मैले नकमाएको कालो धन !

मैले नकमाएको कालो धन !


dipendra-pandey

– दीपेन्द्र पाण्डे

धनीको विरोध गर्नेहरू छ्यासछ्यास्ती भेटिन्छन्, तर धनको विरोध गर्नेचाहिँ मुस्किलले भेटिन्छन् । उखानै छ, ‘धन भनेपछि महादेवको पनि तीन नेत्र !’ कैलाशवासी महादेवलाई समेत प्रभावित गर्न सक्ने धनले पृथ्वीवासी मनुष्यलाई प्रभावित नगर्ने कुरै भएन । अहिलेको वैश्ययुगमा धनले नपिरोलेको क्षेत्र र मानिस भेटिनु भनेको स्यालको सिङ मिलेजस्तै हो भन्छन् भुक्तभोगी बूढापाकाहरू । उपभोक्तावादी संस्कृति हाबी हुँदै गएको मानव समाजमा धनको कति महत्व छ भन्ने कुरा धन हुनेहरूले मात्र जान्दछन् र बुझ्दछन् । सर्वसाधारण मानिस आफ्नो दैनिक गुजाराको निम्ति व्यस्त भइरहेको वर्तमान समयमा धनको बारेमा सोच्ने, बुझ्ने र गुन्ने न ल्याकत राख्छन् न हिम्मत नै ।

मानिसहरू किन धनको पछि लाग्छन् ? धनले मानिसलाई किन र कसरी आकर्षित गर्छ ? जति मानिस त्यति नै जवाफ हामीसामु उपस्थित छ । भन्छन्– संसारमा लाखौँ प्राणी बसोबास गर्छन् । मानिस मात्र त्यस्तो प्राणी हो जसले पेट भर्न मात्र खाँदैन । त्यसैले सधैँ खेती गर्ने, तर भोकै बस्ने प्राणी मानिसलाई भोकको आधारमा वर्गीकरण गर्दा चार आधारमा समेट्ने कोसिस गरेको छु । प्रेमका भोका, नामका भोका, धनका भोका र सत्ताका भोका । प्रेमका भोका मानिसलाई धनले त्यति पिरोलेको भेटिँदैन बरु प्रेममा धन, दौलत, नाम, सत्ता गुमाएका दृष्टान्त भेटिन्छन् । नाम कमाउन अनेक हत्कन्डा र स्टन्टबाजी गर्नेहरू हाम्रै समाजमा बिगबिगी छँदै छन् । अझ केही मानिस कलामार्फत त केही रूप, यौवन र स्क्यान्डलबाट पनि नाम कमाउन व्यस्त छन् । प्रेम र नामका भोकाहरूलाई सामान्य रूपमा लिने हो भने धनका भोका र सत्ताका भोकाहरूको अचाक्लीले आजभोलि समाज अति नै प्रताडित हुँदै छ । तिनै धनका भोका र सत्ताका भोकाहरूको खेलले कष्टकर जीवन बिताउन बाध्य जनता राजनीतिक नेताका जनप्रिय र कणप्रिय कुरा र भाषणका पछि लाग्दा विश्वले थुप्रै (नामचीन) कहलिएका कालोधनका मालिक भ्रष्ट राष्ट्रप्रमुखको शासन भोगिसकेका छन् ।

कालोधनले पीडित विश्व–राजनीतिमा ती महान् भष्ट्र जसले संसारलाई गिजोले, साथै आफ्ना शिष्य बनाएर समग्र राजनीतिलाई दुर्गन्धित बनाउने कलाको विजारोपण गरे, उनीहरूलाई एकपटक नसम्झिनु तिनका कुकर्मको अपमान हुने देखिन्छ । मोहम्मद सुहार्तो (१९६७–९८) इन्डोनेसियाका राष्ट्रपति, फर्डिनान्ड मार्कोस (१९७२–८६) फिलिपिन्सका राष्ट्रपति, मोबुतु सेसे सेको (१९६५–९७) जायरका राष्ट्रपति, सानी अबाच्चा (१९९३–९८) नाइजेरियाका राष्ट्रपति, सोबोदान मिलोसेभिच (१९८९–२०००) सर्बिया र युगोस्लाभियाका राष्ट्रपति, जँ क्लाउड डुभालिर (१९७१–८६) हाइटीका राष्ट्रपति, अल्बेर्टो फुजिमोरी (१९९०–२०००) पेरूका राष्ट्रपति, पाभ्लो लाजारेन्को (१९९६–९७) युक्रेनका प्रधानमन्त्री, अर्नोल्डो आलेमान (१९९७–२००२) निकारागुवाका राष्ट्रपति, जोसेफ एस्ट्राडा (१९९८–२००१) फिलिपिन्सका राष्ट्रपति । माथिका भ्रष्ट राष्ट्रपतिहरूको कालो इतिहास जान्नेहरू नै आज सत्तामा बस्दै कालोधनको खेती गर्दै छन् । कालोधनको शक्तिले नै होला विश्वभरका भष्ट्रहरूको निर्मम अन्त्य भएको देख्दा पनि वर्तमानमा कालोधन जम्मा गर्न कम्मर कसेर लाग्नेहरूमा कमी नआउनु बुझिनसक्नुको पहेली नै भएको छ ।

सिद्धार्थ गौतम राजकुमार थिए । उनी धन र सत्ता कुरेर बसेनन् । ज्ञानप्राप्तिको भोकले उनी कठिन मार्ग चयन गर्दै अन्ततः बुद्ध बन्न सफल भए । धन र सत्ता गुमाएर पनि उनी सबैभन्दा धनी हुन पुगे, ज्ञानीको रूपमा । मोहनदास करमचन्द गान्धी २ अक्टोबर १८६९ मा पोरबन्दर गुजरात भारतमा जन्मिए । उनका बाबु पोरबन्दरकै मुख्यमन्त्री थिए । सबै रूपले सम्पन्न गान्धी न धनको पछि लागे न सत्ताको पछिल्तिर दौडिए । उनी पनि आफ्नो लन्डन–अध्ययनको सदुपयोग गर्दै भारतीय जनताको मुक्तिको निम्ति सिर्फ महात्मा पदवीमै सन्तुष्ट भए । गान्धीले धन बटुलेनन्, तर जनताले धनको रूपमा लिने रुपैयाँमै बस्न सफल भए । उनकै प्रभावले हुनुपर्छ, दक्षिण अफ्रिकी जनताका मुक्तिदाता नेल्सन मण्डेला पनि धनको पछि लागेनन् । १० मे १९९४ देखि १४ जुन १९९९ सम्म अफ्रिकी जनताको सेवा गर्न जनताकै पुरस्कार राष्ट्रपति पद लिन राजी भए । आफ्नो कार्यकालमा उनी कालोधन जम्मा गर्ने कुमार्गमा लम्केनन् । फलस्वरूप सारा अफ्रिकी जनताको ढुकढुकीमा बस्दै ९५ वर्षको उमेरमा सारा जनतालाई रुवाउँदै यस धर्तीबाट बिदा लिए । महान् युगपुरुषहरू बुद्ध, गान्धी र मण्डेलाले धनलाई तुच्छ वस्तुको रूपमा हेरे जसले गर्दा उनीहरू अमर हुन पुगे । हाम्रैसामु भएका यिनै युगपुरुषलाई प्रेरणाको रूपमा लिँदै अगाडि बढ्नुपर्ने राजनीति दुर्भाग्यवश माथि उल्लेख भएका दश भ्रष्टहरूको मार्गमा लम्किँदा आज संसार आक्रान्त छ, कालोधनमार्फत ।

वास्तवमै कालोधनले आज संसारलाई पिरोलेको छ । अझ हाम्रै छिमेकी देश भारत कालोधनबाट आक्रान्त थियो र छ भन्ने प्रमाण नोभेम्बर ८ तारिखको दिन अचानक भारतीय रुपैयाँ पाँच सय र हजारका नोट प्रतिबन्ध लगाएको खबरले विश्व नै चकित हुँदा हामी अछुत हुने कुरै भएन । भारतको मोदी सरकारले लिएको ठूला नोट प्रतिबन्ध नीतिले पारेको प्रभाव बिस्तारै मिडियामार्फत सार्वजनिक हुँदै छन् । कुनै समय ५–१० रुपैयाँ मात्र देख्न पाउने मन्दिरहरू आजभोलि पाँच सय र हजार दर्शनले मालामाल भइरहेका छन् । दाइजो प्रथाले सताएको भारतीयहरूको जनजीवनमा विवाहको मौसममा भएको नोटबन्दीले गरिब परिवारलाई केही राहत मिलेकै छ । छापामा आएका ‘चेक दाइजो’को नयाँ चलनले दाइजो पनि अब कालोधनबाट होइन सेतोधनबाट हुन सुरु भएको सङ्केत मिल्दै छ । कतैकतै त धन तह लगाउन समस्या पर्ने हुनाले दाइजो लिन नै इन्कार गरिएको खबरले दाइजोविरोधीहरूलाई उत्साहित बनाएको छ । सीमा व्यापार, हुण्डी कारोबारी, सुन व्यापारीको रुवाइ देख्दा लाग्छ– अब भारतीय राजनीति आंशिक रूपमै भए पनि सुध्रँदै छ ।

सिद्धार्थ गौतम राजकुमार थिए । उनी धन र सत्ता कुरेर बसेनन् । ज्ञानप्राप्तिको भोकले उनी कठिन मार्ग चयन गर्दै अन्ततः बुद्ध बन्न सफल भए । धन र सत्ता गुमाएर पनि उनी सबैभन्दा धनी हुन पुगे, ज्ञानीको रूपमा । मोहनदास करमचन्द गान्धी २ अक्टोबर १८६९ मा पोरबन्दर गुजरात भारतमा जन्मिए । उनका बाबु पोरबन्दरकै मुख्यमन्त्री थिए । सबै रूपले सम्पन्न गान्धी न धनको पछि लागे न सत्ताको पछिल्तिर दौडिए । उनी पनि आफ्नो लन्डन–अध्ययनको सदुपयोग गर्दै भारतीय जनताको मुक्तिको निम्ति सिर्फ महात्मा पदवीमै सन्तुष्ट भए । गान्धीले धन बटुलेनन्, तर जनताले धनको रूपमा लिने रुपैयाँमै बस्न सफल भए ।

black-money

माहात्मा गान्धीको आदर्शलाई कुल्चँदै जम्मा गरिएको कालोधन आज भारतीय रेलको पटरी, खोला र झाडीमा भेटिनुले फेरि पनि उनकै फोटोअङ्कित नोटकै अपमान हुँदै छ । जम्मा गर्दा होस् कि फाल्दा होस् गान्धीकै अपमान हुने नोट पद्धतिलाई विस्थापन गर्न वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्ने र नोट विस्थापन नीति अपनाउनुपर्ने आवाजलाई लत्याउँदै मोदी सरकारले दुई हजार दरका नोट बजारमा ल्याउनुलाई नराम्रो मान्नेहरू क्रमशः बढ्दै छन् । बैंकिङ कारोबारमार्फत देशको अर्थतन्त्र पारदर्शी र सेतो बनाउनुपर्ने युवायुवतीको चाहना र अर्थशास्त्रीहरूको मागलाई मोदीले अनदेखा गर्नुको मतलब तिनै कालोधन राख्ने मानिसहरूप्रति उनको फेरिएको नीतिभित्रको राजनीतिक चालबाजी हो भन्नेहरूको कुरालाई नै आधार मिलिरहेको छ ।

कालोधन र नक्कली भारुलाई नियन्त्रण गर्ने मोदी सरकारको राजनीतिक निर्णयले थुप्रै भारतीय राजनीतिक व्यक्तिको पसिना छुटाउन सफल मोदी–कलालाई साथ दिनेहरू हाई–हाई छन्, तर सर्वसाधारणलाई दिएको दुःख र ९१ वर्षकी आफ्नै आमालाई लाइनमा राखेर पैसा सटाउने स्टन्टबाजीप्रति लज्जित पनि छन् । आज भारतमा मोदी–कदमबारे जनमत बुझ्दा, के तपाईं मोदी–कदमबाट पीडित हुनुहुन्छ ? बडा तकलिफ छ । के तपार्इं खुसी हुनुहुन्छ ?– बडा खुसी छौँ । एकसाथ दुःखी पनि खुसी पनि कसरी ? उनीहरू भन्छन्– हामीले कालो पैसा नकमाएर दुःख पायौँ । उनीहरू जोसँग लाखौँ–करोडाँै कालोधन सेतो बनाउन नपाएर दुःख पाउँदै छन् । मोदी कदमपछि उनीहरू पनि हामीजस्तै भएका छन् । किन खुसी नहुने ?

मोदीले कालोधन रोक्ने नीति लिए, तर कालोधन राख्नेलाई कारबाही गर्ने नीति लिएनन् । मोदीलाई राम्रोसँग थाहा छ– उनले गर्न सक्ने अधिकतम् यही नै हो । कालोधन गुमाएर मुक्ति पाउने कालो धनवालाको मुक्तिदाता मोदी सरकार र करोडपति सडकमा आउँदा रमाउने भारतीय जनताको प्रवृत्तिले के कुराको सङ्केत गर्छ भने हामी सबैको राम्रो बनाएर खुसी हुने मार्गमा होइन सबैलाई दुःखी बनाएर खुसी हुने मार्ग निर्माण गर्दैछौँ । यही नै हाम्रो पछौटेपनको कारण हो । समाज परिवर्तन आमूल परिवर्तनबाट मात्र सम्भव छ । टालटुले नीतिबाट होइन भन्ने कुरा न भारतीय जनता बुझ्न चाहन्छन् न भारतीय मोदी सत्ता बुझाउन चाहन्छ । त्यसैको प्रतिफल हो आज पूरा भारतका कालोधनवालाहरू पीडित हुँदा पनि एकजनाले आत्महत्या गरेनन्, तर सर्वसाधारणले मोदी कदमबाट त्राण पाउन नसक्दा ४७ जनाले ज्यान गुमाउन पुगे । कालोधन जम्मा गर्ने भारतीय हुन् कि नेपाली कसैले पनि आत्महत्या गर्न नपर्ने अनि ती सोझा गरिब भारतीय हुन् कि नेपाली जीवन धान्न नसक्दा आत्महत्या गर्नुपर्ने यो कस्तो लोकतन्त्र ?

भारतीय नोटबन्दीको बाछिटाले घायल प्रधानमन्त्री दाहालले खुद भारतीय प्रधानमन्त्री मोदीसँग फोन सम्पर्क गर्दा पनि त्राण पाउन नसकेको चर्चा बडो विचित्रको छ । दाहाल सरकारकै गृहमन्त्री निधिपुत्रले फोनमार्फत बाबुसँग आइसी नोट कसरी साट्ने ? भनी सोधेको भन्ने खबरले बजार तताउँदा जीवन धान्न दिल्लीमा कुल्ली काम गर्ने हुन् कि नेपाली बजारमा तरकारी र चनाचटपटे बेच्नेहरूको हालत के होला सजिलै बुझ्न सकिन्छ । यी तमाम घटनाले हामीलाई भन्न बाध्य पार्दै छ– कमाएको धनले भन्दा नकमाएको कालोधनले ज्यान लिने खतरा बढी छ । हिजो कालोधनको बिगबिगी हुँदा बजारभाउ अनियन्त्रित थियो, सर्वसाधारण पीडित थिए । आज सामानको बिजक मूल्यअनुसार भन्सार तिर्दा झन् महँगो पर्ने भयो । फेरि पनि हामी नै पीडित । कालोधनको यो कस्तो व्यापार ? जसो गर्दा पनि सोझासाधा, निमुखा र निर्वाहमुखी जनता नै पीडित हुनुपर्ने । मैले नकमाएको कालोधनले मलाई बारबार प्रश्न गरिरहन्छ– के आत्महत्या नगरी बाँच्न कालोधन कमाउनैपर्ने हो ?

ghate-n-cash