महानगरपालिकाले गर्यो जनस्वास्थ्यमाथि खेलवाड

महानगरपालिकाले गर्यो जनस्वास्थ्यमाथि खेलवाड


काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण तथा फोहोरमैला विभागका प्रमुख एवम् त्यहाँका कर्मचारीको मनोमानीले कामपा वडा नंं. ३२ स्थित धोबीखोला करिडोरको सेतोपुल पेट्रोलपम्पबाट दक्षिणतर्फको सिद्धिकाली मार्ग, कालिञ्चोक मार्ग, पाथीभरा मार्ग र रौताह मार्गमा बसोबास गर्ने बासिन्दाको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । कामपा वडा नं. ३२ को फोहोरमैला सङ्कलन गरी कामपा वातावरण तथा फोहोरमैला विभागमा कार्यरत कूचीकारहरूले आफ्नो प्रत्यक्ष रेखदेख र संलग्नतामा आफूनिकटका व्यक्तिलाई परिचालन गरी फोहोर सङ्कलन गर्ने र धोबीखोला करिडोरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानअगाडिको खाली जमिनमा थुपारी फोहोर वर्गीकरण गर्ने क्रमबाट निस्कने दुर्गन्धका कारण त्यस क्षेत्रलाई प्रदूषित बनाइरहेको छ ।

फोहोर छाँट्ने क्रमबाट निस्किएका दुर्गन्धित वस्तु र हड्डीहरूलाई कौवा, चिललगायतका चराहरूले उठाई त्यस क्षेत्रका घर, कौसी र छतमा रहेका पानीट्याङ्कीमा समेत छोडिदिनाले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा विशेष रूपले नकारात्मक असर पु¥याइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । फोहोर सङ्कलन र छाँटकाँटबाट धोबीखोला (परम्परागत नाम रुद्रमति नदी) करिडोरका सिद्धिकाली मार्ग, कालिञ्चोक मार्ग, पाथीभरा मार्ग र रौताह मार्ग आसपास बसोबास गर्ने नागरिकको स्वास्थ्यमाथि खेलवाड त भएको छ नै, यस्तो फोहोरबाट प्रवाहित हुने दुर्गन्धले त्यो पूरै क्षेत्रको वातावरणलाई समेत प्रदूषित बनाएको छ ।

कामपा वडा नं. ३२ को घर, सडक र गल्लीबाट निस्कने विविध प्रकारको फोहोर सङ्कलन गर्नका निम्ति काठमाडौं महानगरपालिकाको वातावरण तथा फोहोरमैला विभागका कर्मचारी वा तिनका निकटका आफन्तहरूले प्रत्येक घरधुरीबाट तीनदेखि चार सय रुपैयाँसम्म उठाउने गरेका छन् । यसरी शुल्क लिएर सबैतिरबाट सङ्कलन गरिएको फोहोरलाई मैतीदेवी पुलभन्दा पाँच सय मिटर दक्षिणतर्फ धोबीखोला किनारास्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानसँग जोडिएको ज्येष्ठ नागरिक सेवा केन्द्रको जग्गामा टहरा बनाई थुपार्ने र ती फोहोरलाई छाँटकाँट गरी निस्केको विभिन्न वस्तुलाई कवाडी र बंगुर, कुखुरालाई दानाका रूपमा प्रयोग गर्नका निम्ति बिक्री–वितरण गरिँदै आएको छ । यसरी छाँटकाँट गरी पुनः प्रयोगमा आउन सक्ने वस्तुहरूको बिक्रीबाट आउने रकम त्यहाँका फोहोर सङ्कलकदेखि महानगरपालिकाको वातावरण तथा फोहोरमैला विभागका प्रमुखसम्मलाई भाग लगाउने गरिएको एकजना फोहोर सङ्कलकले बताए । यसरी फोहोर सङ्कलन गरी छाँटकाँट गरेर पुनः प्रयोग हुने वस्तुलाई छुट्याएर मोहोर बनाउनु आफैँमा राम्रो काम भए पनि यसबाट स्थानीयको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्दै गएको छ, यो काम बस्तीभन्दा टाढा लगेर गर भनेर पटक–पटक भन्दा पनि त्यस क्षेत्रको फोहोरमैला उठाउने ठेकेदारले पटक्कै नसुनी फोहोर थुपार्ने र छाँटकाँट गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एकजना फोहोर सङ्कलकले यसको गुह्य कुरा खोल्दै भने, ‘तपाईंहरूले यो ठेकेदारलाई भनेर केही पनि हुनेवाला छैन, महानगरपालिका वातावरण विभागका प्रमुखसम्म यो फोहोर बेचेर आएको पैसा पुग्ने हुनाले ठेकेदारले कसैलाई पनि टेर्दैन ।’

वडा नं. ३२ बाट सङ्कलन गरिएको दैनिक झन्डै १० टन फोहोर छाँटकाँट गरेर बचेको र पुनः प्रयोगमा नआउने कतिपय वस्तु जलाउने र धोबीखोलामा फ्याँकिदिनेसमेत गरिँदै आएको छ । यस कार्यबाट त्यस क्षेत्रको वातावरणलाई थप प्रदूषित बनाएको त छ नै, धोबीखोलालाई समेत फोहोर र दुर्गन्धयुक्त बनाइरहेको छ । यस कार्यलाई रोक्नका निम्ति ३२ नं. वडाको सिफारिससहितको निवेदन दिँदा पनि अहिलेसम्म यसबारे कामनपाबाट सुनुवाइ भएको छैन । यसबाहेक यस क्षेत्रमा भएको वातावरण प्रदूषण र यसले स्थानीयको स्वास्थ्यमा पारेको नकारात्मक असरलाई उल्लेख गर्दै यो घना आवादी भएको क्षेत्रमा फोहोर थुपार्ने र फिल्टर गर्ने कार्य रोक्नका निम्ति स्थानीयले पटकपटक स्थानीय वडा कार्यालय, महानगरपालिका, सामुदायिक प्रहरी, नेपाल प्रहरी र सरोकारवाला मन्त्रालयमा समेत निवेदन गर्दै आएका छन् । तर, यस कार्यलाई रोक्न कतैबाट पनि पहल भएको छैन ।