूद्ध र दुःखी तुल्यायो । उनले हातमा लिइरहेको वाइन त्यहीँ फालिदिए र ‘अबदेखि यो ठाउँमा कहिल्यै आउँदिनँ’ भन्दै भोजस्थलबाट बाहिरिए ।

त्यसपछि अधिराजकुमार ज्ञानेन्द्र शुक्रबारे भोजमा सहभागी हुन कहिल्यै नारायणहिटीमा गएनन् । वि.सं. ०५७ (सन् २००१ फेब्रुअरी) माघपछिका हरेक शुक्रबार भएका रात्रिभोजमा उनको उपस्थिति भएन । वि.सं. ०५८ जेठ १९ गते (सन् २००१ जुन ३ मा) पनि ज्ञानेन्द्र भोजमा सरिक भएनन् । उनलाई उपस्थित गराउन दीपेन्द्रले फोनबाट निकै अनुनयविनय गरेका थिए ।

चितवनमा नीराजनसँगै रहेका काका ज्ञानेन्द्रलाई पटक–पटक आग्रह गर्दा पनि दीपेन्द्रको केही लागेन । बरु नीराजनलाई काठमाडौं पठाएर अधिराजकुमार ज्ञानेन्द्र पोखरातिर हिडे । राजदरबार हत्याकाण्डको भोलिपल्ट बिहान मात्र सेनाले उनलाई काठमाडौं ल्याइपु¥याएको थियो ।

०००

बडामहारानी ऐश्वर्यले आफूनजिकका सहेली, नातेदार तथा सहयोगीहरूलाई हरेक बुधबार नारायणहिटी राजदरबारमा आमन्त्रण गरेर रात्रिभोज खुवाउने गरेकी थिइन् । त्यस्तै मुमा बडामहारानी रत्नले भने सोही प्रकारको रात्रिभोज प्रत्येक बिहीबार आयोजना गर्ने गर्दथिन् । एकप्रकारले त्यो परम्पराजस्तै बनिसकेको थियो । दुई भोजमा सहभागी हुनेहरूलाई बुधबारे गु्रप र बिहीबारे गु्रपका रूपमा पनि चिन्न थालिएको थियो ।

यसप्रकारका भोजका क्रममा महारानीहरूले बाहिरका विभिन्न सूचनाहरू प्राप्त गर्ने गर्थे भने आपसी सुखदुःखका कुरा पनि त्यस अवसरमा हुन्थे ।

पछिल्लो समयका भोजहरूमा दीपेन्द्रको व्यवहार, उनको विवाह र प्रिया तथा दिव्याका बारेमा बढी कुराकानी हुने गर्दथे । महारानी ऐश्वर्यलाई स्वकीय सचिव पे्रमा सिंह र केहीले दीपेन्द्रका बारेमा पहिलेदेखि नै ज्योतिषीले भन्दै आएका कुराको स्मरण गराउँदै उनीसँग होसियार हुनुपर्ने सुझाव दिने गर्थे । वि.सं. ०५८ (सन् २००१ जुन १) को जेठ १७ गते बुधबार त्यस्तै भोजको समयमा बडामहारानी ऐश्वर्यले पे्रमा सिंहलाई भनिन्, ‘पे्रमा, तिमीले ज्योतिषीका कुरा गरेकी थियौ नि, त्यो ज्योतिषी कृष्णबाजेलाई यहाँ लिएर आऊ है ।’

‘जो हुकुम सरकार’ पे्रमाले भनेकी थिइन् ।

भोलिपल्ट बिहीबारे भोज र पर्सिपल्ट जेठ १९ गते शुक्रबार युवराजाधिराजकै आयोजनाको भोज परेकोले अर्को साता कृष्णबाजेलाई दरबारमा लिएर जाने योजना पे्रमाले बनाएकी थिइन् । तर, कृष्णबाजेलाई लिएर नारायणहिटी दरबार नजाँदै जेठ १९ गते शुक्रबार राजदरबारमा बीभत्स हत्याकाण्ड भयो ।

बुधबारको रात्रिभोजमा बडामहारानी ऐश्वर्य अलिक गम्भीर देखिएकी थिइन् । दीपेन्द्रको व्यवहारमा आएको परिवर्तनले उनलाई चिन्तित तुल्याएको थियो र सहेलीहरूसँग महारानीले त्यस साँझ दीपेन्द्रबारे अलिक खुलेरै कुरा गरेकी थिइन् । आफूहरूसँग दीपेन्द्रले सामान्य संवादसमेत गर्न छोडेको, आफूलाई जे मन लाग्छ त्यही गर्ने गरेको, बरालिएर हिँड्ने गरेको, अमर्यादित र अभद्र व्यवहार प्रस्तुत गर्ने गरेको जस्ता कुरा महारानीले प्रकट गरेपछि महारानीका सहेलीहरूले उनलाई दीपेन्द्र जन्मनुअघि ज्योतिषीले भनेको कुरा स्मरण गराउँदै दीपेन्द्रसँग सचेत रहन सुझाव दिएका थिए । त्यसपछि बडामहारानी ऐश्वर्यले पे्रमा सिंहलाई ज्योतिषी कृष्णबाजेलाई दरबारमा लिएर आउन अह्राएकी थिइन् ।

०००

भोलि जेठ १९ गते, परिवारका सबै सदस्य एकै ठाउँमा भेला भई खानुको मज्जा बेग्लै ।
राजा वीरेन्द्र परिवारभित्र कुनै समस्या उत्पन्न भए–नभएको, कसैका बीचमा मनमुटाब रहे–नरहेको र दरबारभन्दा बाहिरको स्थितिबारे परिवारका सदस्यहरू के–कति जानकार छन् भन्ने सूचना प्राप्त गर्ने एउटा माध्यमका रूपमा पनि यस्ता जमघटहरूलाई बुझ्ने गर्दथे । प्रत्येक महिनाको एकपटक हुने यसप्रकारको भोजका लागि दरबारका कर्मचारीले विशेष तयारी गर्नुपर्ने हुन्थ्यो ।

यद्यपि, खाना दरबारभित्र बनाउनुपर्ने थिएन, होटेलबाट सोझै डायनिङ टेबुलसम्म आइपुग्ने व्यवस्था मिलाइएको हुन्थ्यो । कार्यालयको कामबाट फर्केपछि श्री ५ महाराजाधिराजले बडामहारानीसमक्ष चासो राखिबक्स्यो, ‘भोलि दीपेन्द्रको रात्रिभोज होइन ? के–कस्तो तयारी भइरहेको छ, बुझेकी छ्यौ ?’

‘ऊ आफैँ निकै सक्रिय भएर लागिपरेको छ । खै किन हो, दीपेन्द्र यसरी रात्रिभोजलाई लिएर यति धेरै उत्साहित भएको महसुस मैले कहिल्यै गरेकै थिइनँ । मलाई जेठ १९ गते साँझ अरू कुनै कार्यक्रम राखिएको भए रद्द गरिदिनुप¥यो भनेर अनेकौँपटक आग्रह ग¥यो । निकै मधुर वाणीमा प्रस्तुत भइरहेको छ । मलाई चार–पाँचपटक सोध्यो, ‘अरू कुनै कार्यक्रम राखिएको त छैन नि’ भनेर । माइलाबाबु र निरुलाई चितवनमा फोन गरेर कर गरेको हुनाले पोखराको कार्यक्रममा माइलाबाबु मात्र गएर निरु यहीँ आउने भएछ । आज किन–किन दीपेन्द्र केही बदलिएको अनुभूति भइरहेको छ मलाई,’ बडामहारानी ऐश्वर्यले एकै सासमा भनिन् ।

‘दीपेन्द्रसँगै तिमी पनि त निकै प्रफुल्ल देखिएकी छ्यौ नि ?’ फिस्स हाँस्दै वीरेन्द्रले प्रश्नको जवाफी प्रतिक्रिया दिए । मुस्कुराउँदै बडामहारानीले भनिन्, ‘दीपेन्द्रमा सकारात्मक परिवर्तन आउन खोजेजस्तो छ, कहिल्यै लाडिएर मसँग नबोल्ने ऊ आज बिहान निकै लाडिएर प्रस्तुत हुँदै थियो । फेरिँदै छ ऊ, त्यसैले मैले भोलि बालाजुमा राखिएको रात्रिभोज खारेज गरिदिएँ । विश्वविक्रम शाहले निकै दुःख प्रकट गरे । मैले छोराले आयोजना गरेको भोजको कुरा गरेपछि मात्र उनी मान्न बाध्य भए ।
‘अनि दीपेन्द्र फेरिँदा म मात्र हो र, सरकार हजुर पनि त खुशी होइबक्सेला नि ।’

‘ल, ल, अहिले नै त्यति धेरै प्रसन्न हुनुपर्दैन, केही दिन अझै उसको व्यवहार हेर्नुपर्छ । मलाई त त्यो श्रुतिलाई चुल्ठोमा समातेर सबका अघिल्तिर हातपात गरेको घटनापछि यो मान्छेप्रति सकारात्मक भाव पैदा हुनै सकेको छैन । रियल्ली आई हेट हिम’ वीरेन्द्रले आफ्नो असन्तुष्टि पोखे ।

mahanisha-cover-eng-nep

(देवप्रकाश त्रिपाठीद्वारा सिर्जित युवराज दीपेन्द्रको जीवनीमा आधारित पुस्तक ‘महानिशा’को अंश)