‘समयचोर’ कर्मचारी !

‘समयचोर’ कर्मचारी !


kp-paudel

– कृष्णप्रसाद पौडेल

मेरा एकजना हितैषी छन्– निजामती सेवाका खरदार । अझ यसो भनौँ– नेपाल सरकारका कर्मचारी । उनीसँग अफिसबाहेक अरूबेला मेरो नियमित भेटघाट भइरहन्छ– महिनाको एक–दुईपटक । भेटघाटका अवसरमा हुने कुराकानी अरूहरूसँग जस्तै नै हो– भलाकुसारी, सन्चो–बिसन्चो, घरपरिवार र नानीबाबुहरूको शिक्षादीक्षा । प्रायः चिनजानका व्यक्तिसँग भेटघाटमा हुने कुराकानी सबैका यस्तै नै हुन् । तर, कुराकानीकै क्रममा उनका प्रत्येकपटकका भेटमा भएका आर्थिक प्रगतिका कुराचाहिँ सामान्य लाग्दैनन् ।

निजामती सेवा प्रवेशअघिका उनका दैनिकी सामान्य थिए, अझ भनौँ कष्टकर नै थिए । तर, निजामती सेवा प्रवेशको पाँच वर्ष पुग्दै मात्र गर्दा उनले राजधानीमा आलिशान महल निर्माण गरिसकेको मात्र होइन राजधानीमै अरू दुई ठाउँमा घडेरी पनि जोडिसकेका छन् । आँगनमा महङ्गै पर्ने कारले सधैँ उनको प्रतीक्षा गरिरहेकै हुन्छ । छोराछोरी राजधानीका नाम चलेकै स्कुलमा पढ्छन् । सप्ताहान्तमा आउने शनिबार उनको बसाइ ठूलै म्यारिज अखडामा बित्ने गर्छ । बेरोजगार श्रीमतीको चुरीफुरी हेर्दा उनी ठूलै उद्योगपतिकी श्रीमती नै हुन् कि झैँ लाग्छ । यी सबै पूरा हुनलाई उनीसँग त्यो खरिदारको पदबाहेक अरू कुनै व्यापार–व्यवसाय भने छैन । ती मेरा हितैषीको मात्र होइन, निजामती सेवाका धेरै कर्मचारीको वास्तविकता हो यो ।

निजामती सेवा भनेको अधिकांश शिक्षित बेरोजगार युवाको सपना, आकर्षणको केन्द्र र भाग्य चम्काउने स्थान बनेको छ । भनिन्छ– अहिलेसम्म सोर्सफोर्स र भनसुनबाट यो क्षेत्रमा प्रवेश गर्न सकिन्न र प्रवेश गर्नेहरूले पनि यसको सफलताका लागि लामो समय कडै मिहिनेत गरेका हुन्छन् ।

देश चलाउने स्थायी सरकार भनेको कर्मचारीतन्त्र नै हो, राजनीतिक सरकार त अस्थायी हुन्छ । राजनीतिक सरकारले भिजन हुँदाहुँदै पनि आफ्नो आयुका कारण समग्र योजनाहरू लागू गराउन सक्दैन÷पाउँदैन । त्यसैले देशको उन्नति, प्रगति र विकासमा कर्मचारीतन्त्रको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ– राजनीतिक सरकारले त दिशाबोध गराउने मात्र हो ।

नाजुक अर्थतन्त्रलाई समृद्ध बनाउन स्थायी सरकारका कर्मचारीको कार्यघन्टा कति हुनुपर्छ– त्यो बहसको विषय बन्नुपर्ने हो । र, उनीहरूले सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार साँच्चै गर्वलायकको छ त ? मननीय प्रश्न छ ।

देश समृद्धिको जिम्मेवारी काँधका बोकेका कर्मचारीले वार्षिक कति दिन काम गर्छन् र काम गरेका दिन पनि उनीहरूले कति समय कार्यालयको आफ्नो कुर्सीमा बिताउँछन्– यो आमदेशवासीलाई बिझाउने विषय बनेको छ । वास्तविकता खोतल्ने हो भने निजामती सेवाकै शिर निहुरिने तथ्याङ्क सार्वजनिक हुन्छ ।

वार्षिक ५२ दिन शनिबारबाहेक उनीहरूले आकस्मिक आइपर्ने बिदाबाहेक एक महिना सार्वजनिक बिदाका रूपमा बिताउने गर्छन् । त्यसबाहेक बिरामी बिदा, पर्व बिदा, अध्ययन बिदा, सुत्केरी आदि बिदा उनीहरूका नैसर्गिक अधिकारभित्रका बिदा हुन् । यसरी समग्रमा उनीहरूले एक वर्षमा सय दिनभन्दा बढी बिदा पाउँछन् ।

राजाको काम कहिले जाला घाम, राजाको नारायणहिटी बहिर्गमनसँगै यो भनाइमा परिवर्तन आएको छ– राज्य÷जनताको काम कहिले जाला घाम ।
कार्यालय गएका दिन पनि समयभन्दा ढिलो पुग्ने र अफिस समय पूरा नभईकन बाहिरिने उनीहरूको रुटिनले माथिको उखानलाई चरितार्थ गरेको छ । त्यसमाथि सर्वसाधारणको बढी सरोकार रहने कार्यालयमा त सेवाग्राहीको काम चाडबाड र तिथिपर्वमा ज्वाइँनारान र भान्जाबाबुलाई जसरी दक्षिणा अर्पण नगरीकन अघि बढ्नेवाला छैन । यी त हाम्रा सुविधासम्पन्न सहरबजारमा भएका कार्यालयहरूको नियति हो । अझ दुर्गम भेगमा रहेका कार्यालयमा कर्मचारीको उपस्थिति निराशाजनक छ । कार्यालयमा दरबन्दी छ, कर्मचारी छैन । कर्मचारी छ, उपस्थिति छैन । उपस्थिति छ, कुर्सीमा कर्मचारी छैन । दशैँमा घर गएका कर्मचारी छठसम्म कार्यालय पुग्दैनन् । तर, ‘समयचोर’ कर्मचारीहरूकै आर्थिक उपार्जन, प्रगति, ठाँटबाँटलाई सलाम गर्नुपर्ने कठै हाम्रो नियति !