संविधान संसोधनको मामला उल्झिँदै गएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारकै आयुमाथि आशंका र टिकाटिप्पणी चले पनि वर्तमान सरकारमा नेपाली कांग्रेसका तर्फबाट दश राज्यमन्त्री थपिने निश्चित भएको छ । केही दिनअघि नै आफ्नो कोटाबाट दशजना राज्यमन्त्री सरकारमा पठाउने तयारी गरिसकेको कांग्रेसले आन्तरिक कारणले मंगलबार मात्र राज्यमन्त्रीहरुको नाम फाइनल गरेको हो ।
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसले सिफारिस गरेका दसजना राज्यमन्त्रीको नाम मंगलबार प्रधानमन्त्री दाहाललाई बुझाउनुभएको छ । सभापति शेरबहादुर देउवाले दिएको सूचीअनुसार पठाइएको नाम निधिले प्रधानमन्त्रीलाई बुझाउनुभएको कांग्रेस सुत्रले जानकारी दिएको छ ।
कांग्रेसका तर्फबाट राज्यमन्त्री छानिएकाहरुमा दीर्घसिंह भाट, सीताराम मेहेता, तारामान गुरुङ, सुवर्ण जुहार्चन, सुरेन्द्र आचार्य, इन्द्र बानियाँ, दिलीप गच्छदार, दीपक खड्का, कञ्चन बादे र मीठु मल्ल रहेका छन् । उनीहरुलाई क्रमशः भौतिक, वन, स्वास्थ्य, सहरी विकास, सिँचाइ, पर्यटन, श्रम, खानेपानी तथा सरसफाइ, उद्योग र वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ। मन्त्रिपरिषदको सदस्य संख्या अब ४१ पुग्ने छ भने नयाँ राज्यमन्त्रीहरुलाई बुधबार सपथ खुवाइने तयारी गरिएको बुझिएको छ ।

प्रतिक्रिया