
घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेत लैङ्गिक समानता पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । अमेरिकामा क्रियाशील संस्था मदरल्यान्ड नेपालको सहकार्यमा नेपाल पत्रकार महासङ्घद्वारा स्थापित उक्त पुरस्कार सुपरिचित सञ्चारकर्मी धीरेन्द्र प्रेमर्षिलाई पनि प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ४० हजार रुपैयाँ रहेको छ ।
यसै वर्ष सुरु गरिएको उक्त पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सभामुख ओनसरी घर्तीले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा महासङ्घले प्रदान गरेको लैङ्गिक समानता पत्रकारिता पुरस्कार अर्थपूर्ण रहको उल्लेख गर्दै लैङ्गिक समानताका क्षेत्रमा पत्रकारको भूमिका महत्वपूर्ण हुने हुँदा सञ्चारमाध्यमले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले लैङ्गिक समानताका लागि महिलालाई पत्रकारिता पेसामा प्रोत्साहन गर्नुका साथै पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि समेत महासङ्घ क्रियाशील रहेको बताउनुभयो भने प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की तथा मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले पुरस्कारले लैङ्गिक समानताका विषयमा लाग्न पत्रकारलाई प्रोत्साहित गर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया