राणा–काङ्ग्रेस संयुक्त सरकारबाट बीपीको राजीनामा

राणा–काङ्ग्रेस संयुक्त सरकारबाट बीपीको राजीनामा


sn-karki-5

– स्वयम्भूनाथ कार्की

२००७ सालको क्रान्तिको उपलब्धि भने पनि विसर्जन भने दिल्ली सम्झौता थियो । दिल्ली सम्झौताका विषयमा किताबमा जति पनि स्थानमा प्रसङ्ग छन् ती सबैजसो स्थानमा बीपीले दिल्ली सम्झौतालाई काल्पनिक भनेका छन् । तर, त्यही काल्पनिक सम्झौताका आधारमा नेपालमा मोहनशमशेरको श्री ३ खोसिएको थियो । नेहरूको गुरुयोजनामा क्रान्तिपछिको सरकार बनेको थियो । राणातर्पmको मन्त्रालय तथा व्यक्तिमा नेहरूको सुझावात्मक निर्देशन कत्तिको चल्यो त्यो यो किताबको दृष्टिमा पर्ने कुरा भएन, तर काङ्ग्रेसतर्पmकोमा भने नेहरूको निर्देशन सुझावात्मक मात्र रहेन झन्डै–झन्डै आदेशात्मक नै रह्यो । तीन पक्षसँग भारतले अलगअलग कुरा गरेर तय भएको भनिएको दिल्ली सम्झौता पूरा कार्यान्वयन नेपालमा संयुक्त सरकार स्थापना भएपछि मात्र हुने थियो भन्ने कुरालाई बीपीले ध्यान नदिएको महसुस हुन्छ । दिल्ली सम्झौताले युद्धविरामको अवस्था ल्याएको थियो । सरकार गठनको प्रक्रिया, त्यसपछि सत्ता सञ्चालनको प्रक्रियामा तीन पक्ष बसेर थप छलफल गर्ने बाटो नै बन्द भएको थिएन । संयुक्त सरकार नेहरूको एक प्रयोग थियो जसलाई सफल बनाउन नेहरूले बीपीलाई प्रतिबद्ध गराएका थिए । परिच्छेद ३३ मा आफूलाई नेहरूले यो प्रयोग सफल ग¥यौ भने तिमीहरूको इज्जत बढ्छ भनेको कुरा उल्लेख छ ।

संंयुक्त सरकार सफल हुने थियो संविधानसभाको चुनाव सम्पन्न गराएर, तर चुनावको त के कुरा वातावरण शान्त हुन पनि नपाउँदै बीपी मोहनशमशेरको राजीनामा माग्न पुगे । कुनै पनि तर्पmका कसैले राजीनामा दिएमा संयुक्त सरकार असफल भएर ढल्ने थियो । नेपालको संयुक्त सरकार नेहरूको प्रयोग भएकाले भारतले मोहनशमशेरको राजीनामा अनेक प्रयत्न गरेर रोक्यो । परिच्छेद ३५मा त्यो नाटकीय घटनाको वर्णन छ, मोहनशमशेरको राजीनामा यूपीबाट प्रशासनिकविज्ञको रूपमा आएको गोविन्दनारायणले तयार गरेर टेबुलमा राख्नेबित्तिकै इलाहावादबाट सीपीएन सिन्हाको फोन आयो । दिल्ली सम्झौताको स्वामित्व लिँदै त्यसमा केही असर गर्ने निर्णय हुनुभन्दा पहिला आफूलाई थाहा हुनुपर्ने भन्ने अधिकारयुक्त दाबीका साथ । यसरी संयुक्त सरकार ढल्नबाट भारतले रोक्यो । शपथग्रहण समारोहको बेलामा पनि मान्यताक्रमलाई लिएर विवाद भएको थियो । त्यसैले भारतले यो संयुक्त सरकार बीपीकै कारणले ढल्न सक्छ भन्ने आँकलन गरेको हुन सक्छ । त्यसैले बीपीकै माध्यमबाट भारत आफ्ना चारजना चुस्त कर्मचारी दरबारलगायत काङ्ग्रेसीले सम्हालेका मन्त्रीहरूसँग टाँस्न सफल भइसकेको थियो ।

यस्तैमा चिनियाँ काजी घटना भयो, बीपीले आफ्नो गृहमन्त्रीकालमा दलको नेताको भन्दा कठोर प्रशासकको झल्को दिएका थिए । हुनसक्छ त्यसबेला जनमानस राणाहरूको जहानियाँ कालभन्दा खुकुलो अवस्थाको चाहना थियो होला, त्यो जनताको भलोको निमित्त क्रान्ति गरेको दलको नेताबाट पूरा नभएको असन्तोष पनि थियो होला । बीपीकै अनुसार चिनियाँकाजीको शवयात्रामा हजारौँ सहभागी थिए, सङ्गठित सहभागिता । कम्युनिस्ट पार्टीको झन्डा, यो मौकामा पछि नपर्न काङ्ग्रेसलगायत सबै पार्टीको झन्डा अनि ‘हत्यारा बीपी कोइराला’ नारा । क्याबिनेटको बैठकमा गोविन्दनारायणलगायत सबैको बीपीमाथि दोषारोपण र आफू एक्लिएको अवस्था । बीपीको समझमा चिनियाँकाजी काङ्ग्रेसकै मान्छे थिए एक महत्वहीन कार्यकर्ता । जसको मृत्युलाई त्यति महत्व दिन जरुरी थिएन । परिच्छेद ३८ मा बीपी त्यो जुुलुस आफ्नो पार्टीले गराएको ठान्छन् र भन्छन्, ‘कानुन र व्यवस्थालाई बिथोल्न हाम्रै पार्टी तयार हुन्छ भने म किन सरकारमा बस्ने ।’

नाटकीय तरिकाले एकाएक राजीनामा दिएर उनी तरङ्ग ल्याउन चाहन्थे । उनले कसैसँग सल्लाह गर्न चाहेनन्, पार्टीको भूमिका के थियो, त्यो किन थियो भन्ने विवेचन गर्न पनि आवश्यक ठानेनन् । संयुक्त सरकार ढल्दा नेहरूको के प्रतिक्रिया हुनसक्छ भन्ने उनले सोचेनन् । यसबेला संयुक्त सरकार ढलेमा संविधानसभाको निर्वाचन नै तुहिन सक्ने सम्भावनापट्टि ध्यान नै गएन । मनमा नाटकीय राजीनामाको खाका तयार गरे । यसैले आफ्नो उचाइ बढाउने आँकलन गरे । ११ नोभेम्बरको दिन काङ्ग्रेस क्रान्ति दिवस मनाउँदै थियो । काङ्ग्रेसको पार्टी कार्यालयमा झन्डोत्तोलन गर्न गएका बीपीले त्यहीँ आफूले राजीनामा दिने घोषणा गरे । त्यतैबाट रेडियो नेपालमा गएर राजीनामा घोषणा गरे अनि राजदरबार गए राजीनामा राजालाई हस्तान्तरण गर्न । राजीनामाबारे राजाले आपत्ति जनाए ‘राजा र गृहमन्त्रीको कुरामा पहिले आपूmले थाहा पाउनुपर्ने भनेर । तर, बीपीले झोँकमा आफ्ना कुरा भने र हिँडे । बीपीको यो नाटकीय राजीनामाले उनले सोचेजस्तो फाइदा भएन, बरु अतुलनीय घाटा भयो ।

बीपीलाई अब बन्ने नयाँ सरकार नेपाली काङ्ग्रेसको एकलौटी बन्ने पूरा भरोसा भएको आभास हुन्छ । त्यो सरकारको नेतृत्वमा आफूबाहेक अर्को विकल्प बीपीले देखेका थिएनन् । सरकार त काङ्ग्रेसकै एकलौटी बन्यो, तर कुनै पनि शक्तिकेन्द्रले बीपीलाई सरकारको नेतृत्वमा ल्याउन चाहेन । फलस्वरूप मातृकाको नेतृत्वमा सरकार बन्यो र जहानियाँ शासनपछि दुनियाँको छोराबाट उनी पहिलो प्रधानमन्त्री भए । सरकारको नेतृत्वको दाबी बीपीले सजिलै भने छोडेका थिएनन्, आफूप्रति राजा र भारतको के दृष्टिकोण छ त्यसलाई ठोकी बजाई जाँचेर मात्र छोडेका थिए । दिल्लीबाट फर्कंदा सबैको आँखाका ताराजस्ता भएका बीपीले आफू अहिले कसरी सबैले पन्छाउन चाहने व्यक्तिमा रूपान्तरण भएँ भन्ने कुराको विवेचन अन्त्यसम्म पनि गरेको देखिएन । मातृकाको शपथग्रहणपछि त्यही दिन सुवर्णशमशेर, उनकी पत्नी र बहिनीले आफूलाई माला लगाइदिएर रोएको वर्णन परिच्छेद ३९ मा छ ।

त्यही राति याकथुम्बा हामी सबैलाई थुनेर तपाईंलाई सत्तामा राख्छौँ भन्न आएको प्रसङ्गमा त्यो ग्रुपले सबै गर्न सक्थ्यो, तर मैले मानिनँ भन्ने भनाइले भने बीपीको उचाइ घटाएको छ । अझ यो प्रसङ्गलाई जीवनको अन्तकालमा पनि याकथुम्बाको कुरो नमानेर गल्ती गरेँ कि भन्ने सोच राखेको पाइन्छ । त्यसैले त आचार्य नरेन्द्रदेवले त्यो प्रस्ताव नमानेर गल्ती भयो भनेको कुरा र एसियन सोसलिस्ट कन्फरेन्समा मिलोभन जिलासले त्यो प्रस्ताव नमान्नु मूर्खता भयो भनेर निधार ठोकेको प्रसङ्ग उल्लेख गरेका छन् । यसबेला सुन्दरीजलबाट छुटेर स्वनिर्वासनमा जाँदा सोसलिस्टहरूले मुखले मात्र ठिक्क पारेको, कुनै सहायता नगरेको कुरा उनलाई स्मरण भएको छैन । सम्भवतः उनको जीवनको अन्तसम्म पनि यदि त्यसबेला याकथुम्बाको सहयोगले सत्ता पल्टाउन सक्ने थिएँ र त्यसो गरेको भए ठीक हुन्थ्यो भन्ने धङधङी रहेकोजस्तो लाग्न सक्छ । यो एक मानवीय कमजोरी हो, तर यस्ता बीपी कमजोर भएको घटनालाई पनि उनको महानता भनेर भनिनु भने उनीप्रति उनका समर्थकहरूको अन्याय हो ।