वर्षदिन पछि धकेलियो १३औँ ‘साग’ प्रतियोगिता

वर्षदिन पछि धकेलियो १३औँ ‘साग’ प्रतियोगिता


काउन्सिल अध्यक्षमा जीवनराम

jeevanram

साउथ एसियन ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको बैठकले सन् २०१९ को ९ देखि १८ मार्च अर्थात् (२०७५ साल फागुन २५ देखि चैत ४ गते)सम्म १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । गत वर्ष भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औँ सागको समापन समारोहमा नेपालले १३औँ सागको जिम्मेवारी पाएको थियो । त्यसको दश महिनापछि काठमाडौंमा बसेको काउन्सिलको बैठकको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले गरेका थिए ।

उक्त बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको मुख्य कार्यालय नेपालमा स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै काउन्सिलको अध्यक्षमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई मनोनीत गरिएको छ । त्यस्तै, महासचिवमा एनओसीका महासचिव लामा टेन्डी शेर्पा मनोनीत भएका छन् । काउन्सिलको विधान संशोधनका लागि आगामी बैठक भुटानमा जुलाईमा बस्ने निर्णयसमेत बैठकले गरेको छ ।
सो बैठकमा भारत, माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य दक्षिण एसियाली मुलुकका ओलम्पिक कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अफगानिस्तानले साग खेलकुदबाट अलग हुने निर्णय गरिरहेकाले बैठकमा अनुपस्थित भएको थियो । बैठकमा पाकिस्तान ओलम्पिक सङ्घका महासचिव महोम्मद खालिद, नेसनल ओलम्पिक कमिटी अफ श्रीलंकाका उपाध्यक्ष डब्लूडी हेनरी, बंगलादेश ओलम्पिक सङ्घका महासचिव सहिद रेजा, भुटान ओलम्पिक सङ्घका महासचिव सोनाम कर्मा छिरिङ र नेपाल ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पाको उपस्थिति रहेको थियो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औँ सागमा कतिवटा खेल समावेश गर्ने त्यसको टुङ्गो नलागेको बताउ“दै २२ देखि २५ खेल समावेश हुन सक्ने सो अवसरमा जानकारी गराएका थिए । साथै आयोजकको नाताले दुई खेल नेपालले आफ्नो प्राथमिकताअनुसार समावेश गर्न पाउने बताएका थिए । काउन्सिलको बैठकको निर्णयसँगै १३औँ साग एक वर्षपछि धकेलिएको छ । नेपालले झन्डा बोकेपछि उक्त प्रतियोगिता २०७४ फागुनमा गर्नुपर्ने थियो । साग प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गरिन्छ ।