‘गोल्डम्यान’ले उतारे सुन

‘गोल्डम्यान’ले उतारे सुन


goldman

हरदम कम्तीमा पाँच किलो सुनको गहना शरीरमा पहिरिएर रहने जगदीश गायकवाडले आफ्नो शरीरबाट सुनका गहना पूरै उतारेका छन् । रिपब्लिकन पार्टी अफ इण्डियाका एक नेताको पहिचान बनाएका गायकवाडको सोख थियो– सुनका चेन, ब्रासलेट, बाला, औँठीलगायतका गहना भारी मात्रामा पहिरिएर हिँड्ने । तर, भारत सरकारले सुनको सीमा तोकिदिएपछि दिनहुँ पाँच किलोका दरले सुनका फरक–फरक आभूषण पहिरिएर हिँड्ने जगदीशको सोखमा बज्रप्रहार परेको छ । विवाहित भारतीय महिलाले पाँच सय ग्राम, अविवाहिताले दुई सय पचास र पुरुषले सय ग्राम मात्र सुन साथमा राख्न पाउने नियम सरकारले जारी गरेपछि उहिल्यैदेखि सुन किनेर जम्मा गर्ने हबी बोकेका गायकवाड आफूसँग भएका सयौँ किलो सुन विभिन्न मन्दिरका साथै आफन्त तथा मित्रहरूलाई बाँडेर आफू सुनविहीन शरीरका साथ हिँड्न थालेका छन् । सुनप्रति आशक्ति जनाउँदै किलोका किलो सुन थुपार्ने र हरदम सुनका विभिन्न आभूषणमा सजिने स्वभावका कारण गायकवाड मुम्बईको पनवेल इलाकामा ‘गोल्डम्यान’का रूपमा परिचित छन् ।