प्रधानमन्त्रीमा बीपीको नियुक्ति

प्रधानमन्त्रीमा बीपीको नियुक्ति


sn-karki-5

– स्वयम्भूनाथ कार्की

आमचुनाव सुवर्णशमशेरको प्रधानमन्त्रीत्वमा नेपाली काङ्ग्रेसको सरकारले सम्पन्न गरेको थियो । राजा महेन्द्र सुवर्णशमशेरलाई भन्दा बीपीलाई प्रधानमन्त्री बनाउन चाहान्थे । परिच्छेद ४२ मा यो प्रसङ्ग छ । ‘तपाईं प्रधानमन्त्री हुनुपर्छ भनेर उनले भने । मैले भनेँ, ‘म त प्रधानमन्त्री हुन्नँ, किनभने हाम्रो अभिरुचि चुनावमा भएकाले म त चुनावको तयारीमा लाग्छु । हाम्रो सरकार बन्यो भने त्यसको प्राथमिक काम चुनाव गराउनुहुनेछ । सरकारले सुवर्णजीलाई प्रधानमन्त्री बनाउनुपर्छ ।’ राजाले बीपीलाई नै प्रधानमन्त्री बन्न बारम्बार आग्रह गरे, तर बीपीले नमानेपछि भने ‘ल त, सुवर्णशमशेरलाई नै बोलाउँला । तर, एक–दुई कुरा गर्नु छ ।’ बीपीले जवाफ दिए, ‘प्रधानमन्त्रीसँग कुरा गर्ने हो मसँग होइन ।’ अरू कुनै पनि सल्लाह गर्न बीपीले ठाडै अस्वीकार गरे । राजाले कुरा गर्न झिकेको टिपोट कुरा नगरी फेरि राखे । बीपीले यसलाई आफूलाई मनोवैज्ञानिक दबाब दिएको ठाने । तर, यसपल्ट सुवर्ण प्रधानमन्त्री भएनन्, केआई सिंह भए, त्यसपछि मात्र सवर्णशमशेरको अध्यक्षतामा सरकार बन्यो ।

आमचुनावमा नेपाली काङ्ग्रेसको प्रचण्ड बहुमत आयो । चुनाव परिणामपछि न सुवर्णशमशेरको चुनावी सरकारले राजीनामा ग¥यो न बीपीले सरकारको दाबी पेस गरे, न राजाले नै बीपीलाई बोलाए । यो अनिर्णयको स्थिति एक–डेढ महिनासम्म रह्यो । बरु दिल्लीबाट अमेरिकन राजदूत बन्कर आएर बीपीसँग भेट्यो र राजाले किन नबोलाएको भनेर सोध्यो । बीपीले देवेन्द्रमार्पmत नेहरूलाई चिठी पठाए, नेहरूले जवाफमा हामी कसैको निमित्त बोल्दैनौँ, संसदीय दलले जसलाई नेता बनाउँछ त्यसैलाई मान्छौँ भन्ने जवाफ दिए । त्यसपछि बीपीले राजालाई भेट्न गए । राजालाई उनले भने– म प्रधानमन्त्री भएको सरकारलाई ठीक पर्दैन क्यार, सरकारलाई सुवर्णशमशेर नै मन पर्छन् भने उनैलाई संसदीय दलको नेता बनाउँछु । परिच्छेद ४४ मा भएको यो रोचक प्रसङ्गमा राजाले मलाई तपाईंसँग काम गर्ने रहर छ, तर तपाईंको पार्टीको आफ्नो निर्णय हुन्छ त्यो तपाईं गर्नुस् भन्ने जवाफ दिए ।

बीपी भन्छन्– उनलाई सुवर्णजी नै प्रधानमन्त्री हुनुहोस् भन्ने मन थियो, तर सुवर्णजीले नै दरबार मात्र होइन संसद् पनि व्यहोर्नुपर्ने भएकाले त्यो काम बीपीबाहेक अन्य कसैबाट हुन नसक्ने भने । पार्टीकाले पनि यो तय गर्ने जिम्मेवारी चारजनालाई दिए, बीपी, सुवर्ण, गणेशमान र सूर्यप्रसाद । सूर्यप्रसाद त्यसबेला सांसद थिएनन्, उनले चुनाव हारेका थिए । यसरी नेपालको प्रथम आमनिर्वाचनबाटै निर्वाचित दलमा संसदीय दलको निर्णय प्रक्रियामा चुनाव हारेकाले निर्णायक भूमिका पाउने संस्कृति भित्रियो । यति मात्र होइन सूर्यप्रसादलाई राजामाथि दबाब दिएर महासभामा सामेल गराइयो र मन्त्रिमण्डलमा लिइयो । महासभाको सदस्य चयनमा बीपीले आफूले सिफारिस गरेका मात्र राख्न पाइन्छ भनेर जोेड गरे । त्यसमा कुनै न कुनै सिद्धान्त निर्धारण हुनुपर्छ भनेर तय भयो । राजाले प्रायः सबै बीपीले सिफारिस गरेकैलाई राखे । केवल दुईजना मात्र बीपीको सिफारिसभन्दा बाहिरकालाई राखे । आफूले सिफारिस गरेको मंगलाजीको ठाउँमा अर्की महिला र बीपीको प्रतिद्वन्द्वी सानेबाबु ।

परिच्छेद ४५ मा बीपी भन्छन् सानेबाबु राखेकामा विदेशी राजदूतले उनीसँग असन्तुष्टि व्यक्त गरेका थिए । आफ्नो विरोधी सानेबाबुलाई महासभामा चुनेको कुराले राजाको सङ्कीर्णता प्रदर्शन भएको ठान्छन् । आफ्ना विपक्षीहरू कतै पनि नआउन्, कतै नछानिउन् भन्ने सोच र राजाको सानेबाबु राख्ने सोचमा कुन सङ्कीर्ण हो भन्ने विवेचन यो आलेखको उद्देश्य होइन । यो आलेख त केवल बीपीले किताबमा उल्लेख गरेका घटनाक्रमहरूको सरलमा प्रस्तुति मात्र हो, जसअनुसार बीपीको हरेक पक्ष र सोचलाई यसै किताबको सेरोफेरोमा पुनर्लेखन मात्र हो । बीपीका आलोचकहरूबाट यस आलेखलाई बीपीको पक्षपोषण गरेको आरोप लाग्न सक्छ भने समर्थकहरूबाट बीपीको खोइरो खनेको आरोप पनि आउन सक्छ । सन्तुलित प्रस्तुतिको धर्म निर्वाह गर्ने हरसम्भव प्रयत्न हुँदाहुँदै आउन सक्ने यस्ता आरोपको तारो बन्नु कुनै अनौठो विषय भने होइन । वर्तमानमा मुलुकको राजनीतिमा व्याप्त विकृतिहरूमध्ये धेरैको आरम्भ बहुदलीय प्रजातन्त्रको पहिलो पारी सातदेखि सत्रमा नै भएको तथ्य उजागर गर्ने लोभ सम्भरण गर्न नसकेको भने स्वीकार गर्नैपर्छ ।

मन्त्रिमण्डलमा आफू पर्न के–कस्तो गरिनेरहेछ भन्ने कुराको उल्लेख भने परिच्छेद ४४ मा राम्रोसँग भनिएको छ । आत्महत्याको धम्कीदेखि विभिन्न व्यक्तिबाट दबाब दिने कामको भएको कुराको उल्लेख भएको छ यो आपै“mमा एक रोमाञ्चक कुरा हो । परिच्छेदको अन्तमा बीपी आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको र त्यो कुरा मान्छेले नपत्याएको कुरा उल्लेख गर्दछन् । जे–जस्तो भए पनि बीपीको आफ्नै प्रस्तुतिमा पनि ठाउँ–ठाउँमा पार्टी सभापति हुन, प्रधानमन्त्री हुन भएको चाहना प्रकट भएको छ । मन नपरेपछि त्यसको हरेक कुरामा खोट देख्ने स्वाभाविक मानवीय कमजोरीबाट उनी माथि उठ्न नसकेको कुरा पनि प्रसस्त उजागर भएको छ । महामानवको रूपमा यो दोष देखिए पनि यो स्वाभाविक मानवीय प्रवृत्ति हो । जुन सूर्यप्रसादलाई चुनाव हारे पनि महत्वपूर्ण स्थान दिएका छन् तिनैको आलोचनामा कुनै किसिमको दया गरेका छैनन् । सम्भवतः यो किताब सुन्दरीजलबाट सूर्यप्रसाद छुट्नुभन्दा पहिलेको अवस्थाको भएको भए शायद उनको यति आलोचना हुँदैन थियो कि ? तर, जे भए पनि सत्र सालको घटनाको पृष्ठभूमि बीपीको प्रधानमन्त्री पद अस्वीकारसँगै बन्न सुरु भएको थियो भन्ने सङ्केत उनको प्रधानमन्त्री नियुक्तिसँगै प्रस्ट भने हुन्छ ।